Comments Add Comment

भारतले झुक्यायो : हटेन अवरोध, इन्धन दिन अझै आनाकानी

Nepalganj-Naka

  • फाइल तस्वीर

१७ असोज, काठमाडौं । भारतले नेपालतर्फको आपूर्ति सहज बनाउन निर्देशन दिएको बताए पनि अझै अघोषित नाकाबन्दी व्यवहारिक रुपमा अझै हटेको छैन ।

नेपालमा घोषणा भएको संविधानमा मधेसका केही मुद्दा सम्बोधन नभएको भन्दै छिमेकी मुलुक भारतले झण्डै दुई सातादेखि नाकाबन्दी गरेको थियो । भारतले नाकाबन्दी खोलेको समाचार आए पनि आइतबार भारतीय सीमानाकाहरुको समाचार सुखद बन्न सकेको छैन ।

शनिबार एकाएक भारतले नाकाबन्दी हटाएको खबर आएको सरकारी अधिकारीहरुले नै बताए । आपूर्तिमन्त्री सुनीलबहादुर थापाले सोमबारबाट भारतले इन्धनसहितको आपूर्ति सहज बनाउने खबर आएको जनकारी दिएका थिए ।

तर, व्यवहारिकरुपमा भने सीमानाकाहरुमा भारतीय असहयोग कायमै रहने देखिएको छ । नाकाबन्दीको मुख्य असर इन्धन आपूर्तिमा परेको छ, र यो सहज नभएसम्म व्यवहारिक रुपमा भारतीय नाकाबन्दी कायमै रहन्छ ।

नेपाल भारत आयात-निर्यातको मुख्य भन्सार नाका वीरगञ्जको रक्सौल अझै खुलेको छैन । नेपालतर्फ मधेसी मोर्चाको धर्ना कायमै छ भने भारतीय पक्षको अवरोध पनि कायमै छ । नेपाल आयात निर्यातको करिव ७० प्रतिशत रक्सौल नाकाबाट मात्रै हुने गरेको छ । वीरगञ्जको अवरोध नहट्नु भनेको भारतको अघोषित नाकाबन्दी व्यवहारिक रुपमा कायमै रहनु जस्तै हो ।

भारतसँगको अन्य सीमा नाकाहरुमा पनि भारतले भनिए जस्तो सहज आपूर्तिको व्यवस्था मिलाएको छैन ।

कहाँ कहाँ छ अवरोध ?

LP-Gas-at-Raksaul
रक्सौलमा रोकिएका ग्यास बुलेट

नेपाल आयल नियम स्रोतका अनुसार इन्डियन आयल कर्पोरेशसन (आईओसी) ले नेपाललाई तीन स्थानबाट मात्र तेल दिने बताएको छ । बैतालपुर, गुण्डा, बरौनीबाट भने तेल नदिइने उसले बताएको छ ।

भारतले तेल दिने भनिएको रक्सौलमा भन्सार नाकाको अवरोध कायमै छ । भारतीयतर्फ गइसकेका नेपाली ट्यांकरहरुलाई तेल दिएपनि उनीहरुलाई नेपालतर्फ आउन नदिएपछि त्यसको कुनै अर्थ रहेन ।

भारतको तेल दिने भनिएको अर्को दुई स्थान सिलगुढी र ईलाहबाद हो । तर, तेल लिन पुगेका मध्ये १० प्रतिशत ट्यांकरमा मात्र मात्र लोड गर्ने बताएको छ । ‘आईओसीका अधिकारीले गएराति १२ बजेसम्म सार्वजनिक बिदा भए पनि लोड दिने बताएका थिए । तर, आज त १० प्रतिशत ट्याकंरमा मात्रै लोड दिने भनेका छन्, ‘ आयल निगमका प्रवक्ता दीपक बरालले अनलाइनखबरसँग भने-‘आजदेखि लोडिङ नियमित प्रक्रियाअनुसार नै हुने भनिए पनि त्यसअनुसार भएन ।’

आयल निगमका अनुसार आईओसीको रक्सौल डिपोमा पुगेका ६३ ट्यांकरमध्ये आज ५ वटा ट्यांकरमा मात्रै तेल भरेको छ ।

सिलगुढी पुगेका ४० ट्यांकरमध्ये ३ र ईलाहबादमा पुगेका ६ वटा नेपाली ट्यांकर मध्ये एउटामा मात्रै तेल भरिएको छ । सिलगुढीमा तेल भरेका ट्यांकरहरु काँकडभिट्टाबाट नेपाल प्रवेश गर्छन् भने ईलाहबादमा तेल भरेका ट्यांकरहरु कैलालीको गड्डा चौकीबाट भित्रिने गरेका छन् ।

तेल आयातका लागि सहज मानिएको भैरहवा पारीको बैतालपुर र नेपालगञ्ज पारीको गोन्डाबाट भने उसले तेल नदिने बताएको छ । यसले पनि भारतले अहिले पूर्णरुपमा नाकाबन्दी हटायो भन्ने भ्रम मात्र हुने अधिकारीहरु बताउँछन् ।

निगमका अनुसार भारतमा अहिले करिव १७० बटा तेल भर्न प्रतिक्षारत छन् । इन्धन भरेका २०० तेल ट्यांकर र २५० ग्यासको बुटेल भन्सार पास नभएका कारण नेपाल आउन पाएका छैनन् ।

भारतले नाकाबन्दी खुलेको बताएर झुक्याएको भन्दै कतिपयले आशंका गर्न थालेका छन् । भन्सारका केही कर्मचारीहरु चाँहि आज आइतबार भारतमा सरकारी विदा परेकाले सोमबारदेखि भारतले तेलका ट्यांकरमाथिको अवरोध खुल्ने विश्वासमा छन् ।

बीरगञ्ज ठप्प, मितेरी पुलमा धर्ना जारी

नेपालको सबैभन्दा ठूलो वीरगञ्ज भन्सार नाकाबाट आइतबारसम्म एउटा पनि गाडी नेपाल भित्रिएका छैनन् । सबैभन्दा बढी खाद्यान्न, पेट्रोलियम पदार्थ र ग्यास भित्रिने वीरगञ्ज भन्सार नाका आइतबार दसौं दिन पनि बन्द छ । मधेसी मोर्चाका कार्यकर्ताहरुले मितेरी पुलमा धर्ना जारी राखेका छन् ।

झापा दिउँसो खुल्ने

झापाको काँकडभिट्टास्थित मेची भन्सार नाका भने आइतबार दिउँसोबाट सञ्चालनमा आउने बताइएको छ ।

पश्चिम बंगालमा स्थानीय ग्राम पञ्चायतको चुनावको कारण देखाउँदै सीमा नाकाहरु बन्द गरिएकाले मेची भन्सार नाका ३६ घण्टा यता बन्द छ । तर, आइतबार मध्यान्ह १२ बजेदेखि सीमानाका खुलेसँगै यातायातका साधन सञ्चालनमा आउने भारतीय अधिकारीहरुले बताएका छन् ।

मेची भन्सार हुँदै नेपाल भित्रिने पर्खाइमा ४ सयभन्दा बढी मालबाहक गाडी र पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरु छन् ।

रानी भन्सार खुलेन

त्यस्तै बिराटनगरको रानी भन्सार पनि आइतबार ठप्पै छ । रानी भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले इन्धन, ग्यास र मालवाहक सामान बोकेका एउटा पनि गाडी नभित्रिएको जानकारी दिए ।

रानी भन्सार नाका १० दिनदेखि बन्द छ । नेपाल आउन लागेका १ सय ११ वटा ट्यांकर, २१ बुलेट ग्यास र ८ सयको हाराहारीमा मालवाहक गाडीहरु भारतको जोगवनीदेखि फारबीसगञ्ज क्षेत्रमा लामवद्ध छन् ।

आइतबार भारतमा सार्वजनिक विदा भएकाले पनि नेपाल भित्रिने गाडीहरु नछाडेको हुन सक्ने रानी भन्सार प्रमुख बस्नेतले बताए ।

बेलहिया-सुनौली पनि उस्तै

रुपन्देहीको भैरहवास्थित बेलहिया-सुनौली नाकाका सरकारी अधिकारीहरुले माथिबाट आदेश नआएकाले गाडीहरु नेपाल भित्राउन नसकेको बताएका छन् ।

आइतबार दिउँसोसम्म आधिकारिक जानकारी आए गाडीहरु नेपाल पठाउने इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।

शनिबार राति १० बजेसम्म ९७ वटा मालवाहक गाडी, डिजलका ६ वटा ट्यांकर र ग्यास बोकेका २ बुलेट गाडीहरु नेपाल भित्रिएका थिए । शनिबार पेट्रोल बोकेको एउटा पनि गाडी नेपाल भित्रिएको थिएन । आइतबार विहान पनि सो नाकामा सवारी साधनको आवत-जावत ठप्प छ ।

कृष्णनगरबाट १२७ गाडी भित्रिए

कपिलवस्तुको कृष्णनगर नाकाबाट पनि आयात सहज हुन सकेको छैन । हिजो साँझ भैरहवाबाट डिजेलका ६ ट्यांकरसहित १२७ वटा मालवाहक गाडीहरु नेपाल भित्रिएका थिए । आइतबार अवरोध पूर्णरुपमा खुलेको छैन ।

नाकामा मधेसी मोर्चाका कार्यकर्ताहरु धर्नामा बसिरहेका छन् । नाकाबन्द हुँदा सरकारलाई दैनिक ३५ लाख बराबरको राजस्व घाटा भइरहेको रूपन्देही भन्सारका प्रमुख ध्रुव विकले बताए ।

रुपैडिहा नाका पनि ठप्पै

बाँकेको नेपालगञ्जसँगको रुपैडिहा नाका शनिबार साँझसम्म पेट्रोलियम पदार्थ बोकेका १० वटा ट्यांकर र अन्य २६ वटा मालबाहक गाडीहरु नेपाल त्रिभिएका थिए । आइतबार भने सो नाका पनि ठप्प छ ।

कैलालीमा केही गाडी भित्रिए

उता, कैलालीको धनगढी नाका खुल्ला रहे पनि आइतबार बिहान कुनै पनि गाडीहरु नेपाल भित्रिएका छैनन् । सीमा क्षेत्र गौरीफन्टामा रोकिएका पेट्रोलका चारवटा गाडीहरुसहित केही मालवाहक गाडीहरु शनिबार राति नेपाल भित्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment