Comments Add Comment

जमरे औंसीदेखि बिहारमा चुनाव, दसैंमा सीमा सीलबन्दी हुने

२० असोज, काठमाडौं । नेपालमा जुन दिनबाट दसैंको जमरे औंसी सुरु हुन्छ, त्यही दिनदेखि भारतको बिहारमा विधानसभाको चुनाव सुरु हुँदैछ । घटस्थापना आउन एक साता मात्रै बाँकी हुँदासम्म सीमानाकाहरु सुचारु हुन सकिरहेका छैनन् । अब बिहारमा चुनाव हुँदा नेपालको सीमाना ‘सील’ हुनेछन् ।
laloo_yadav_nitish_kumar_narendra_modi
असोज २५ देखि सुरु हुने बिहारी चुनाव कागतिहारको चार दिनअघि अर्थात कात्तिक १९ गते मात्रै सकिनेछ । यसवीचमा केही दिन सीमा नाकाहरु बन्द हुने परम्परा छ ।

दसैं-तिहारका लागि नेपालमा पटका र झिरझिरेदेखि टीको लगाउने अबीरसम्म बेचेर दाम कमाउने भारतीय व्यापारीहरुलाई मोदी सरकारको नीतिले यो वर्ष सुख्खा बनाउने संकेत यताको मधेस बन्द र उताको बिहारी चुनावले गरिरहेको छ ।

दसैंले छोपिसकेका बेला मधेसी मोर्चाले बन्द फिर्ता लियो भने पनि अब बिहार प्रशासनले सीमाना ‘सील’ गर्ने तिथि नजिकिँदैछ ।

बिहारको चुनावमा नेपाल ‘फ्याक्टर’

नेपालसँग सीमाना जोडिएको तर, नेपालको भन्दा तेब्बर (१० करोड ३८ लाख) जनसंख्या भएको बिहारमा हुन लगेको चुनावमा नेपालले कस्तो असर पार्ला ? यसबारे तथ्यांकहरुको खोजी गर्दा सो चुनावलाई नेपालले केही न केही तर्साएको पाइन्छ । तर, बिहारको चुनावमा नेपाल र नेपालीको भूमिका नगन्य नै छ ।

यद्यपि बिहारको चुनावमा नेपालसँग जोडेर हुने गरेका चर्चाहरु यस्ता भेटिन्छन् :

एक- मधेसीलाई चिढ्याउँदा हारिने डर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको सन्दर्भमा ‘मधेस हैन, देश’ भन्ने मान्छे हुन् विगतमा । तर, अहिले मधेसमा आन्दोलन गरिरहेका नेपालीलाई नचिढ्याउने पक्षमा उभिएका छन् उनी ।

भारतीय मिडियामा प्रस्तुत बीजेपीका क्षेत्रीय नेताहरुको विश्लेषण सुन्दा बिहारको चुनावमा नेपालको मधेस फ्याक्टरले केही न केही काम गरेको छ र गर्नेछ ।

जस्तो कि- नेपालमा बसोबास गर्ने धेरै मधेसीहरुका नातागोता बिहारमा बसोबास गर्छन् । रोटी र बेटीको सम्बन्ध भएकाले नेपालका मधेसीहरुले मोदीसँग चित्त दुखाए भने बिहारमा रहेका मधेसीका आफन्तले बीजेपीलाई भोट नहाल्ने सम्भावना रहन्छ । यही कारणले मोदी नेपालका मधेसीहरुलाई कमसेकम बिहारको चुनाव नसकिउञ्जेल चिढ्याउने पक्षमा छैनन् ।

तर, त्यति ठूलो बिहारमा नेपालीका भाञ्जा भाञ्जी वा ससुरालीहरु कतिजना मतदाता होलान् ? १० करोड जनसंख्या र ६ करोड मतदाता रहेको भएको बिहारमा एकाध मधेसीका नातेदारहरुको मतले कति फरक पार्ला ? यसको कुनै तर्कयुक्त विश्लेषण पाइँदैन । यो विषय उतिसाह्रो प्रभावकारी ‘फ्याक्टर’ नहुन सक्छ । तै पनि चुनाव हो, सानो कारणले पनि हारिने सम्भावना हुन्छ भन्ने भारतीय सत्तापक्षलाई पक्कै डर लागेको हुन सक्छ ।

दोस्रो : नेपालबाट हतियार र पैसा छिर्ने डर

भारतीयहरुले बिहारको हरेक चुनावमा भन्ने गरेका छन् कि नेपालबाट चुनावका बेला नक्कली भारु र साना हतियार छिर्ने सम्भावना रहन्छ । नेपालीहरुले नै त्यसरी नक्कली भारु प्रवेश गराउने त उनीहरु भन्दैनन्, तर पाकिस्तानीहरुले नेपालको बाटो हुँदै बिहारमा नक्कली भारु र हतियार बेच्छन् भन्ने भारतीयहरुमा डर रहेको पाइन्छ । भलै यसको कुनै दसीप्रमाण अहिलेसम्म भेटिएको छैन ।

अर्को विचारणीय पक्ष के छ भने अहिले बिहार र नेपालको सीमानामा भारतले एकतर्फीरुपमा नाकाबन्दी गरे पनि आन्दोलनकारीलाई दशगजा पारि जान कुनै रोकतोक छैन । सीमापारि जान कुनै नेपालीलाई पनि रोकतोक नभएको यो अवस्थामा शान्तिपूर्ण स्थिति हुँदाभन्दा मधेसमा आन्दोलन हुँदा नै बिहारको चुनावलाई बढी घाटा हुने र घुसपैठ हुने सम्भावना बढी हुन्छ ।

बिहारको चुनावलाई लिएर भारतीयले गर्ने माथिका दुई चिन्ता परस्पर विरोधी छन् । पहिलोमा जोड दिँदा दोस्रो खतरा बढी हुन्छ । र, दोस्रोमा जोड दिँदा पहिलो खतरा बढी हुन्छ । तर, यी दुईबाहेक बिहारी चुनाबलाई नेपाल ‘फ्याक्टर’ले कुनै प्रभाव पार्ने देखिँदैन ।

हुनत भारतले नेपालबाट नक्कली मतदाता पनि छिर्न सक्ने आशंका गरेको हुन सक्छ । तर, पारि बसेर शिविरमा भात खाने वातावरण उसैले बनाएको अवस्थामा यसबाट नक्कली मतदाता छिर्ने सम्भावना कम हुँदैन, झनै बढ्छ ।
nukkad_natak_bihar
बिहारी चुनावका केही पहेली

नेपालको छिमेकमा हुन लागेको निर्वाचनमा कसले जित्छ र को मुख्यमन्त्री हुन्छ भन्ने कुराले हामीसँगको सम्बन्धमा पक्कै पनि केही अर्थ राख्न सक्छ । यद्यपि भावी मुख्यमन्त्रीका दाबेदार नीतिशकुमार या मोदीको पार्टीका सुशील मोदी, कसैले पनि हाम्रो मधेस मामिलाबारे मुख खोलेका छैनन् ।

नेपालका लागि नीतिश-लालु गठबन्धन वा सत्तारुढ बीजेपीमध्ये कसले बिहारको सत्ता सम्हाल्दा फाइदा होला भनेर बहस गर्नु लगभग बेकारजस्तै देखिन्छ, अहिलेको अवस्थामा ।

यद्यपि अबको एकसातापछि छिमेकका कसरी चुनाव हुँदैछ भन्नेबारे सामान्य चर्चा गर्नु सान्दर्भिक नै हुनेछ । बिहारका चुनावका केही विशेषता यस्ता छन् :

१. उत्तरमा नेपाल, पश्चिममा युपी, पूर्वमा पश्चिम बंगाल र दक्षिणमा झारखण्डसँग जोडिएको बिहारको विधानसभाको चुनाव असोज २५ देखि कात्तिक १९ गतेसम्म हुनेछ । मतगणना कात्तिक २३ गते हुनेछ ।

२. करिब साढे १० करोड जनसंख्या रहेको बिहारमा ६ करोड ६८ लाखको हाराहारीमा मतदाता छन् । कुल २४३ सीटमा चुनाव हुँदैछ । ३८ सीट आरक्षित छन् ।

३. गत वर्षको लोकसभा चुनावमा बिहारका ४० सीटमध्ये बीजेपीले २२ सीटमा जित हासिल गरेको थियो भने लालु यादव र नीतिश कुमारका क्षेत्रीय पार्टीहरुले सर्मनाक हार व्यहोरेका थिए । कांग्रेस आईले बिहारबाट लोकसभामा २ सीटमात्रै जितेको थियो ।

अहिले मोदीको दल बीजेपीविरुद्ध लालु यादव, नीतिशकुमार र कांग्रेस आईले समेत गठबन्धन बनाएका छन् ।

४. गठबन्धनले पूर्वमुख्यमन्त्री नीतिशकुमारलाई नै भावी मुख्यमन्त्रीका रुपमा प्रोजेक्ट गरेको छ । विगतमा बीजेपीसँगै रहेका नीतिशकुमार मोदीकै उचाइका नेता मानिन्छन् । उनी भावी प्रधानमनत्रीका रुपमा पनि विगतमा चर्चामा थिए । अहिले बीजेपीले सुशील मोदीलाई बिहारको मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरे पनि उनको हाइट पूर्वमुख्यमन्त्री नीतिशकुमारको भन्दा कम छ ।

तथापि बिहारमा बीजेपीले लोकसभामा पाएको सफलता, मोदीबाट विकास बजेटको आश्वासन र अमेरिकाबाट फर्केपछि मोदीले बढाएको सक्रियताले विपक्षी गठबन्धनलाई चुनौती दिइरहेको छ ।

५. भनिन्छ, बिहारको चुनाव जातीय र धार्मिक आधारमा हुन्छ । तथ्यांक आधारमा भन्नुपर्दा बिहारमा हिन्दुहरु ८२ प्रतिशत छन् । त्यस्तै मुस्लिम १६ प्रतिशत र क्रिश्चियनसहित अन्य धर्मावलम्बी ४ प्रतिशत छन् । बीजेपी हिन्दुवादी मानिएकोमा बिहारमा मुस्लिम समुदायको भोट निर्णायक मानिन्छ ।

६. भाषिक हिसाबले बिहारमा हिन्दीभाषी ७० प्रतिशत छन् भने त्यसपछि भोजपुरी, मगधी, मैथिली, ऊर्दू, बंगाली र सन्थाल भाषीहरुको बसोबास छ । शिख, बौद्ध, जैनहरुको पनि बसोबास छ ।

७. बिहारमा दलित र महादलितको संख्या १६ प्रतिशत छ । चर्चित दलित नेताहरु बीजेपीबाट उठेका छन् । चम्पारण जिल्लामा थारुको संख्या दुईलाखको हाराहारीमा छ । तर, थारुहरुको एकजना पनि उमेद्वार नहुँदा चुनावै बहिस्कार गर्ने सोचाइमा छन् ।

८. बैशाली जिल्लाको राधोपुर विधान सभामा लालु यादवका कान्छा छोरा चुनाव लड्दैछन् । विगतमा रावडी देवीले १५ वर्ष एकछत्र राज गरेको यो ठाउँमा विकासको कुरो गर्ने हो भने कलेज पढ्ने ठाउँसम्म छैन, गण्डक नदी र गंगाको वीचमा रहेको यो टापुमा आवत-जावत गर्ने पुलसम्म बनेको छैन । बिहारी जनता जुनसुकै दलको कार्यशैलीसँग पनि सन्तुष्ट छैनन् । बिहारी नेता चुनाव जितेपछि गाउँको विकासमा ध्यान दिाँदैनन् भन्ने जनतामा व्यापक गुनासो सुनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment