Comments Add Comment

पोखरा-काठमाडौं चल्ने बसमा मिनिबारसहितको सेवा

Bus-Hostess-Pokhara-Kathman

सन्देश श्रेष्ठ
१८ असोज, पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक समिति अन्तर्गतको जगदम्बा ट्राभल्सले मिनिबारसहितको बस दशैंको अवसर पारेर सञ्चालनमा ल्याउने भएको छ । पोखरा-काठमाडौं रुटमा चल्ने यो बस सेवा यहि असोज २६ गते घटस्थापनाको दिनदेखि सञ्चालनमा आउने छ ।

हवाईजहाजको जस्तै सुविधा !

पृथ्वी राजमार्ग बस सञ्चालक समितिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी मिनिबारको सुविधासहितको यो बस सेवा एसियाकै उत्कृष्ट भएको दाबी गरेको छ ।

हवाईजहाजमा जस्तै बसमा पनि सेवा दिन लागिएको जगदम्बा ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए । उनका अनुसार हवाईजहाजमा एयर होस्टेज जस्तै पोखरा-काठमाडौं चल्ने बसमा बस होष्टेज हुनेछन् । बसमा यात्रु चढेसँगै बस होष्टेजले स्वागत गर्ने ब्यवस्था मिलाइने छ भने फेस टावेल पनि उपलब्ध गराइने छ ।

मिनिबारको रुपमा धुमपान र मध्यपान बाहेक चिया/कफी, चिसो पेय पदार्थ उपलब्ध गराइने छ । बस होष्टेजले मिठाई तथा स्थानीय एवम् राष्ट्रिय पत्रपत्रिका यात्रुहरु समक्ष पुर्‍याउने छन् । यात्रुले पेय पदार्थ जतिपटक पनि मागेर पिउन सक्ने अध्यक्ष अधिकारीले बताए ।

एकतर्फी भाडा २ हजार

Bus-including-Minibar

२१ सिट क्षमताको सो बसको भाडा नेपालीका लागि प्रतिव्यक्ति दुई हजार र विदेशीलाई प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ तोकिएको छ । बस भाडामा यात्रुले बसभित्रै निःशुल्क वाइफाईदेखि खाजा, खाना, पत्रपत्रिका पढ्न पाउने लगायतको सेवा पाउने अधिकारीले जानकारी दिए ।

यो बसले दिवा सेवा दिनेछ । बस पोखराबाट विहान ८ बजे काठमाडौं प्रस्थान गर्नेछ । अधिकारीका अनुसार पोखरामा विहान साढे ७ बजे हल्लनचोकबाट छुट्ने सो बस पौने ८ बजे पर्यटन वसपार्क, ८ बजे अमरसिंह चोकमा पुगेर थप यात्रु चढाउनेछ । काठमाडौंमा भने ठमेलमा कार्यालय राखेर विहान ८ बजे पोखराका लागि छुट्ने ब्यबस्था मिलाइएको उनले बताए ।

अहिले २ वटा बसबाट सेवा शुरु गरेको एसियास्तरको यो बस ६ महिना भित्र एउटा थप्ने तयारी भइरहेको अधिकारीले बताए ।

‘हवाई सेवाको विकल्प’

पोखरामा आउने पर्यटकहरुलाई हवाई मार्गको विकल्पको रुपमा पनि यो सेवा सञ्चालनको प्रयास गरेको उनले बताए । उनले यो सेवा प्रभावकारी भए अन्य रुटमा पनि सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए । बहुचर्चित असोका लेल्याण्ड कम्पनिको उक्त गाडीको मूल्य एक करोड ७५ लाख परेको कम्पनीले दाबी गरेको छ ।

कार्यक्रममा नेपाल यातायात राष्ट्रिय महासंघका पश्चिमाञ्चल संयोजक धर्मराज अधिकारीले सरकारले कुटनीतिक माध्यमबाट देशमा अहिले देखिएको समस्या समाधान गरेर तेल उपलब्ध गराए आफूहरु सेवा दिन तयार रहेको बताए ।

केहि समय अघि संचालनमा आउनु पर्ने उक्त सेवा देशको परिस्थितिका कारण केहि ढिलो सुरुवात गर्न लागिएको पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment