Comments Add Comment

अमेरिका बस्न नचाहेका चन्द्रबहादुरको अमेरिकामै मरण

१७ असोज, काठमाडौं । राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङ अमेरिकामा बस्ने अवसर हुँदाहुँदै पनि नेपालमै थिए । आखिर गुरुङको निधन स्वदेशमा नभएर अमेरिकामै भयो । पत्नी र छोराछोरी सबैजना अमेरिकाका बासिन्दा बने पनि गुरुङचाँहि नेपालमै बसेर राजनीतिमा सक्रिय थिए ।

नेता गुरुङको राजनीतिक जीवनबारे पूर्वमन्त्री निरञ्जन थापा यसरी सम्झन्छन्-

Chandra-Bhadur-Gurung
चन्द्रबहादुर गुरुङ

चन्द्रबहादुर गुरुङ भन्नेबित्तिकै एउटा जुझारु र सहनशील स्वभावको राष्ट्रवादी छवि आँखामा आउँछ । मैले उहाँलाई चिनेको पञ्चायतकालमै हो । जतिबेला म राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको केन्द्रीय अध्यक्ष थिएँ, राजा मान्ने राष्ट्रवादी युवाहरुको संगठन थियो त्यो । उहाँ त्यतिबेला जिल्ला सचिव हुनुहुन्थ्यो ।

विद्यार्थी मण्डलको महाधिवेशनमा स्याङ्जाको प्रतिनिधित्व गर्दै आउनुभएका बेलामा मेरो पहिलोचोटि भेट भएको हो । त्यसबेला उहाँ त्रिचन्द्र कलेजमा बीए पढ्नुहुन्थ्यो ।

विसं. ०३९ सालमा उहाँ नेपाल युवक संगठनको केन्द्रीय सहसचिव र ०४३ सालमा केन्द्रीय अध्यक्ष हुनुभयो । पञ्चायतकालमा युवक संगठन एउटा वैधानिक निकाय थियो । उक्त संगठनको अध्यक्षलाई राजनीतिमा ठूलो माइलेज प्राप्त हुन्थ्यो । चन्द्रसिंह घले, नवराज सुवेदी, कमल थापाहरु सोही संगठनका पूर्वअध्यक्ष हुनुहुन्छ ।

त्यसपछि चन्द्रबहादुरले पञ्चायत नीति तथा जाँचबुझ समितिमा पनि सदस्य भएर काम गर्नुभयो । यो पनि संवैधानिक निकाय नै थियो ।

खेलकुदतिर पनि उहाँको अभिरुची गहिरो थियो । छोटो समयका लागि उहार्ँ नेपाल फुटबल संघको अध्यक्ष हुनुभयो भने राष्ट्रिय खेलकुद परिषदको सदस्य पनि बन्नुभयो । शरदचन्द्र शाहको संयोजकत्वमा रहेको परिषदमा उहाँ सदस्य हुनुभएको थियो ।

पञ्चायतकालमै कहलिएको व्यक्ति भए पनि उहाँ मन्त्री भने बन्नुभएन । त्यतिबेला उहाँलाई ‘वेटिङ मिनिस्टर’का रुपमा हेरिन्थ्यो ।

पञ्चायती व्यवस्था गएर बहुदलीय  व्यवस्था आएपछि उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीमा लाग्नुभयो । कमल थापासित उहाँको पहिलेदेखि नै अटुट आस्था र न्यायो सम्वन्ध रह्यो । कमल थापाको नेतृत्वमा नै राष्ट्र निर्माण हुन सक्छ भनेर विश्वास राख्नुहुन्थ्यो ।

राप्रपा पटक-पटक फुट्दा उहाँले कमल थापालाई साथ दिइरहनुभयो । राप्रपा नेपाल गठनमा उहाँको योगदान ठूलो थियो । ०६७ सालदेखि उहाँ राप्रपा नेपालको महामन्त्री हुनुहन्थ्यो ।

अघिल्लो संविधानसभा चुनावमा समानुपातिकबाट ४ सिट जितेको राप्रपा नेपालले उहाँलाई संसदीय दलको नेता छानेको थियो । अत्यन्त प्रतिकुल परिवेशमा पनि उहाँले संविधानसभामा राजतन्त्र र हिन्दू राज्यको आवाज बुलन्द गर्न सफल हुनुभयो । यदि राप्रपा नेपालले कुनै दिन सरकारमा जाने अवस्था आएको खण्डमा मन्त्रीमा उहाँको नाम एक नम्बरमा आउँथ्यो होला ।

परिवार अमेरिकामा, घरमा एक्लै

उहाँको परिवारका सबै सदस्यहरु अमेरिकामा हुनुहुन्छ । तर उहाँ अमेरिका बस्न मान्नुभएन । परिवारले पटक-पटक बोलाउँदा पनि जानुभएन । यद्यपि उहाँको मरण अमेरिकामा नै लेखेको रहेछ ।

परिवार अमेरिका गएदेखि उहाँ एक्लो जीवन बाँच्दै आउनुभएको थियो । प्रायः होटलमै खानुहुन्थ्यो । उहाँको अधिकांश समय पार्टी कार्यालयमा नै बित्थ्यो । आफ्नो स्वास्थ्यप्रति भने सचेत नै हुनुहुन्थ्यो । धुम्रपान र मध्यपानको आदत थिएन । नियमित एक्सरसाइज गर्नुहुन्थ्यो । तर, परिवार अभावले खानपिन भने व्यवस्थित हुन सकेन । र, पेटको रोग लाग्यो ।

मेरो उहाँसित नियमित फोनमा कुरा हुन्थ्यो । कुराकानीको विषय राजनीतिक भन्दा अर्थोक नहुने । अस्वस्थ भएर थला पर्दासमेत जमेर राजनीतिक कुरा नै गर्नुहुन्थ्यो ।

क्यान्सरले समातेपछि

एक महिनाअघि पेट दुखेर सुमेरु हस्पिटलमा जचाउन जानुभएछ । डाक्टरले बायोप्सी गर्न भनेछन् । बायोप्सीको रिपोर्टमा केही देखिएन भनेछन् । त्यसपछि ढुक्क भएर मलाई फोन गर्नुभएको थियो ।

तर, दुखाइ बिसेक नभएपछि झन् झन् गल्दै जानुभएछ । यसबीचमा अध्यक्ष कमल थापा उहाँको घर पुग्नुभएछ । उहाँको अवस्था देखेपछि तुरुन्तै आफ्नो गाडीमा हालेर अस्पताल लैजानुभएछ । नर्भिक अस्पतालमा मधु घिमिरेले जाँचेपछि पेन्क्रियाजको क्यान्सर भएको अध्यक्ष जानकारी गराएछन् ।

क्यान्सरको अवस्था गम्भीर भइसकेको भनेपछि अध्यक्षले पार्टीका साथीहरुसित छलफल गर्नुभयो । अमेरिकामा रहेको परिवारलाई खबर गरियो । उहाँलाई अलिकति संकेत दिइयो ।

मधु घिमिरेकै सल्लाहमा अध्यक्षले उहाँलाई दिल्लीको मेदान्त हस्पिटल लैजानुभयो । मेदान्तका डाक्टरले पनि क्यान्सर निर्मूल हुन नसक्ने अवस्थामा पुगेको भन्दै किमो दिएर एक वर्ष आयू लम्ब्याउन सकिने बताए । परिवारका सदस्यहरु पनि त्यहाँ आउनुभयो । उहाँहरुले अमेरिकामै लगेर उपचार गर्ने इच्छा गर्नुभयो ।

अमेरिकाको कोलोराडोमा रहेको अस्पतालमा उहाँलाई एकपटक किमो दिइयो । तर, उहाँको शरीरले धान्न सकेन । क्यान्सर पहिचान भएको एक महिनामै उहाँको प्राण गयो ।

मेरो अटुट मित्रता

पञ्चायतकालेदेखि अहिलेसम्म मेरो उहाँसित अटुट मित्रता रह्यो । यति लामो मित्रतामा कहिल्यै कुनै क्षण पनि दरार उत्पन्न  भएन ।

उहाँको मिहेनत र आत्मविश्वासी स्वभावबाट म प्रभावित थिएँ । जस्तोसुकै समस्या आउँदा पनि आत्तिनुहुन्नथ्यो । जस्तोसुकै घटनामा पनि आक्रोश र उत्तेजना देखाउनुहुन्नथ्यो । पार्टी र देशको निम्ति पूर्ण समर्पित हुनुहुन्थ्यो ।

ज्ञानेन्द्र सरकारको शासन गएपछि राप्रपा नेपालले पोखरामा कार्यक्रम राखेको थियो । त्यतिबेला राष्ट्रिय राजनीतिमा हामीलाई अछुतको व्यवहार गरिन्थ्यो । सार्वजनिक कार्यक्रममा अवरोध पुर्‍याइन्थ्यो । पोखराको कार्यक्रममा पनि माओवादीले ढुंगामुढा गरे । मञ्च तोडफोड गरे । तर, उहाँ विचलित हुनुभएन । त्यो कार्यक्रम बिथोलिँदैमा हामी पछि हटेनौं । फेरि कार्यक्रम आयेाजना गरेर सफल बनायौं ।

(वार्तामा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment