Comments Add Comment

दशैंको टिकट बुकिङ कहिले खुल्छ ?

new buspark (14)

१७ असोज, काठमाडौं । नेपालीहरुको महान चाड दशैं आउन अब अठार दिन मात्रै बाँकी छ । काठमाडौं उपत्यकाबाट दशैं मनाउन आफ्ना गाउँ घर फर्किनेहरु अग्रिम टिकट बुकिङको पर्खाइमा छन् । तर टिकट बुकिङ कहिले खुल्छ ठेगान छैन ।

यातायात व्यवस्था विभागले आज आइतबारदेखि टिकट बुकिङ खोल्ने योजना बनाएको थियो । तर, इन्धनको आपूर्ति सहज नभएको भन्दै त्यो योजना पनि स्थगित भएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता बसन्त अधिकारीले अनलाइनखबरसँग भने, ‘हिजो-आज नै बुकिङ खोल्ने पूर्वयोजना थियो । तर, इन्धन आपूर्तिले यातायात क्षेत्र प्रभावित भएकाले अहिले नै बुकिङ खोल्न नसक्ने भयौं ।’

गतवर्ष दशैंभन्दा तीन हस्ताअघि नै अग्रिम टिकट बुकिङ खुलेको थियो । तर यसपालि कहिले बुकिङ खुल्छ भनेर सरोकारवाला निकायले नै भन्न सकिरहेका छैनन् ।

इन्धन अभावका कारण सार्वजनिक गाडी कम चलेकाबेला टिकट बुकिङ खोल्न सम्भव र उचित नदेखेकाले बुकिङ नखुलेको प्रवक्ता अधिकारीले बताए । यस्तो अवस्थामा अगि्रम बुकिङ खोल्दा टिकटमा कालोबजारी हुने उनको भनाइ छ ।

‘सामान्य अवस्थामा पनि विभिन्न बहानामा कालोबजारी हुन्थ्यो । झन् तेलको अभाव चर्किएका बेला बुकिङ खोल्दा बिचौलियाहरु निकै सल्बलाउँछन्,’ अधिकारीले थपे, ‘अब इन्धनको सहज आपूर्ति भएपछि मात्र बुकिङ खोल्छौं । स्थिति सहज हुनासाथ छलफल गरेर निर्णय हुन्छ ।’

विभागले दशैंमा काठमाडौंबाट दशैंका लागि बाहिरिने २० लाख यात्रुका विषयमा चिन्तित रहेको बताएको छ । दशैंको बुकिङदेखि सर्वसाधारणको यात्रा सहज गर्न विभिन्न योजना बनाए पनि कार्यान्वयमा लैजान नसकिएको प्रवक्ता अधिकारीले बताए । ‘यसपाली बिचौलियालाई पूर्णरुपमा निरुत्साहित गर्नेगरी विभिन्न योजना बनाएका थियौं । तर, इन्धन अभावले कार्यान्वयन गर्न सकिएको छैन ।’

यातायात ब्यवासायीले पनि इन्धन अभाव र तराई बन्दको कारण दशैंको बुकिङ अन्यौलमा रहेको बताएका छन् । बन्दमा सरकारले सुरक्षा र क्षतिपूर्ति भर्ने ग्यारेन्टी गरेर गाडी गुडाउने वातावरण तयार गर्नुपर्ने उनीहरुको माग छ । तर, इन्धन अभावकै कारण सरकारले नै बुकिङ खोल्न जोड दिन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment