Comments Add Comment

प्रधानमन्त्रीले भने- राष्ट्रिय एकता नहुँदा विदेशीले खेले

Sushil Koirala 5

  • फाइल तस्वीर

२० असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय एकता नहुँदा विदेशीहरुको चलखेल बढेको बताएका छन् । नेपालका राजनीतिक दलहरु एकढिक्का नहुँदा अहिले नाकाबन्दी लगायतका समस्याबाट नेपाल गुज्रिरहनु परेको उनले बताए ।

बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा विद्यार्थी र युवा नेताहरुसँग कुरा गर्दै कोइरालाले भने, ‘हामीबीच राष्ट्रिय एकता नहुँदा विदेशीले खेले । सबै दलहरु एकै ठाउँमा आउनु पर्‍यो ।’

उनले नाकाबन्दीको समस्या समाधानका लागि सरकारको तर्फबाट पहल भैरहेको बताए । तर, त्यो पहल कस्तो हो भनेर उनले स्पष्ट पारेनन् ।

नेविसंघका पूर्वअध्यक्ष गुरु घिमिरे र प्रदीप पौडेल, अनेरास्ववियूका पूर्वअध्यक्ष ठाकुर गैरे र रामकुमारी झाँक्री, अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष देवेन्द्र पराजुली र हिमाल शर्मा तथा क्रान्तिकारीका हालका संयोजक रमेश मल्ललगायतको टोली बालुवाटार पुगेको थियो । टोलीले पाँच बुँदे ज्ञापनपत्र बुझाउँदै नेपालीको स्वाभिमान नगुमाउन र इन्धन आयातको वैकल्पिक उपाय खोज्न गर्न आग्रह गरेको थियो ।

टोलीले जनता स्वाभिमान र अधिकारका लागि लडिरहेकाबेला शीर्ष नेताहरु सत्ताको खेलमा लागेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको मल्लले जानकारी दिए ।

भारतको नाकाबन्दीका कारण जनताले निकै दुःख पाएको भन्दै अन्तराष्ट्रिय मञ्चसम्म कुरा पुर्‍याउन र समस्याको तत्काल समाधान निकाल्न पनि आग्रह गरिएको भेटमा सहभागी अखिल छैठौंका अध्यक्ष अनिलकिशोर घिमिरेले जानकारी दिए ।

‘जनता अधिकार र देशभक्तिका लागि लडिरहेका छन् । तपाईहरु कुर्सिका लागि लड्न थाल्नुभयो,’ प्रधानमन्त्रीको भेटमा आफूहरुले राखेको कुरा अनलाइनखबरलाई जानकारी दिँदै क्रान्तिकारीका अध्यक्ष मल्लले भने, ‘वार्ता र सम्वादबाट मधेसका समस्या तुरुन्त हल गर्नुस् र अन्तराष्ट्रिय मन्चमा गएर भए पनि नाका खुलाउनुस् भन्यौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment