Comments Add Comment

केपी ओलीको समर्थनमा कुन-कुन दल उभिए ?

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले एमालेलाई सरकारको नेतृत्व दिन आनाकानी गरिरहेका बेला व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने अधिकांश साना दलहरु केपी ओलीलाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा उभिएका छन् ।
Kp-oli
आन्दोलनमा रहेका मधेसकेन्द्रित दलहरुबाहेक अधिकांश साना दलका सांसद तथा नेताले यसअघि तीन दलबीच भएको भनिएको भद्र सहमति अनुरुप नै ओलीको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्ने बताएका छन् ।

एक सिटदेखि १४ सिटसम्म संसदमा प्रतिनिधित्व गर्ने साना दलका नेतासँग अनलाइनखबरले तपाईहरुको समर्थन कसलाई हुन्छ ? भनेर प्रश्न गर्दा अधिकांशले ओलीलाई समर्थन गर्ने बताए । ओलीलाई समर्थन गर्नेमा मधेसी र जनजाति पार्टीसमेत देखिएका छन् ।

संसदमा एक सिट रहेको मधेस समता पार्टी र दुई सिट रहेको जनमुक्ति पार्टीले पनि यस अघिको भद्र सहमतिअनुसार ओलीलाई नेतृत्व दिनुपर्ने बताएका छन् ।

संसदमा रहेका प्रायः सबै साना बामपन्थी दल ओलीलाई प्रधानमन्त्री बनाउनुपर्ने पर्ने पक्षमा छन् । साना दलमध्ये दुई सांसद रहेको परिवार दलले ओलीलाई नेतृत्व दिएर राष्ट्रिय सरकार बनाउनुपर्ने भनेको छ ।

भावी सरकारको नेतृत्वका लागि कसलाई सघाउनुहुन्छ ? यो प्रश्नमा अनलाइनखबरले बिभिन्न दलका नेता एवं सांसदहरुसँग गरेको कुराकानी यस्तो छ :

भारतलाई हराउन ओलीलाई सहयोग
नारायणमान बिजुक्छे,अध्यक्ष नेपाल मजदूर किसान पार्टी

Narayan-man-Bijuckheअहिले भारत कुनै पनि हालतमा केपी ओलीलाई प्रधानमन्त्री हुन नदिने गरी अघि बढेको छ । ओलीविरुद्ध भारत खुलेर लाग्नुमा उसको स्वार्थ पूरा नहुने भएर हो । हामी नेपालका राजनीतिक दलहरुले आत्मनिर्णय गर्नुपर्छ भन्ने पक्षमा छौं ।

त्यसका लागि ओलीलाई हाम्रो समर्थन हुन्छ । त्यो भनेको भारतलाई उसको रणनीतिमा हराउनका लागि ।

भारत र तराईका जमिन्दारलाई खुसी नपारौं
चित्रबहादुर केसी, अध्यक्ष राष्ट्रिय जनमोर्चा

Chitra-Bdr-Kcसरकारमा कसलाई सघाउने भन्ने आधिकारिक निर्णय हाम्रो पार्टीले गरिसकेको छैन । तर, जसरी संविधान निर्माण गर्दा प्रमुख दलहरु एक ठाउँमा उभिए, यसको कार्यन्वयनका लागि पनि उनीहरुबीच समझदारी हुन जरुरी छ ।

संविधान बनाएकोमा आज नेपाली जनताले भारतबाट सजायँ भोगिरहेका छन् । तर, पनि जनताले नेतालाई साथ दिएका छन् । किनकि भारतीय शासकहरु सामु यसपटक उनीहरु झुकेनन् । अब प्रमुख दलहरुबीच सरकार गठनमा सहमति होस् । विगतमा जे सहमति भएको छ, त्यसमा सबै अडिग रहे भने राम्रो सन्देश जान्छ । सत्ताका लागि फेरि झगडा गर्न थाले भने जनताले उनीहरुलाई पत्याउँदैनन् ।

अहिले केपी ओलीलाई प्रधानमन्त्री बन्न भारतले मान्दैन, मधेसी मोर्चाले मान्दैन भनेर कुरा ल्याइएको छ । हाम्रो सरकार निर्माण भारतलाई प्रशन्न पार्न वा तराईका केही जमीन्दारलाई खुसी पार्नका लागि होइन, नेपाली जनताको भावना अनुसार हुनुपर्छ ।

ओलीलाई दिने भनेको हो भने पछि नहट
विक्रम पाण्डे, महामन्त्री, राप्रपा

Bikram-Pandyसरकारका बारेमा हामी आजभोलि नै बैठक बसेर निर्णय गर्छौं । हामी सहमतिको पक्षमा छौं । ठूला दलका नेताहरुले अनौपचारिक रुपमा हामीलाई सम्पर्क गरिरहेका छन् । हामीले यहिनै हुनुपर्छ भनेर निर्णय त गरेका छैनौं । तर, प्रमुख दलबीच भद्र सहमति भएको हो भने त्यो पालना हुनुपर्छ ।

यदि केपी ओलीलाई नेतृत्व दिने भनेको हो भने त्यसमा सबै इमान्दार हुनुपर्छ । वचनमा पक्का नभएकै कारण आज मुलुकले यो दुर्दशा भोगेको हो । यसपालि त्यस्तो नहोस् ।

मधेसी जनता सम्झेर ओलीलाई साथ
-मेघराज नेपाली निषाध, सांसद तथा अध्यक्ष मधेस समता पार्टी

Meghraj-Nepali-Nishadहामी प्रमुख तीन दलहरुसहितको सहमतीय सरकारको पक्षमा छौं । संविधान जारी गर्ने बेलामा १६ बुँदे सहमति गर्ने दलहरुले जे भनेर सम्झौता गरेका हुन्, त्यसमा अडिनुपर्छ ।

एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको भनिएको छ । हामी ओलीजीलाई सघाउने पक्षमा छौं । उहाँहरुले हाम्रो गुन तिर्ने हो भने सरकारमा जान पनि तयार छौं । म मधेसी जनताको नेता भएकाले मधेस आन्दोलनको समेत सम्बोधन गराउन ओलीजीलाई साथ हुन्छ ।

भद्र सहमतिमा अडिनुस
हरिचरण साह, अध्यक्ष नेपाली जनता दल

Hari-Charan-Sahहामी ६ वटा साना पार्टीका सात सभासदको एउटै मोर्चा छ । हामीले संविधान निर्माणमा तीन ठूला दललाई प्रक्रियामा सहभागी भएर साथ दियौं । यद्यपि हाम्रा सबै एजेण्डा उनीहरुले अस्वीकार गरे । अब तीन दल मिलेर जारी गरेको संविधान कार्यन्वयन गर्न पनि उनीहरु मिल्नुपर्छ ।

हिजो जे भद्र सहमति भएको हो, त्यसअनुसार दलहरु अघि बढ्नुपर्छ । ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति हो भने त्यसमा हाम्रो समर्थन छ ।

ओलीलाई हाम्रो सहयोग हुन्छ
शिवलाल थापा, संसदीय दलका नेता, जनमुक्ति पार्टी लोकतान्त्रिक

Shivalal-thapaहाम्रो पार्टीको बैठक भर्खरै बसेको छ । हामी दुईजना सांसद छौं । जसरी तीन ठूला दलहरुले संविधान जारी गर्न महत्वपूर्ण भूमिका खेले,त्यसमा हामीले पनि साथ दियौं । अब संविधान कार्यान्वयन पक्षमा यी दलहरुको एकता झनै आवश्यक छ, उनीहरु कुनै पनि हालतमा छुट्नुहुँदैन । तपाईहरुले आवश्यक ठानेमा हामीलाई साना दललाई पनि सरकारमा सहभागी गराउनुस् । तर, तपाईहरुबीच भएको भद्र सहमति नतोड्नुस, केपी ओलीलाई प्रधानमन्त्री बनाउनुस् ।

संविधान बनाउने प्रमुख दलहरु कोही सत्तामा कोही प्रतिपक्षमा भए भने संविधान कार्यन्वयन चुनौतिपूर्ण हुन्छ ।

हाम्रो समर्थन ओलीलाई
सीपी मैनाली, महासचिव नेकपा माले

CP-Mainaliहामी प्रमुख दलहरु सम्मिलित राष्ट्रिय सहमतिको सरकार बनोस् भन्ने चाहान्छौं ।

त्यसका लागि हिजोको भद्र सहमति अनुसार एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री स्वीकार गरियोस् भन्ने हाम्रो भनाइ हो ।

हाम्रो पार्टीको प्रष्ट धारणा छ-ओलीको नेतृत्वमा सरकार बन्नुपर्छ ।

सुशीलले दावी गर्न मिल्दैन, ओलीलाई देऊ
-प्रेमबहादुर सिंह, संसदीय दलका नेता, समाजवादी पार्टी

Prem-Bahadur-Singhजसरी संविधान प्रमुख तीन दल बसेर अरु दलको समर्थनमा जारी भयो, अब यसको कार्यन्वयनका लागि पनि यी दलहरु मिल्नुपर्छ । कम्तिमा पनि तीन वर्ष अर्को केन्द्रीय संसद, स्थानीय र प्रादेशिक चुनाव हुन्जेल प्रमुख दलको सहकार्य टुट्नुहुँदैन ।

सरकारको नेतृत्वका सन्दर्भमा उनीहरुले हिजो भद्र अभद्र के के सहमति गरे, त्यसबाट अहिले आएर पछि हट्न मिल्दैन । हामीले बुझेअनुसार १६ बुँदे सहमति गर्दा पनि ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो, त्यसबाट कोही पनि पछि हट्नुहुँदैन । सुशील कोइराला आफैंले अब म बस्दिँन भनिसकेपछि अब फेरि मलाई समर्थन गर भन्न मिल्दैन ।

भद्र सहमति पालना गनुपर्छ
जयदेव जोशी, संसदीय दलका नेता नेकपा संयुक्त

हामीले कसलाई समर्थन गर्ने भन्ने निर्णय लिइसकेका त छैनौं तर दलहरुबीच सहमतिको आधारमा सरकार बन्नुपर्छ ।

बिगतमा जे सहमति भएको हो, त्यसबाट कोही पछि हट्न हुँदैन ।

सात बुँदेदेखि १६ बुँदेसम्मका सहमतिको पृष्ठभूमीमा ओलीलाई प्रधानमन्त्री बनाउने भन्ने भद्र सहमति भएको हो भने त्यसलाई पालना गर्नुपर्छ । हामी त्यो अवस्थामा ओलीका पक्षमा उभिन्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment