Comments Add Comment

मधेसी मोर्चाले भन्यो-सीमांकन आयोगलाई जिम्मा लाउने कुरै नल्याउनुस्

Laxman lal karna

१९ असोज, काठमाडौं । प्रमुख तीन दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको पहिलो औपचारिक वार्ता राजनीतिक विषयमा प्रवेश नगरी टुंगिएको छ ।

सिंहदरवारस्थित राज्यव्यवस्था समितिको हलमा करीव तीन घण्टा चलेको वार्तामा दुवै पक्षले राजनीतिक एजेण्डा आदान प्रदान नगरेको स्रोतले जनाएको छ ।

मधेसी मोर्चाले वार्ताको वातावरण बनाउन सरकारलाई २४ घन्टे समय सीमा दिएको छ । साथै उसले वार्ताको वातावरण बनाएर आउँदा सीमांकनको विषय संघीय आयोगलाई दिने प्रस्ताव नल्याउन प्रष्ट सन्देश दिएको छ ।

सरकारलाई २४ घन्टे म्याद

वार्तामा मधेसी मोर्चाल सरकारले अझै वार्ताको वातावरण नबनाएको भन्दै असन्तुष्टि जनाएको थियो । तराई मधेसको अवस्था सामान्य पार्न सरकारले गरेका निर्णय कार्यन्वयन र थप निर्णयको माग गरेको वार्ताकार तमलोपा नेता सर्वेन्द्रनाथ शुक्लले बताए ।

शुक्लले भने-‘आज हामी राजनीतिक एजेण्डामा प्रवेश गरेनौं । सरकारले मधेसको अवस्था सामान्य पार्नका लागि हामीले भनेका सबै काम पुरा गरेको छैन । वीर अस्पतालमा अहिले पनि घाइतेहरु उपचार खर्च नपाएर बसेका छन् । तर, उपचार गरिदिने सरकारी निर्णय कार्यान्वयन भएको छैन ।’

भिडियो हेर्नुस्

आन्दोलनमा मृत्यु भएकाहरुलाई सहिद घोषणासहितको आफ्नो माग पनि पूरा नभएको मोर्चाले बताएको छ । उसले वार्ताको वातावरण बनाउन भएका निर्णय कार्यान्वयन गर्न र बाँकी निर्णय गर्न सरकारलाई २४ घन्टा समय दिएका छन् ।

मुख्य असहमति सीमांकनमै हो

स्रोतका अनुसार तीन दलका तर्फबाट राजनीतिक विषय उठाउँदा मोर्चाका वार्ताकारहरुले सीमांकनको टुंगो लगाउन आयोग बनाउने कुरा ठाडै अस्वीकार गरेका छन् ।

‘हाम्रो मुख्य असहमति नै प्रदेशहरुको सीमांकनमा हो, त्यसलाई आयोगबाट टुंगो लाउने कुरा ल्याउँदै नल्याउनुस्, यो कुरामा वार्ता हुँदैन’ मोर्चाका नेताहरुले भनेका थिए ।

तीन दलका तर्फबाट राजनीतिक विषयमा सैद्धान्तिक कुरा ल्याउन खोजे पनि ठोस रुपमा तयारीका साथ नआएको मधेसी मोर्चाका अर्का वार्ताकार लक्ष्मणलाल कर्णले बताए । मधेसी मोर्चाले तराई मधेसमा दुई प्रदेशलाई बटमलाइनका रुपमा अघि सार्ने बताएको छ ।

तीन दलीय वार्ता टोलीका सदस्य तथा वनमन्त्री महेश आचार्यले भने बुधबार हुने वार्तामा राजनीतिक विषयमा केन्द्रित रहेर कुराकानी गरिन सञ्चारकर्मीहरुलाई बताए । ‘वार्ता शुरु भएको छ, चाँडै टुंगोमा पुगिन्छ’ उनले भने ।

सद्भावना नेता लक्ष्मणलाल कर्णले सरकारले मधेशको अवस्था सामान्य बनाउन गरेका निर्णय कार्यन्वयन गरेपछि राजनीतिक विषय एकै दिनमा टुंग्गाउन सकिने बताए ।

वार्तामा तीन दलबाट वनमन्त्री महेश आचार्य, एमाले प्रमुख सचेतक अग्नि खरेल र एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ थिए भने आन्दोलनकारी मोर्चाका तर्फबाट सर्बेन्द्रनाथ शुक्ल, लालबाबु राउत, लक्ष्मणलाल कर्ण र राम नरेश राय थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment