Comments Add Comment

ढोरपाटनमा सिकारको पहिलो याम सुरु, ६ झारल र १३ नाउरको सिकार अनुमति

Dhorpatan-Hunting-2

१९ असोज, बागलुङ । ढोरपाटन सिकार आरक्षमा मंगलबारदेखि यस वर्षको पहिलो सिकार याम सुरु भएको छ । सिकार खुल्ला भएसँगै विदेशी सिकारीहरु आरक्षमा पुग्ने क्रम सुरु भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले आगामी मंसिरसम्म चल्ने पहिलो यामका लागि ६ झारल र १३ नाउरको सिकार अनुमति दिएको छ ।सिकार एजेन्सीले सिकारी पठाउन सुरु गरिसकेको र सिकार (ब्लक) हरु खुल्ला गरिएको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ ।

विभागले सिकारका लागि आह्वान गरेको विद्युतीय बोलपत्रबाट नेपाल वाइल्ड लाइफ एड्भेन्चर प्रालि, हिमालयन सफारी प्रालि, ट्र्याक एण्ड ट्रेल्स, नेपाल वाइल्ड लाइफ सफारी र ग्लोबल सफारीले सिकारी पठाउन स्वीकृति पाएका छन् ।

बर्सेनि असोज-मंसिर र फागुन-वैशाख गरी दुई याममा सिकार खुल्ला गर्ने गरिएको आरक्षका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए । सिकार खेल्न अमेरिका, रसिया, डेनमार्क, मेक्सिको, स्पेनलगायतका मुलुकबाट तालिमप्राप्त सिकारी आउने गरेको उनको भनार्इ छ ।

सिकारीहरुले यस याममा सेङ, गुस्तुङ, फागुने, बार्से र दोगाडी ‘ब्लक’मा सिकार खेल्नेछन् । सुनदह ‘ब्लक’ निकै टाढा र विकट भएकाले पछिल्ला वर्षहरुमा सिकारीहरु पुग्न नसकेको आरक्ष कार्यालयले जनाएको छ । त्यस्तै सुर्तिवाङ ‘ब्लक’मा नाउर र झारलको संख्या कम भएकाले सिकारमा रोक लगाइएको अधिकृत श्रेष्ठले बताए ।

‘सिकार खेल्न आउने सिकारी हप्तौँसम्म अस्थायी पाल टाँगेर आरक्षमा बस्ने गर्छन्’ अधिकृत श्रेष्ठले भन्नुभयो – ‘उनीहरु साहसिक र रोमाञ्चक ढंगले सिकारमा भुल्ने गर्दछ ।’ आरक्ष कार्यालय रहेको ढोरपाटन उपत्यकाबाट पैदल मार्ग भएर सिकारीहरु आरक्षका कर्मचारी, सिकार (गाइड)सँग ‘ब्लक’हरुमा पुग्ने गरेका छन् ।

Dhorpatan-Hunting-reserve

हेलिकप्टर ‘चार्टर’ गरेर सिकारीहरु ढोरपाटन आउने गरेको अधिकृत श्रेष्ठले बताए । दुवै याममा गरी २६ नाउर र ११ झारलको सिकार गर्न अनुमति दिने गरेको छ । आउँदो फागुन-वैशाखमा चल्ने दोस्रो सिकार याममा १३ नाउर र पाँच झारलको सिकार अनुमति दिइनेछ । यो वर्ष सिकारको दर पनि बढेको छ ।

गत वर्षको तुलनामा यो वर्ष झारल सिकारमा तीन लाख रूपैयाँ राजस्व बढेको हो । सिकारीले ९ लाख ३१ हजार रूपैयाँ तिरेर एउटा झारलको सिकार गर्नेछन् । आरक्षमा झारल सिकार विदेशी सिकारीको पहिलो रोजाइमा पर्ने गरेको छ ।

सिकार एजेन्सीहरुबीचको बढ्दो प्रतिस्पर्धाले सिकारको दर बर्सेनि बढ्दै गएको आरक्ष कार्यालले जनाएको छ । अघिल्लो वर्ष सिकारीले ६ लाख २६ हजार रूपैयाँमा झारलको सिकार अनुमति पाएका थिए । नाउरको सिकार गरेबापत सिकारीले न्यूनतम एक लाख २५ हजार रूपैयाँदेखि अधिकतम ३ लाख ३० हजार रूपैयाँसम्म राजस्व बुझाउने गरेका छन् ।

आरक्षमा अन्य वन्यजन्तु र चरा पनि सिकार गर्न पाउने व्यवस्था भए पनि सिकारीहरु झारल र नाउरको सिकारमा बढी रमाउने गरेका छन् । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि विदेशीका लागि ढोरपाटन रोजाइको गन्तव्य बनेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment