Comments Add Comment

मधेस आन्दोलनबारे प्रचण्डको टिप्पणी : छप्ल्याङ आयो, छप्ल्याङ आयो !

Prachanda

१७ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्ना कार्यकर्ताहरुलाई मधेसको आन्दोलनबारे एउटा रोचक कथा सुनाएका छन् । नयाँ संविधानबारे जनतालाई ठीक ढंगले बुझाउन नसक्दा गलत मान्छेहरुले भ्रम छरेको भन्दै प्रचण्डले नयाँ संविधानलाई मीठो फलसँग तुलना गरेका छन् ।

मधेसमा भइरहेको आन्दोलनतर्फ संकेत गर्दै प्रचण्डले जनताका लागि मीठो फलका रुपमा आएको संविधानलाई डरलाग्दो भनेर प्रचार भइरहेको बताए । काठमाडौंमा सम्पन्न नेवा, ताम्सालिङ र तमुवान जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा प्रचण्डले ‘छप्ल्याङ’को कथा सुनाए ।

पञ्चायतविरुद्ध ०४६ साल आन्दोलनको बेला आफूले छप्ल्याङको कथा खुब भन्ने गरेको भन्दै प्रचण्डले कार्यकर्तालाई यसरी सुनाए :

‘छप्ल्याङ आयो, छप्ल्याङ आयो ‘

एउटा विशाल जंगलमा धेरै जनावरहरु चर्ने गर्थे । जंगलको बीचमा पोखरी थियो । पोखरी छेऊमा मृग चर्दै थियो । पोखरीकै आडमा भएको आँपको रुखबाट पोखरीमा आँप खस्यो । माथिबाट आँप खस्दा ‘छप्ल्याङ’ गर्‍यो । त्यो मृगले के हो भन्ने थाहा पाएन र छप्ल्याङ गरेपछि तर्सिएर भाग्यो ।

त्यो जोडतोडले भागेको देखेपछि अरुले पनि किन भागेको, किन भागेको भन्दा मृग छप्ल्याङ आयो, छप्ल्याङ आयो भन्दै दौडियो । अब छप्ल्याङले खान्छ, मार्छ भन्दै सबै भागे ।

पुरै जंगलभरिका जनावर छप्ल्याङ आयो भन्दै भागे । अन्तिममा सिंह राजाकहाँ पुगेपछि छप्ल्याङ आयो सरकार, सबै सकिने भइयो भनेर सबैले रोइकराइ गरे । सिंह राजा भएकाले कहाँ आयो, खै मलाई देखाउ त भनेर सबैलाई लिएर पोखरी भएको ठाउँमा गयो ।

एकैछिन बस्दा अर्को आँप खस्यो र छप्ल्याङ भयो । अनि सिंहले लाटाहरु, तिमीहरुलाई खाने कुरा झरेको हो । मार्ने आएको हो त ? ल टिपेर खाउँ भनेर आँप खुवाएपछि सबै जनावरहरु शान्तिपूर्वक बसे ।

प्रचण्डले कार्यकर्ताहरुलाई भने- अहिले पनि केही-केही ठाउँमा छप्ल्याङ आएको छ । (हलमा हाँसोको फोहोरा छुट्यो) यो संविधानले फल दिएको छ । तर, छप्ल्याङ जस्तो पारिदिएको छ । अनि दौडिएको छ, दौडिएको छ । खत्तम पारे, हामीलाई त सिध्यायो भनिदिएका छन् ।’

प्रचण्डले छप्ल्याङको कथामा जस्तै अब कोही सिंह बन्नुपर्ने भन्दै त्यो भूमिका एमाओवादीले खेल्ने दाबी गरे । उनले भने, अब यहाँ कोही सिंहले भनिदिनुपर्‍यो कि यो छप्ल्याङ मात्र हो । खसेको त आँप हो, खाए हुन्छ । यो भनिदिने काम पनि आखिरीमा एमाओवादीले गर्नु पर्नेछ ।’

संविधानबारे एमाओवादीले तयार पारेको बुकलेट देखाउँदै प्रचण्डले भने, यो पुस्तिकाले राम्रोसँग मधेसमा वा अन्य ठाउँमा राम्रोसँग बुझायौं भने यो छप्ल्याङ डरलाग्दो कुरा आएको होइन, यो संविधानमा धेरैभन्दा धेरै अधिकार संस्थागत गर्ने ढंगले जनताका लागि मीठो फल भएर आएको हो भन्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment