Comments Add Comment

बाबुराम कूर्ता लगाएर मधेस दौडाहामा निस्किए

१७ असोज, रुपन्देही । जीउमा सफेद कूर्ता सुरुवाल अनि घाँटीमा गम्छा । आइतबार यही सकलमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई रुपन्देहीमा आयोजित सभामा देखा परे ।

Baburam

शनिबार आफ्नो गृहजिल्लामा पूर्व जनप्रतिनिधिको हैसियतले चियापान एवं भेटघाट कार्यक्रममा सहभागी भएका भट्टराईले आइतबार नवलपरासी र रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागिता जनाउन भ्याए  ।

नवलपरासीको कार्यक्रममा डा. भट्टराईले एमाओवादीका नेताहरु भ्रष्टाचारको दलदलमा फसेको र सरकारमा जान लालायित भएको समेत बताए । जनयुद्धकालमा आफूले संविधानसभा र गणतन्त्रको कुरा गर्दा भौतिकरुपमै सिध्याउन खोजिएको उनले बताए ।

नवलपरासीको दुम्कौलीस्थित चौधरी उद्योग ग्राममा भट्टराईलाई स्वागत गरिएको थियो । त्यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले पार्टीले त्यसबेला आफूलाई कारवाही गरेर साधारण सदस्यमा राखेको अवस्थामा नजरबन्दमा राखेको र त्यतिबेला जे पनि हुन सक्ने बताए ।

तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएको समय माओवादीलाई पनि सरकारमा सहभागी हुन बोलाउंदा आफूले त्यसको विरोध गर्दा जिउँंदै खाल्डोमा गाडेर मार्न खोजेको समेत उनले खुलासा गर्दै आफू संघर्ष गर्दै यहाँसम्म आएको बताए ।

संविधान सभामार्फत संविधान निर्माण गर्ने आफ्नै एजेण्डा भएको दावी गर्दै डा. भट्टराईले त्यतिबेला राजतन्त्र नजिक दरबार नजिक रहेका आफ्नै पार्टी भित्रकाहरुले त्यसरी अप्रत्यक्ष नजरबन्दमा राखेको बताए ।

उनले आफू संविधान विरोधी नभए पनि आफूलाई फेरि पनि सिध्याउनका लागि संविधान विरोधी विल्ला लगाइदिएको दाबी गरे । उनले भने – “संविधान बनाउने महत्वपूर्ण हात मेरो पनि छ, यसमा म सबैभन्दा बढी खुसी छु । तर, दलित जनजाति मधेसीहरुको माग पूरा नभएका मैले असहमति राखेको हो ।

आधा नेपाल जल्ने, आधा नेपाल दिपावली गर्ने बेठीक हुने तर्क आफूले गरेको र सोही अनुसार दिपावली नगरेको उनले बताए । उनले संविधान जारी पछि एउटा युगको समाप्ति भएर नयाँ युगको थालनी भएकाले नयाँ युगमा नयाँ ढंगले चल्न नयाँ शक्तिको आवश्यक रहेकोमा समेत जोड दिए ।

चौधरी उद्योगमा नेपाल औद्योगिक स्वतन्त्र मजदुर युनियनका नाममा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । डा. बाबुराम आइतबार नै नवलपरासीको सुनवलमा पनि कार्यकर्ता भेटघाट गरेका थिए ।

रुपन्देहीको धकधईमा ‘मधेस आन्दोलनको समर्थन तथा वर्तमान शासनको विरुद्ध’ लेखिएको ब्यानरमा आयोजित कार्यक्रममा डा. बाबुराम भट्टराईले आइतबार सम्बोधन गरे । उनका साथमा एमाओवादी नेतृ हिसिला यमी पनि सहभागी थिइन् ।
-रामकुमार श्रेष्ठको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment