Comments Add Comment

सरकारको नेतृत्वमा एमालेको दाबी, ओली प्रधानमन्त्रीको उम्मेदवार

KP oli

१७ असोज, काठमाडौं । नेकपा एमालेले सरकारको नेतृत्व दावी गर्दै पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेवार बनाएको छ ।

राष्ट्रपतिले सहमतीय सरकार गठनको आहृवान गरेको तेस्रो दिन एमाले संसदीय दलले ओलीलाई प्रधानमन्त्रीको उमेदवार बनाउने निर्णय गरेको हो । आइतबार विहान बसेको पार्टी संसदीय दलको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सर्बसम्मत निर्णय गरेको हो ।

एमालेले १६ बुँदे लगायत दलहरबीच भएको सहमतिलाई ध्यान दिँदै ओलीको नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । गत कात्तिकमा एमालेले कांग्रेसबीच संविधान बनेपछि सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएको थियो । प्रमुख चार दलबीच १६ बुँदे सहमति गर्दा पनि एमालेले सरकारको नेतृत्व गर्ने भद्र सहमति भएको थियो ।

तर, अहिले नेपाली कांग्रेसले ओलीलाई सरकारको नेतृत्व नदिने संकेत देखाएको छ र सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल तीनै जना प्रधानमन्त्रीको दाबेदारका रुपमा देखिएका छन् ।

तेस्रो दल एमाओवादीले भने सरकारको नेतृत्व दावी नगर्ने तर, सहमतिका आधारमा जो भएपनि हुने बताएको छ ।

पाँच सदस्यीय कार्यदल गठन

सहमतीय आधारमा ओलीलाई प्रधानमन्त्री बनाउन एमालेले अन्य दलहरुसँग छलफलका लागि ५ सदस्यीय कार्यदलसमेत गठन गरेको छ ।

कार्यदलमा अध्यक्ष केपी ओलीसँगै बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्षद्वय विद्या भण्डारी र वामदेव गौतम रहेको सचिव प्रदीप ज्ञवालीले अनलाइनखबरलाई जानकारी दिए ।

गत शुक्रबार राष्ट्रपति डा. रामवरण यादवले ७ दिनभित्र सहमतीको आधारमा नयाँ सरकार गठन गर्न दलहरुलाई समयसीमा दिएका थिए । राष्ट्रपतिले दिएको समयसीमा भित्र सहमति नभए बहुमतीय प्रक्रिया सुरु गर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment