Comments Add Comment

तराई मधेसका जिल्लामा जितिया पर्वको रौनक

Jitiya-Parbaसुभाषप्रसाद साह
१७ असोज, बारा । धार्मिक बिधिपूर्वक जितिया पर्व मध्य तराई मधेसको जिल्लामा आईतबारदेखि शुरु भएको छ । नेपालीमा भाषामा ‘जितिया’ भनेर बुझिने यो पर्व मध्य तराई मधेसका जिल्लामा बसोबास गर्ने नेपालीहरुले आफ्नो मातृभाषा भोजपुरीमा ‘जिउतिया’ भनेर पूजापाठ गर्दछन् ।

नेपाल सरकारले जितिया पर्वको अवसरमा तराई मधेसका जिल्लाका महिलाहरुका लागि सोमबार सार्वजनिक बिदा दिएको छ ।

बिवाहित महिलाले आफ्नो सासुको चिरशान्ति र छोरा-छोरीको दिर्घायूको कामना गर्दै र अविवाहिताले सुयोग्य पति पाइयोस् भन्ने कामना गर्दै यो पर्व मनाउँछन् । यो पर्व परापूर्वकालदेखि नै बिवाहित र अबिवाहित महिलाले मात्र गर्ने गर्छन् । यो पर्व पुरुषले नगर्ने परम्परा रहदै आएको छ ।

व्रतालु महिलाहरुले घर नजिकैको नदी, पोखरी लगायतका जलाशयमा गई नुहाइधुवाई गरी पूजापाठ गरेका छन् । जलाशयको घाटमै झिउँनीको पातमा पीना -खरी), तेल, फूल, अक्षेता लगायत चढाई पूजापाठ गरेका छन् । जलाशय नजिकै नुहाईधुवाई गरी पूजापाठ गरेपछि महिलाहरु आ-आफने घर फर्किने र घरमा पाकेको चोखो खाना खाने चलन छ ।

नदी, पोखरी, खोला लगायतका जलाशयमा पूजापाठ गर्नेको ठूलो भिड देखिन्छ । कलैयाको सिद्धेश्वर पोखरी, रामजानकी पोखरी, बरेवा छटियाघाटको पोखरी सहित सिम्रौनगढ, कोल्हवी, जितपुर, बेलहिया, प्रस्टोका, फेटा सहित जिल्ला भरीकै जलाशयमा महिलाहरुको भिडभाड थियो ।

सोमबार पनि बिहानै उठेर नुहाईधुवाई गरिन्छ । त्यसपछि घरको दैलोमा पूजापाठ गर्ने चलन रहदै आएको छ । परम्परागत चलनअनुसार ‘जितबहन गोसाई’ अर्थात सूर्यको पूजापाठ गरिन्छ ।

दही, चिउरा, चिनी, रोटी, फलफुल, मसाला र चिनि नमिसाइएको झिउँनीको तरकारी, अछत, केराउँ, साठी धानको चामल (सरिहन धानको चामल) घरको दैलोमा झिउँनीको पातमा राखेर पूजापाठ गर्ने चलन छ । साथै बहिनी चिलो र सिआरिनको समेत पुजा गर्ने गरिन्छ ।

बिहानको पूजापाठ सकिएपछि व्रत बस्नेहरु सहित घरपरिवारका सबै सदस्यले दर खाने गर्दछन् । बिहान दर खाएपछि केटाकेटी त्यसलाई पचाननको लागि घर नजिकैको चौरीमा गई कबड्डी खेल्ने गरेको बेलहियाका बिजय राउतले बताए ।

बिहान दर खाएपछि दिनभर केही पनि नखाने परम्परा छ । दिनभरी पानी समेत खान नपाउने, थुक निल्न समेत नपाउने र एउटा सिन्का समेत भाच्न नपाउने भएकाले यसलाई कठिन पर्वको रुपमा समेत लिने गरिन्छ । बिहानको दर खाएपछि दिनभर महिलाहरु एक ठाउँमा बसेर कथा सुन्ने काम गर्छन् ।

साँझ परेपछि तारालाई देखेर अबिवाहित महिलाले खान खाएर व्रत समापन गर्छन् । जसलाई ‘खरजिउतिया’ भन्ने गरिन्छ । तर बिवाहित महिलाहरु अविवाहित महिला जस्तै साँझमा खाना खाएर व्रत तोड पाउँदैन् । बिवाहित महिलाहरु दिनभरी भोकै बस्छन् ।

त्यसपछि मंगलबार बिहान उठेर नुहाईधुवाई गरी घरको दैलो टेकेर पूजापाठ गर्ने काम शुरु हुन्छ । त्यसपछि बिधिवत रुपमा जितिया पर्वको विधि समापन हुन्छ । त्यसपछि ब्रत बस्ने महिलाहरु मिठो खाना खाने चलन रहँदै आएको छ । यसरी तीन दिनसम्म ब्रत बस्ने र पूजापाठ गरी यो पर्व समापन हुने गरेको छ ।

पर्व महंगो भयो

जितिया पर्वमा दही, चिउरा, चिनी, पिठो, साठी धानको चामल, केराउ, फलफूल, पिना, तेल, झिउँनीको पात लगायतका सामाग्रीहरु नभइ हुँदैन ।

यो पर्व अधिकांशले मनाउने कारणले अति नै आवश्यक पर्ने यस्ता सामाग्रीहरु अन्य दिनको तुलनामा महंगो मूल्यमा बिक्रीवितरण भइरहेको छ । सधै प्रतिकेजी दही एक सय २० रुपैयाँमा पाउने गरे पनि अहिले दहीको मूल्य प्रतिकेजी दुई सय ३० रुपैयाँ पुगेको छ । सबैलाई नभइ नहुने भएका कारण दहीको मूल्य बढेको हो ।

यस्तै झिउँनीको पातको पनि अभाव भएको छ । गाउँका साथै शहरबजारमा समेत रहेका महिलाहरुले यो पर्व मनाउने कारणले झिउनीको पातको अभाव भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment