Comments Add Comment

छात्रवृत्ति पाउने मेडिकल कलेजका विद्यार्थीको परीक्षा अन्योलमा

२० असोज, काठमाडाैं । शिक्षा मन्त्रालय र चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को लापरवाहीका कारण त्रिभुवन विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजहरुमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको भविश्य अन्योलमा परेको छ ।
decission-of-IOM
गत वर्ष छात्रवृत्ति पाएर अध्ययनरत विद्यार्थीहरुलाई नियमित परीक्षामा सहभागी हुनबाट बञ्चित गराउन खोजिएको छ ।

एमबीबीएस, बिडिएस, नर्सिङलगायतका विद्यार्थीहरुका लागि शिक्षा मन्त्रालयले गत वर्ष मंसिर २७ गते छात्रवृत्तिका लागि इन्ट्रान्स परीक्षा लिएको थियो । इन्ट्रान्स पास भएर छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरुको विवरण आईओएमलाई मन्त्रालयले माघ महिनामा मात्रै पठाइदिएको थियो । जबकि आईओएमकै नयाँ शैक्षिक सत्र मंसिर पहिलो सातादेखि सुरु हुन्छ ।

अरु कलेजहरुले पनि नयाँ शैक्षिक सत्रको कक्षा मंसिर तेस्रो साता अघि नै सुरु गर्छन् । तर, शिक्षा मन्त्रालयले छात्रवृत्तिका लागि छनोट भएकाहरुको विवरण माघ महिनामा मात्रै पठाइदिएको थियो ।

छात्रवृत्ति पाएर किष्ट कलेजमा माघ १ गतेदेखि अध्ययन सुरु गरेका एक विद्यार्थीले भने, ‘हाम्रो कोर्स त छुट्यो-छुट्यो, हाजिरीसमेत नपुगेको भन्दै परीक्षाबाटै बञ्चित गराउन खोजिएको छ । शिक्षा मन्त्रालयको लापरवाहीको शिकार हामी निर्दोष विद्यार्थीहरु भएका छौं ।’

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजहरुमा स्नातक तहमा अध्ययरत विद्यार्थीहरुको परीक्षा एक महिनापछि सुरु हुँदैछ ।

यसबारे अनलाइनखबरले जिज्ञासा राख्दा शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले एकेडेमिक कुरा आफूहरुलाई थाहा नहुने गैरजिम्मेवार अभिव्यक्ति दिए ।

शिक्षा क्षेत्रको सर्बोच्च निकाय मन्त्रालयलाई शैक्षिक सत्र कहिलेदेखि सुरु हुन्छ भन्ने पनि थाहा हुँदैन र ? भन्ने प्रश्नमा उनले भने, ‘कहाँ के नियम हुन्छ, सबै ज्ञान राखेर सम्भव हुँदैन ।’

यद्यपि आफूहरुबाट कमजोरी भएको स्वीकार गर्दै उनले आइन्दा त्यस्तो नहुने बताए । ‘विद्यार्थीहरुको विवरण ढीलो पठाएर हामीबाट गल्ती भएकै हो,’ उनले अनलाइनखबरसँग भने, ‘पुरानो नियमावलीमा झण्झटिलो र प्रक्रिया लामो थियो, त्यसैले संशोधन गरिसकेका छौं, अबदेखि त्यस्तो हुँदैन ।’

शिक्षा मन्त्रालयले आईओएमलाई गत हप्ता पत्राचार गरेर ती विद्यार्थीहरुलाई सकेसम्म नियमित परीक्षामै सहभागी गराउन अनुरोध गरेको छ । तर, आईओएमले हालसम्म त्यसको जवाफ मन्त्रालयमा पठाएको छैन ।

मन्त्रालयका प्रवक्ता लम्सालले भने, ‘सकेसम्म परीक्षामा सामेल गराइदिनुस् भनेर हामीले अनुरोध मात्र गर्न सक्छौं । त्यसैअनुसार गरिएको छ । तर, जवाफ आएको छैन ।’

तर, आईओएमको विद्या परिषदले ती विद्यार्थीहरुलाई एक महिनापछि सुरु हुन लागेको नियमित परीक्षामा सहभागी नगराई पुनः परीक्षा (सप्लिमेन्ट्री) मा मात्रै सहभागी गराउने निर्णय गरेको छ । निर्णय पुस्तिकाको व्यहोरा सम्वन्धित कलेजहरुलाई पठाएर त्यसैअनुसार गर्न निर्देशन दिइसकेको छ ।

असोज ११ को मितिमा लेखिएको पत्रमा २०७१ पुस ६ गतेभन्दा पछि भर्ना हुन आएका विद्यार्थीहरुको नियमित परीक्षाको फारमसमेत नबुझ्न परीक्षा नियन्त्रण महाशाखालाई भनिएको छ । चलानी नम्बर ५४२ नम्बरको सो पत्रमा निमित्त डीन शरदराज वन्तको हस्ताक्षर छ ।

आईओएममै लफडा

आफूहरुलाई परीक्षाबाट बञ्चित गराउन खोजिएपछि विद्यार्थीहरुले आईओएममा धर्ना दिने र ज्ञापनपत्र बुझाउने लगायतका आन्दोलनका प्रारम्भिक चरणका काम सुरु गरेका छन् । शिक्षा मन्त्रालयको पनि ध्यानाकर्षण गराएका छन् । त्यसबारे रेक्टर र डीनबीच औपचारिक-अनौपचारिक छलफल भए पनि आपसमै मत बाझिएको छ ।

रेक्टरले नियमित परीक्षा सकिएको एक महिनाभित्र छुटेकाहरुका लागि अलग्गै परीक्षा लिनुपर्ने पक्षमा छन्, तर निमित्त डीन वन्तले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

‘रेक्टर सरले रेगुलरको परीक्षाभन्दा एक महिनापछि मात्रै स्पेसल परीक्षा लिन्छौं भन्नुभयो । तर, डीनले मलाई केही थाहा छैन । कोर्स छुटेकाहरुले जुनियरहरुसँगै बसेर पढेर कभर गर्छन् र सप्लीमेन्ट्री परीक्षामा सहभागी हुन्छन् भन्नुहुन्छ,’ एक विद्यार्थीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment