Comments Add Comment

हामीलाई प्रधानमन्त्री चाहिँदैन, संविधान कार्यान्वयन होस् : प्रचण्ड

Prachanda

  • फाइल तस्वीर

१७ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संविधान निर्माण गर्ने शक्तिहरुलाई फुटाउने र सहमतिको सरकार बन्न नदिने प्रयास भइरहेको बताएका छन् ।

एमाओवादीले नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार गरेको अन्तरक्रियामा प्रचण्डले भने-‘हिजो संविधान रोक्ने खोज्ने शक्तिहरुले अहिले संविधान त बनायौ । तर, सरकार बनाउने बेला देखाइदिन्छौं भनेका छन् ।’

अरु बेला ठूलठूला प्रतिवद्धता गर्ने नेताहरु पनि सत्ताको कुरा आएपछि धरमराउन थालेको उनले सुनाए । प्रचण्डले भने-‘त्यो धारा आयो महादेवको पनि तीन नेत्र भने जस्तै हाम्रा नेताहरुको पनि अर्कै इन्द्रियले काम गर्छ ।’

तर, स्थानीय निकायसँगै प्रदेश र संघीय निर्वाचन नगरेसम्म दलहरुबीच राष्ट्रिय सहमतिको खाँचो रहेको उनले बताए । उनले विजय गच्छदारको मोर्चा र थारुको माग सम्बोधन गरेर संविधान संशोधन गर्नु पर्ने धारणा राखे ।

आफ्नो दललाई प्रधानमन्त्री र राष्ट्रपति केही नचाहिएको बताउँदै एमाओवादी अध्यक्ष प्रचण्डले संविधान निर्माणमा भूमिका खेल्ने विजय गच्छदारसहित प्रमुख दलहरुको एकता कायम राख्नुपर्ने बताए । ‘हामीले केही प्रतिफल मागेका छैनौं । प्रधानमन्त्री, राष्ट्रपति पनि चाहिँदैन’ उनले भने-‘संविधान संशोधन हुँदै जाओस्, संविधानको कार्यान्वयन हुँदै जाओस् । माओवादी त्याग र बलिदान गर्न तयार छ ।’

पहिलो संशोधनबाट मधेसलाई सम्बोधन

एमाओवादी अध्यक्ष प्रचण्ड संविधानको पहिलो संशोधनबाट मधेसका जायज माग सम्बोधन गर्नु पर्ने बताएका छन् । उनले भने-‘मधेसमा भएको आन्दोलनलाई बहाना बनाएर अवान्छित हर्क गरेर दिन दिन नपाओस् ।’

मधेसी र थारु आन्दोलनकारीसँग वार्ता भइरहेको र त्यो सकारात्मक रहेको भन्दै उनले भने-‘मधेसको केही माग पनि सम्बोधन भएन भन्ने होइन । तर, जायज माग सम्ंबोधन गर्नुपर्छ र उहाँहरुको भावनामा चलखेल तथा छेदखानी गरिनु हुँदैन ।’

मधेसले विखण्डन नभइ काठमाडौंसँग जोडिने र आफ्नो अधिकार स्थापित गर्न पहल गर्नु पर्ने उनले बताए । ‘मधेसका जनताप्रति विश्वास छ । प्रेम पनि छ’ मधेस आन्दोलनमा घुसपैठको प्रयास भएको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले भने-‘एक/दुई जनाले भड्काउँदैमा मधेसी जनता भडि्कँदैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment