Comments Add Comment

प्रधानमन्त्री प्रकरण : केपी ओलीसँग किन तर्सिँदैछ कांग्रेस ?

अरुण बराल

एमाले अध्यक्ष केपी ओलीलाई सत्ता सुम्पने भद्र सहमति गरिसकेका कांग्रेस सभापति सुशील कोइराला यतिबेला आफ्नो पूर्व निर्णयबाट पछि हटेको छनक पाइन थालेको छ । आखिर केपी ओली प्रधानमन्त्री बन्नै लाग्दा किन आत्तियो नेपाली कांग्रेस ?

यसका पछाडि पाँचवटा कारण देखिन्छन् :

फाइल तस्वीर
फाइल तस्वीर

पहिलो कारण : एमाले ठूलो दल बन्ने डर

अहिले सबैभन्दा ठूलो दलका रुपमा रहेको कांग्रेसका लागि आगामी चुनावको मुख्य प्रतिस्पर्धी दल एमाले नै हो । ओलीको नेतृत्वका सरकार बनेको अवस्थामा आशन्न स्थानीय चुनावमा एमालेले ०५४ सालमा जस्तै लटिपटी पार्छ कि भन्ने डर कांग्रेसका पलाएको छ ।

स्थानीय चुनावमात्रै होइन, यही सरकारले नै प्रादेशिक चुनावका साथै व्यवस्थापिका संसदको चुनावसमेत गराउने भएकाले ओलीले नेतृत्व सम्हाल्दा आफ्नो पार्टी दोस्रो दलमा खुम्चनुपर्ने डर कांग्रेस नेताहरुमा पलाएको छ ।

एमालेले सरकारको जिम्मेवारी सम्हालेपछि राजनीतिक एवं संवैधानिक नियुक्तिहरुमा एमालेको बोलवाला हुने डर कांग्रेस नेताहरुमा छ । खाइपाई आएका नियुक्तिहरु गुम्ने र देशमा एमालेकरण हुने डर कांग्रेसजनमा बढेको छ । यही कारणले गर्दा कांग्रेस नेताहरु एमालेको नेतृत्वमा आगामी तीनवटा चुनावको सामना गर्नुलाई आत्मघाती कदम ठानिरहेका छन् ।

दोस्रो कारण : कांग्रेसभित्रै अन्तरविरोध

ओली प्रधानमन्त्री भए भने उनी नयाँ ‘उदार तानाशाह’ बन्छन् भन्ने धेरैलाई डर छ । र, यो ‘फियर फ्याक्टर’ले कांग्रेस नेताहरुलाई निकै बढी नै सताएको छ ।

कांग्रेस सभापति सुशील कोइरालाले १६ बुँदे सहमतिकै बेला ओलीलाई भावी प्रधानमन्त्रीको आश्वासन दिइसकेका हुन् । तर, आफ्नै पार्टीभित्र कोइरालाले विरोधको सामना गर्नु परेको छ । एमालेलाई सरकारको नेतृत्व दिँदा कांग्रेस सिद्धिने भन्दै कोइरालालाई पार्टीभित्रबाट थेग्नै नसक्ने दबाव आएको छ । यो कुरा उनले लाजिम्पाट पुगेर प्रचण्डलाई समेत संकेत दिइसकेका छन् ।

नेपाली कांग्रेसका नेताद्वय शेरबहादुर देउवा र रामचन्द्र पौडेल प्रधानमन्त्रीका आकांक्षी हुन् । उनीहरुले सुशील कोइरालाको लेनदेनलाई असहज ठानेका छन् । केही समय अघि भारत पुगेर फर्केका शेरबहादुर देउवा विशेष गरी ओलीको नेतृत्वमा सरकार नबनोस् भन्ने चाहन्छन् ।
नेपाली कांग्रेसभित्र एमालेलाई प्रमुख प्रतिस्पर्धी मान्ने र उसँगको सहकार्य नरुचाउने ठूलो जनमत छ । सो जनमतको दबाव सुशील कोइरालाले यसअघि पनि व्यहोर्दै आएका थिए । अहिले ओली प्रधानमन्त्री बन्ने बेलामा कांग्रेसभित्रको यो अन्तरविरोध भुसको आगोजस्तो अरु बढी धुँवाउन थालेको छ ।

यो कुरा निश्चितै हो कि तत्कालै स्थानीय चुनाव र त्यसपछिका दुई ठूला चुनावहरु झेल्नुपर्ने भएकाले दुई ठूला प्रतिस्पर्धी दलहरु एकै ठाउँमा बस्दा प्रतिस्पर्धा कम र सहकार्य बढी हुन सक्छ, जुन आम निर्वाचनमा त्यतिसाह्रो व्यवहारिक देखिँदैन र अपवित्र सहवासजस्तै देखिन पुग्छ भन्ने कतिपय नेताहरुको सोचाइ छ । यसअघि एमालेकै युवा नेता योगेश भट्टराईले अनलाइनखबरको एउटा अन्तरवार्तामा भनेका थिए कि संविधान बनेपछि पनि कांग्रेस-एमाले सहकार्य अपवित्र हुन जान्छ । यस्तै विचार राख्ने नेताहरु कांग्रेसभित्र धेरै छन् ।

तेस्रो कारण : तीन दलको एकता तोड्ने बाहिरी कसरत

हठी स्वभावका ओलीले कांग्रेसलाई क्रस गरेर एकलौटी अघि बढ्ने हुन् कि भन्ने डर कांग्रेस नेतामा छ

एमाओवादी अध्यक्ष प्रचण्डले ठीकै भनेका हुन्, कांग्रेस, एमाले र एमाओवादी लगायत तीन दलवीचको एकता धेरैलाई मन परेको छैन । देशभित्रका र बाहिरका धेरै शक्तिले तीन दलवीच फाटो ल्याउन र संविधान बन्न नदिने प्रयास गरेका थिए । अब यो प्रयास सरकार गठनमा लगाउने र तीन दलवीच सहमतिको सरकार बन्न नदिने देशभित्र र बाहिरका शक्तिले कसरत गरिरहेका छन् ।

यही कसरत बमोजिम कांग्रेस र एमालेका वीचमा खेल्ने र दुई शक्तिलाई फुटाएर सरकारलाई कमजोर पार्ने रणनीतिक अभ्यास भइरहेको छ । र, यो अदृश्य कसरतकै प्रभावस्वरुप यतिबेला दुई ठूला दलवीच दुरी बढ्न थालेको छ ।

यस्तो कसरत कांग्रेसभित्रैबाट पनि भइरहेको छ । पूर्वराजावादीहरु र कांग्रेसका खुमबहादुर मार्काका नेताहरु पनि लागिपरेका छन् । विदेशी हस्तक्षेपकारीहरुले पनि कांग्रेस एकतावीच बेमेल गराउन चाहेका छन् ।

कांग्रेस एमाले र एमाओवादीवीच सहकार्य र एकता जारी रहेमा देशभित्र आइपर्ने जस्तै समस्याहरुको पनि सामना गर्न सकिन्छ भन्ने देखिएको छ । संविधान जारी भएपछि भएको भारतीय प्रेसरलाई पनि तीन दलले मिलेर सामना गरेपछि यो एकताको ताकत सबैले महसुस गरेका छन् । र, यही कारणले तीन दलको एकता टुटाउने चलखेल तीब्र बनेको छ ।

चौथो कारण : कम्युनिष्ट विरोधी जनमत

केपी ओलीको नेतृत्वमा सरकार गठन हुँदा त्यसमा एमाओवादी पनि सामेल हुनेछ र सरकारमा वामपन्थीहरुको प्रभाव बढ्नेछ । सन्तुलनका हिसाबले वाम ध्रुवीकरण बढेमा यसले दक्षिणपन्थी शक्तिलाई रक्षात्मक बनाउनेछ भन्ने गैरकम्युनिष्टहरुको डरले पनि यतिबेला नेपाली कांग्रेसलाई वामपन्थीहरुबाट साथ छुटाउने चाहनालाई बल पुर्‍याएको छ । यो दक्षिणपन्थी ‘आइडियोलोजिकल फ्याक्टर’ले कांग्रेस र एमालेवीच दुरी बढाउने काम चाहेको छ ।

पाँचौं कारण : केपी ओलीको कार्यशैली

कांग्रेसका नेताहरु केपी ओलीसँग डराउनुको अर्को एउटा कारण चाँहि ओलीको कार्यशैली हो । मधेसमा जनमतको राम्रो आधार रहेको नेपाली कांग्रेस मधेसप्रति केही नरम व्यवहार गर्न चाहन्छ, तर ओली यसमा निकै अनुदार छन् । साथै ओलीको छुचो अभिव्यक्तिले सरकारप्रति भोलि चुनावका बेला मधेसी र जनजाति रुष्ट हुने र सरकारमा गएवापत त्यसको अपजस आफूलाई पनि आउन सक्ने कांग्रेस नेताहरुलाई डर लागेको हुन सक्छ ।

हठी स्वभावका ओलीले कांग्रेसलाई क्रस गरेर एकलौटी अघि बढ्ने हुन् कि भन्ने डर कांग्रेस नेतामा छ । त्यस्तै गिरिजाप्रसाद कोइरालापछि ओलीले राजनेताको छवि बनाए भने आफूहरु पछि परिने पनि कांग्रेस नेतामा भय छ ।

केपी ओलीको कार्यशैलीप्रति कांग्रेसमा मात्रै होइन, एमालेभित्रै पनि डर छ । पार्टीमा एकतर्फीरुपमा पेलान गरेको भन्दै माधव नेपाल समूहले ओलीलाई प्रधानमन्त्रीका रुपमा भित्री मनदेखि नचाहेका कतिपय छनक पनि पाइएका छन्, जसको कारण हो ओलीको ‘अलोकतान्त्रिक’ एवं हठी कार्यशैली ।

संविधानसभाबाट मधेसी सांसदहरु बाहिर रहेका छन् । उनीहरु पनि प्रधानमन्त्रीको छनोटमा ओलीभन्दा अरुलाई नै रोज्न चाहन्छन्, यसको कारण पनि ओलीको रुखो एवं छुच्चो कार्यशैली नै हो भन्ने धेरैको तर्क छ ।

अन्त्यमा, ओली प्रधानमन्त्री भए भने उनी नयाँ ‘उदार तानाशाह’ बन्छन् भन्ने धेरैलाई डर छ । र, यो ‘फियर फ्याक्टर’ले कांग्रेस नेताहरुलाई निकै बढी नै सताएको छ ।

ओलीलाई शंकारहित अन्धसमर्थन वा विश्वास गर्ने असल मित्र चाँहि यतिबेला प्रचण्ड बन्न पुगेका छन् । यद्यपि ओलीलाई साथ दिएवापत आगामी चुनावमा प्रचण्डलाई कुनै फाइदा हुने देखिँदैन । चुनावमा एमाओवादीको वैचारिक प्रतिद्वन्दी एमाले नै हो ।

जहाँसम्म पालोको कुरा छ, लोकतन्त्रमा पालो हुँदैन । लोकतन्त्रमा त एकमना सरकार नबने अवस्थामा पहिलो दलले साना दललाई मिलाएर सरकार बनाउँछ, दोस्रो दल प्रतिपक्षमा बस्छ । जस्तो कि- पहिलो संविधानसभामा चार वर्षसम्म दोस्रो ठूलो दल नेपाली कांग्रेसले ४ वर्षसम्म सरकारकाे नेतृत्व लिएन । ( याे वाक्यमा यसअघि त्रुटीबस कांग्रेस प्रतिपक्षमा बस्याे भन्ने पर्न गएकाले सच्याइएकाे छ)

तर, एमाले चाँहि विजय गच्छदारजस्तै सत्ता बाहिर रहनै नसक्ने देखिएको छ । तेस्रो दल हुँदा पनि एमालेले दुईचोटि सरकार चलायो । र, अहिले दोस्रो दल हुँदा पनि प्रतिपक्षमा नबसी चुनावी सरकारको नेतृत्व दाबी गरिरहेको छ । सरकारमा गएर पनि एमालेका मन्त्रीले राम्रो काम गर्न सकेको देखिएन । ६ जना मन्त्रीहरु विवादमा मुछिए ।

तथापि लोकतन्त्रमा बहुमतको कदर हुनैपर्छ । कांग्रेसले साथ दिएन भने पनि एमाओवादी र अन्य दलको साथ लिएर एमालेले बहुमत सिद्ध गर्‍यो भने कसैले रोएर ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न सक्दैन /रोक्न मिल्दैन । कांग्रेसले साथ दियो भने त झन् उनी अबको दुई दिनमा सहमतीय सरकारकै प्रधानमन्त्री बन्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment