Comments Add Comment

केपी ओलीबारे किन बोल्दैनन् सुशील ?

Sushil koirala and kp oli

१९ असोज, काठमाडौं । शक्ति बाँडफाँडबारे केपी ओलीलाई प्रधानमन्त्री बनाउने गरी भएको भनिएको ‘भद्र सहमति’बारे प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले अझै मुख खोलेका छैनन् ।

एमाओवादी अध्यक्ष प्रचण्डले सार्वदलीय बैठकमा नै एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको दाबी गर्दा समेत कोइरालाले न हो भन्न सके, न त होइन नै भने ।

बरु, प्रधानमन्त्री कोइरालाले उपसभापति रामचन्द्र पौडेललाई बोल्न लगाएर त्यस्तो सहमति भएकोबारे थाहा नभएको भन्न लगाए । नेताहरुका अनुसार कोइरालाले वरिष्ठ नेता शेरबहादुर देउवालाई पनि यसबारे बोल्न इशारा गरेका थिए । तर, देउवाले केही बोलेनन् ।

कोइरालाको भित्री चाहना

कोइरालाले भावी प्रधानमन्त्री को हुने भन्नेबारे आफ्नो गुटमा भने छलफल गरिरहेका छन् । एक नेता भन्छन्-‘उहाँमा अहिले आफैं प्रधानमन्त्री हुने ईच्छा एकदमै बढेर गएको छ । तर, खुलेर भन्नुभएको छैन ।’

आफू फेरि प्रधानमन्त्री हुन्छु नभने पनि कोइरालाले ओली प्रधानमन्त्री हुँदा मधेसी र थारुसँग सहमति नहुने र भारतकै कारण पनि उनी बन्ने सम्भावना कम भएको  विश्लेषण आफू नजिकका नेताहरुसँग गरेका छन् । ओली प्रधानमन्त्री नहुँदा पार्टीकै वरिष्ठ नेता शेरबहादुर देउवा अघि आउन सक्ने तर्क प्रधानमन्त्री कोइरालाले गर्ने गरेका छन् ।

कांग्रेस सूत्रका अनुसार प्रधानमन्त्री कोइराला केपी ओली र शेरबहादुर देउवा दुबैलाई रोक्न चाहन्छन्, जसको विकल्प उनले आफैंलाई देखेका छन् ।

देउवा र पौडेलको आ-आफ्नै दाउ

ser-bahadur-and-ramchandra

कांग्रेसका अर्का नेता रामचन्द्र पौडेल अब आफू प्रधानमन्त्रीको उम्मेदवार बन्न चाहन्छन् । सार्वजनिक रुपमै भद्र सहमति नभएको बताइसकेका उनले कोइरालालाई भेटेर समेत आफूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन माग गरिसकेका छन् ।

पौडेलले आफू अब चुप लागेर नबस्ने बताएपछि कोइरालाले आफ्ना गुटका केही नेताहरुको नामै लिएर साथीहरुसँग पनि सल्लाह गर्नुपर्छ भनेका थिए । तर, पौडेलले ‘तपाईले भनेपछि कसले हुन्न भन्छ र’ भन्दै दबाव दिएको स्रोत बताउँछ ।

कांग्रेस वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि प्रधानमन्त्रीका आकांक्षी हुन् । देउवा पक्षका नेताहरु अब कोइरालाले छाड्नुपर्ने र शेरबहादुरले पाउनुपर्ने बताउन थालेका छन् । उनीहरुले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको जानकारी आफूहरुलाई नभएको तर्क गरेका छन् ।

उता डा. शेखर कोइरालासहितका नेताहरु सार्वजनिकरुपमा नै कांग्रेस र एमालेमध्ये एउटा दल प्रतिपक्षमा बस्नुपर्छ भनेर हिँडेका छन् । यस्तो भएमा एमाओवादी, राप्रपा नेपालसहितको दललाई साथमा लिएर कोइराला नै फेरि प्रधानमन्त्री बन्ने सम्भावना हुनेछ । या कांग्रेसलाई छाडेर केपी ओलीले बहुमतको सरकार बनाउनुपर्ने हुन्छ ।

कांग्रेस नेताहरु सुशील, देउवा र रामचन्द्रमा तीन नेतालाई तीन पद राष्ट्रपति, प्रधानमन्त्री र पार्टी सभापति बाँडफाँड गर्न सकिने तर्क गर्छन् । कोइराला राष्ट्रपति र प्रधानमन्त्री दुईमध्ये एकका दाबेदार हुन् ।

कांग्रेसका तीन नेताको आ-आफ्नै दाउ भएपछि तीनै जनाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्ने संकेत दिएका छैनन् ।

बुधबारको प्रतिक्षा

यस्तोमा अब बुधबार लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी सभापति कोइरालाले सरकारबारे के प्रस्ताव ल्याउँछन् भन्नेमा धेरै कुरा भर पर्ने नेताहरु बताउँछन् ।

ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको स्वीकार गर्दै अघि बढ्ने प्रस्ताव आए सुशीलले बुधबार ल्याए भने एमाले अध्यक्ष ओली २४ गते नै प्रधानमन्त्री बन्नेछन् ।

तर, उनले भद्र सहमति भएको स्वीकार गरेनन् भने ठूलो दलको हैसियतमा कांग्रेसकै नेतृत्वमा सरकार गठनको पहल गर्नुपर्छ भन्ने आवाज बैठकमा उठ्ने देखिन्छ ।

त्यसका केही आधार छन् । एमाले नेतृत्वको सरकार भन्नासाथ धेरै कांग्रेसका नेताहरुको दिमागमा ०५४ सालको स्थानीय चुनावको दृश्य आउने गरेको छ ।

त्यसका साथै फरक मत राख्नेप्रति अहिष्णु व्यवहार गर्न पछि नपर्ने ओली र एमाओवादीको साथले कांग्रेसलाई पत्तासाफ गर्ने धेरैको डर छ । किनकि अब बन्ने नयाँ सरकारले नै स्थानीय, प्रादेशिक र संघीय सभाको चुनाव पनि गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment