Comments Add Comment

‘दादरी घटना’ भारतीय लोकतन्त्रको उपहास

१९ असोज, काठमाडौं । भारतमा यसैसाता एक नागरिकलाई गाईको मासु खाएको आरोपमा हिन्दु समर्थकको भीडले पिटेर हत्या गरेपछि यो विषय यतिबेला भारतीय राजनीतिमा बहसको विषय बनेको छ ।

दिल्लीबाट ५० किलोमिटर टाढा उत्तर प्रदेश राज्यको दादरीमा एक परिवारमाथि हिन्दु समर्थकहरुले आक्रमण गरेका थिए । भारतको ६० वर्ष पुरानो लोकतन्त्रमा त्यहाँको समाज कतिसम्म सामन्ती, अलोकतान्त्रिक र असहिष्णु छ भन्ने यो घटनाले उजागर गरेको भन्दै भारतीय विश्लेषकहरुले चिन्ता प्रकट गरेका छन् ।akhlaq_ahmad

दादरीको बिसराडा गाउँ निवासी अखलाक अहमदलाई गाईको मासु खाएको भन्दै भीडले पिटेर मारेको एकसाता बितिसक्दा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मौनता साँधेको भन्दै यतिबेला दिल्लीमा उनको तीब्र आलोचना भएको छ ।

बीबीसी हिन्दीका सम्वाददाता सौतिक विश्वासले यसबारे मोदीको आलोचना गर्दै लेखेका छन्- ‘घटना भएको एकहप्ता भन्दा बढी भइसकेको छ, तर सोसियल मिडियामा बेहद सक्रिय प्रधानमन्त्री नरेन्द्र मोदीले चुप्पी साँधिरहेका छन् ।’

बीबीसी सम्वाददाता विश्वास मोदीबारे थप लेख्छन्- ‘मोदीले हालै आफ्नो अमेरिका यात्रामा त्यहाँका मानिसले गरेको अतिथि सत्कारप्रति धन्यवाद व्यक्त गरे । मन्त्रिमण्डलका एक सहयोगी एवं एक राज्यपाललाई उनको जन्मदिनमा शुभकामना दिए । चीनका जनताको राष्ट्रिय दिवसमा शुभकामना दिन पनि बिर्सिएनन् । मोदीले टि्वटरमार्फत एक गायिकाको छोराको निधनप्रति शोध जनाए, जबकि बिलियर्डस् च्याम्पियनलाई उनको शानदार उपलब्धिका लागि बधाइ पनि दिए ।’

हृदयविदारक घटना

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अखलाक परिवारले गाईएको मासु खाएको थिएन । तर, उनीहरुले गाईको मासु खाएको एकाएक हल्ला चलेको थियो । भीडको पिटाइबाट अखलाकको मृत्यु हुनुका साथै उनका छोरा सिकिस्त छन्, जसको अस्पतालमा उपचार भइरहेको छ ।
akhalak_sister_dadri_bisahara
अर्का एकजना छोरा भारतीय वायु सेवामा टेक्निसियनको काम गरिराखेको हुनाले घरमा नभएका कारण बचेका छन् । अखलाककी छोरीलाई भने महिला भएका कारण भीडले छोएन ।

यो घटनापछि दिल्लीका मुख्यमन्त्री केजरीवाल र भारतीय कांग्रेसका नेता राहुल गान्धीले पीडित परिवारलाई भेट गरिसकेका छन् ।

तर, यो हिन्दुवादी मानिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिलेसम्म यो घटनाबारे मौनता साँधेर बसेका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेष यादवले पीडित परिवारलाई ४५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

यो घटनालाई लिएर भारतीय लोकतन्त्र र सामाजिक न्यायमाथि नै त्यहाँका विश्लेषकहरुले गम्भीर प्रश्न उठाएका छन् ।

भारत एक धर्मनिरपेक्ष राष्ट्र हो । त्यहाँको जनसंख्या महत्वपूर्ण भाग मुस्लिमहरुले ओगटेका छन् । मुस्लिम समुदाय गाईको मासु खाने गर्छन् । यद्यपि पिटाइका कारण मृत्युवरण गर्न पुगेका अखलाक र उनको परिवारले गोमांश खाएको पुष्टि भएको छैन ।

अमेरिकामै प्रश्न

यसैवीच, न्युयोर्कको कोलम्बिया विश्व विद्यालयमा भारतीय अर्थव्यवस्थाबारे प्रवचन दिइरहेका भारतीय अर्थमन्त्री अरुण जेट्लीलाई त्यहाँका पत्रकारले दादरी हमलाले भारतको छविमा कस्तो असर पार्छ भनेर प्रश्न गरेका छन् ।

मन्त्री जेटलीले यस्तो घटनाले राम्रो सन्देश नदिने भन्दै यसलाई अपशोचपूर्ण घटना बताएका छन् । भारतको समाज परिपक्व रहेको उनले दाबी गरेका छन् ।

भारतको भन्दा नेपाली समाज सभ्य

सामाजिक सदभावको दृष्टिले भारत कति पछाडि छ भन्ने दादरी घटनाले देखाएको छ ।

भारतको तुलनामा नेपालमा बहुजातीय एवं बहुधार्मिक सदभाव उच्च रहेको र नेपाली समाज भारतको भन्दा सभ्य एवं सुसंस्कृत रहेको बेला बखतका यस्ता घटनाक्रमहरुले देखाउने गरेका छन् ।

नेपालमा सयभन्दा बढी जातजाति बस्ने गर्छन् । उनीहरु बहस, विवाद र छलफल गर्छन्, तर आपसमा मारकाट वा आक्रमणमा उत्रँदैनन् । धर्म निरपेक्ष नेपालमा पनि गाईको मासु खाने र नखाने समुदाय छन् । तर, एकले अर्काको जातीय एवं धार्मिक संस्कारमा सम्मान गर्छन् ।

मोदीको वाराणसीमै हुलदंगा

India-Protest

यसैवीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै चुनावक्षेत्र वाराणसीमा सोमबार साधुहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि भड्केको हिंसामा कर्फ्यु नै लगाउनुपरेको छ ।

मंगलबार कर्फ्यु हटाइए पनि विद्यालयहरु बन्द रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment