Comments Add Comment

प्रधानमन्त्रीको आश : कोइरालादेखि विजय गच्छदारसम्म

१७ असोज, काठमाडौं । सहमतीय सरकार गठनका लागि राष्ट्रपतिबाट गरिएको सातदिने आह्वानको आज तेस्रो दिन हो । अब नेपालको भावी प्रधानमन्त्री को बन्ला ? यो प्रश्नमा धेरैको उत्तर आउने गरेको छ- केपी ओली ।
candidates for PM
आइतबार बसेको नेकपा एमाले संसदीय दलको बैठकले पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उमेद्वार बनाउने निर्णय गरिसकेको छ । साथै सहमतीय सरकारका लागि अन्य दलसँग छलफल गर्न एमालेले पाँच सदस्यीय कार्यदल समेत बनाइसकेको छ ।

तर, एमालेकै कतिपय नेताहरुले भने सरकार गठनमा भारतले चलखेल गर्न थालेको र केपीलाई प्रधानमन्त्री नबनाउने षडयन्त्र सुरु भइसकेको आशंका गरेका छन् ।

यद्यपि पछिल्लो राजनीतिक परिघटनाका आधारमा विश्लेषण गर्दा नयाँ प्रधानमन्त्रीको लाइनमा मूलतः ६ जना नेताहरुले रुची देखाएको संकेत मिलेको छ ।

प्रधानमन्त्री सुशील कोइरालाले आफ्नै सरकारको निरन्तरताका लागि रहर गरेको सूचना बाहिर आएको छ । उता कांग्रेससँग भएको पूर्व सहमति अनुसार एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीका स्वाभाविक दाबेदार छँदैछन् ।

एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एमालेभित्र नखेल्न आग्रह गर्दै केपी ओलीको विकल्प नरहेको सार्वजनिक अभिव्यक्ति दिएका छन् । तर, एमाओवादी अध्यक्ष प्रचण्डले माधव नेपालले पनि प्रधानमन्त्रीको अपेक्षा गरेको दाबी गरेका छन् ।

आफ्ना कार्यकर्ताहरुको आन्तरिक प्रशिक्षणमा शनिबार प्रचण्डले प्रधानमन्त्रीका लागि धेरै नेताहरुको ग्रन्थी रसाएको बताए । यद्यपि आफ्नो दलले प्रधानमन्त्री र राष्ट्रपति दुबै पदमा दाबी नगर्ने प्रचण्डले स्पष्ट पारे । तर, ओली नै हुनुपर्छ भन्ने नभएको उनले बताए ।

प्रधानमन्त्रीका लागि आश गर्नेमा कांग्रेस नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेल पनि अघि सरेका छन् । कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलनका कारणले सुशील, शेरबहादुर र रामचन्द्र तीनैजना प्रधानमन्त्रीका आकांक्षी देखिएका हुन् ।

विगतमा १७ पटक प्रधानमन्त्रीको उमेद्वार बनेर हारेका कांग्रेस उपसभापति रामचन्द्र पौडेलले अब आफ्नो पालो आएको पार्टीभित्र बताउन थालेका छन् ।

शेरबहादुर देउवालाई महाधिवेशनमा सभापतिका लागि सघाउने शर्तमा पौडेलले आफू प्रधानमन्त्री बन्ने इच्छा देखाएको र देउवासँग छलफल थालेको बुझिएको छ ।

तर, देउवाचाँहि महाधिवेशनमा सभापति जित्न सजिलो हुने देखेर आफैं प्रधानमन्त्री बन्न इच्छुक देखिएको कांग्रेस नेताहरु बताउँछन् । तर, देउवालाई पार्टी सभापतिमा छेक्नका लागि सुशील कोइराला आफ्नै निरन्तरताको पक्षमा छन् ।

प्रधानमन्त्री सुशील कोइरालाले पदबाट राजीनामा दिएका छैनन् । सहमतिका आधारमा वा बहुमतका आधारमा केपी ओली प्रधानमन्त्री बन्ने अवस्था आएन भने कोइराला सरकारको आयु लम्बिने सम्भावनालाई पनि कांग्रेस नेताहरुले उपयोग गर्न खोजेको देखिन्छ ।

सूत्रहरुका अनुसार मधेसी नेताहरुका तर्फबाट पनि प्रधानमन्त्री आफ्नो समुदायले पाउनुपर्ने माग हुन थालेको छ । यस क्रममा मधेसी नेता विजयकुमार गच्छदार आफूलाई प्रधानमन्त्रीको दाबी गर्ने नेतामा पर्छन्  । तर, गच्छदारले सार्वजनिकरुपमा यसपटक मुख खोलेका छैनन् ।

आन्दोलनरत तमलोपा र फोरमका नेताहरु भने गच्छदारलाई प्रधानमन्त्री मान्ने पक्षमा छैनन् । प्रधानमन्त्रीकै लागि दाबी गर्नुपर्ने अवस्था आएमा उनीहरुले महन्थ ठाकुरलाई अघि सार्न सक्छन्, तर तत्कालका लागि यो खासै सम्भव देखिँदैन ।

ओलीकै सम्भावना बढी

प्रधानमन्त्रीका लागि अन्य नेताहरुको पनि आकांक्षा देखएतिा पनि केपी ओलीकै सम्भावना बढी देखिएको छ । सहमतीय आधारमा ओली प्रधानमन्त्री बन्न सकेनन् भने बहुमतीय आधारमा भए पनि चयन हुने विश्वासमा एमाले नेताहरु देखिएका छन् ।

आगामी चुनावलाई मध्यनजर गर्दै नेपाली कांग्रेस ओलीको नेतृत्वमा बहुमतीय सरकार बनोस् भन्ने चाहन्छ भने एमाओवादी सहमतीय सरकारको पक्षमा छ । एमाओवादीले केपी ओलीको विकल्प खोज्ने वा नखोज्ने भन्ने स्पष्ट पारेको छैन ।

असन्तुष्ट रहेका मधेसवादी दलहरुले अहिलेसम्म सरकारमा जाने खुल्ला अभिव्यक्ति दिएका छैनन् । संसद बहिस्कार गरेर हिँडेका कारण मधेसवादी दलहरु प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सहभागी हुने/नहुने पनि निश्चित भइसकेको छैन ।

तर, केपी ओलीलाई प्रधानमन्त्रीबाट रोक्नका लागि केही विदेशी शक्तिले सुशील कोइरालाको निरन्तरताको कार्ड खेल्न थालेको गुनासो गरेका छन् । यद्यपि केपी ओली प्रधानमन्त्री भईछाड्ने एमाले नेताको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment