Comments Add Comment

इन्धन अभावले सार्वजनिक यातायात लगभग ठप्प

Passengers
२० असोज, काठमाडौं । भारतको नाकाबन्दीका कारण इन्धन आयात रोकिँदा दैनिक जनजीवन कष्टकर बन्न थालेको छ । मंगलबारबाट आयल निगमले सार्वजनिक सवारीसाधनलाई सीमित परिमाणमा इन्धन उपलब्ध गराउने निर्णय गरेपछि सार्वजनिक यातायात लगभग ठप्प हुने भएको छ । निगमले सार्वजनिक यातायातलाई प्राथमिकता तोकेर सोमबारसम्म इन्धन वितरण गरिरहँदासमेत सबै सवारीसाधन चल्न सकेका थिएनन् । सवारीसाधनका कमीले राजधानीमै छतमा यात्रु बोकेर बस गुडिरहेका छन् ।

मंगलबारबाट सीमित परिमाणमा इन्धन दिन सुरु भएपछि झन् कम सवारी चल्ने र सर्वसाधारणले थप सास्ती पाउने भएका छन् । सरकारको तथ्यांकअनुसार कुल सवारीसाधनमा १० प्रतिशत मात्रै सार्वजनिक यातायातको हिस्सा छ । यातायात व्यवस्था विभागका निर्देशक वसन्त अधिकारीका अनुसार देशभर २० लाख सवारीसाधन सञ्चालनमा रहेको र त्यसमध्ये दुईदेखि दुई लाख ५० हजारको संख्यामा मात्रै सार्वजनिक यातायात छन् । ‘यसमा लामो तथा छोटो दूरीका बस, माइक्रो, टेम्पोलगायत सबै सार्वजनिक सवारी पर्छन्,’ उनले भने । आयल निगमले मंगलबार सूचना जारी गर्दै सार्वजनिक सवारीसाधन तथा पर्यटकको सेवामा सञ्चालित साधनलाई जोर–बिजोर नम्बरका आधारमा जोर–बिजोर गतेअनुसार माइक्रोबसलाई १५ लिटर, मिनिबसलाई २० लिटर र ठूला बसलाई ३० लिटर इन्धन वितरण गर्ने जनाएको नयाँ पत्रिकामा खबर छ ।

यो सूचनाअनुसार प्रत्येक दुई दिनमा मात्रै सार्वजनिक सवारी र पर्यटक बसले इन्धन पाउनेछन् । थोरै संख्यामा रहेका सार्वजनिक यातायातलाई कोटा प्रणालीमा अपर्याप्त इन्धन दिँदा सार्वजनिक यातायात लगभग ठप्प हुने यातायात व्यवस्था विभागका निर्देशक अधिकारीले बताए । ‘थोरै संख्यामा रहेका सार्वजनिक सवारीले असंख्य यात्रु बोक्दै आएका छन्,’ उनले भने, ‘ती सवारीसाधनलाई पर्याप्त इन्धन दिन नसके सार्वजनिक यातायात लगभग ठप्प नै हुने देखिन्छ र यात्रुले दु:ख पाउनेछन् ।’ देशभर करिब १४ लाख मोटरसाइकल र अढाई लाख कार, जिप, भ्यान सञ्चालनमा रहेको विभागको तथ्यांक छ ।

यी सवारीसाधनलाई निगमले इन्धन उपलब्ध गराउन छाडेको छ । सार्वजनिक बसलाई कोटामा इन्धन दिने र निजी सवारीलाई इन्धन नै नदिने गर्दा मुलुकको यातायात क्षेत्र नै ठप्प बन्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment