Comments Add Comment

बिजुक्छे भन्छन्- भारतले भनेको माने ओली प्रधानमन्त्री

NarayanMan-Bijukchheसन्देश श्रेष्ठ
१७ असोज, पोखरा । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतको ईच्छा विपरित एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नबन्ने बताएका छन् । ओलीलाई प्रधानमन्त्री बनाउने प्रमुख ३ दलबीच भएको विगतको सहमति पनि कार्यान्वयन हुने संकेत नदेखिएको विजुक्छेको दाबी छ ।

नेवाः पत्रकार पुचः कास्कीले आइतबार पोखरामा गरेको पत्रकार भेटघाटमा उनले भने, ‘भारतको ईच्छा विपरित ओली प्रधानमन्त्री बन्ने सम्भावना मैले देखेको छैन, भारतले भनेको माने मात्रै ओली प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ ।’

बिजुक्छेले प्रमुख ३ दलबीच ओलीलाई प्रधानमन्त्री बनाउने विगतको सहमति पनि पछिल्लो गतिविधि र प्रधानमन्त्रीको सम्बोधनलाई हेर्ने हो भने त्यो सहमति कार्यान्वयन हुने संकेत पनि नदेखिएको बताए ।
अहिलेसम्म सहमतीय सरकार बन्ने सम्भावना नदेखिएको बताउँदै उनले बामपन्थी दलको मिलिजुली सरकार बन्ने सम्भावना पनि नरहेको प्रष्ट्याए ।

उनले आफ्नो पार्टी भने अब बन्ने सरकारमा पनि नजाने स्पष्ट पारे । आफ्नो पार्टीलाई जनताले प्रतिपक्षमा बस्ने गरी मत दिएकाले सरकारमा नगइ प्रतिपक्षमै बसेर खबरदारी गरिरहने बिजुक्छेले बताए ।

‘युद्धको आमन्त्रण’

फरक प्रसंगमा नेमकिपा अध्यक्ष बिजुक्छेले भारतले अघोषित नाकाबन्दी लगाएर छिमेकी देश नेपालमाथी शत्रुतापूर्ण व्यवहार गरेको टिप्पणी गरे । उनले भने, ‘छिमेकी देशमाथी नाकाबन्दी लगाउनु भनेको शत्रुतापूर्ण व्यवहार हो, यो एक प्रकारले युद्धकै आमन्त्रण हो ।’

भारतको नाकाबन्दीले नेपालमा धेरै क्षेत्र प्रभावित भएको र यसले देशलाई नै समस्यामा पारेको बताए । उनले देशलाई बेलाबेलामा हुने यो समस्याबाट मुक्त पार्न चिनियाँ नाका खोल्नुपर्ने धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment