Comments Add Comment

इटहरीबाट प्रचण्डले भने- एमालेमा गइँदैन, एमालेलाई ल्याइन्छ

Prachanda

२० असोज, इटहरी । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेकपा एमालेलाई आफ्नो पार्टीमा ल्याउने बताएका छन् । बुधबार सुनसरीको इटहरीमा कार्यकर्तालाई प्रशिक्षण दिन पुगेका प्रचण्डले एमाओवादी कुनै पनि हालतमा एमालेमा नमिसिने बताए ।

‘कतिपयले अब प्रचण्ड एमालेमा जान खोज्दैछ भन्ने पनि सुनेको छु,’ प्रचण्डले पूर्वाञ्चलस्तरीय कार्यकर्ताहरुको प्रशिक्षणमा भने,’प्रचण्ड महत्वाकांक्षी मान्छे हो भन्ने पनि बुझिराख्नु होला, ऊ लुत्रुक्क परेर कुनै पार्टीमा जाँदैन, एमालेमा गइँदैन, एमालेलाई ल्याइन्छ ।’

एमाले र आफ्नो पार्टीको तुलना गर्दै प्रचण्डले भने-‘यो संघीय गणतन्त्र कसले ल्याएको हो, एमाओवादीले कि एमालेले ? १७ हजारको ज्यान जाने गरी लडाइँ कसले लडेको ? अनि आदिवासी, जनजाति, मधेसी मुश्लिम पिछडिएको समुदायलाई समानुपातिक समावेशी अधिकार कसले दिलाएको हामीले कि एमालेले ? अनि प्रचण्ड एमालेमा जान्छ ?’

किरात, लिम्बुवान र कोचिला राज्यसमितिका कार्यकर्ताहरुको संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले अब एमाओवादी पार्टीलाई एक नम्बर पार्टी बनाएर देखाइदिने दाबी गरे ।

आफू ३५ वर्षको हुँदा एउटा समूहको महासचिव भएको स्मरण गर्दै उनले अब लाजिम्पाट छाडेर दुई वर्षसम्म जनतासँगै बस्ने बताए । ‘अब म दुई वर्ष तपाईहरुसँगै बस्छु, तपाईहरुले मलाई साथ दिनुपर्छ,’ प्रचण्डले भने,’ मलाई अहिले प्रधानमन्त्री, राष्ट्रपति केही पनि चाहिँदैन, अझै म दुईवर्ष उभिने प्रतिज्ञा गरेको छु ।’

डा. बाबुराम भट्टराईले चुनौती दिएको हुनाले पनि पार्टी बनाएर देखाउनुपर्ने प्रचण्डले बताए । ‘बाबुरामजीलाई फर्कनोस् भनेका छौं, तर उहाँ बाध्य नभइकन फर्कनुहुन्न,’ प्रचण्डले कार्यकर्ताहरुको आन्तरिक प्रशिक्षणमा भने-‘पहिले हामी आफू ठीक बनौं, त्यसपछि वैद्यजी पनि आउनुहुन्छ, मणिजी, विप्लवजी सबै आउनुहुन्छ र त्यसपछि बाबुरामजी पनि आउन बाध्य हुनुहुन्छ, त्यसपछि एमालेबाट पनि हाम्रो पार्टीमा आउँछन् । हाम्रो पार्टीलाई अब एक नम्बर बनाई छाड्नेछु ।’

टेन्सन नलिनोस्, केको विचार समूह ?

प्रचण्डले अब विचारका आधारमा पार्टीभित्र कसैलाई पनि भेदभाव नगरिने भन्दै अबदेखि पार्टीमा बाबुराम समुह, प्रचण्ड समूह जस्तो विचार समूहहरु नरहने र कसैलाई पनि भेदभाव नगरिने आश्वासन दिए ।

‘विचार समूह भन्ने हटाइदिनोस्, अब कसैले टेन्सन नलिनुहोला, पार्टीभित्र सबैलाई उचित संरक्षण र उचित मूल्यांकन गरिनेछ,’ प्रचण्डले बाबुराम पक्षका कार्यकर्तालाई थुम्थुम्याउने प्रयास गर्दै भने-‘म लास्ट प्रयत्न गरिरहेको छु, यो वा त्यो गुट हेर्ने छैन, तर यसमा मलाई तपाईहरुको सहयोग चाहिन्छ ।’

उनले अघि भने- अब नयाँ पार्टी बनाऔं । हामीभित्रका विकृति हटाउन तयार होऔं, यसका लागि बाबुरामजीले पनि हामीलाई चुनौती दिएर जानुभएको छ ।’

प्रचण्डले पार्टी परित्याग गरेका डा. बाबुराम भट्टराईले गल्ती गरेको तर, अहिले उनीबारे संयमित भएर बोल्न कार्यकर्तालाई निर्देशन दिए । ‘अहिले बढी उत्तेजित भएर अभिव्यक्ति नदिनुहोला, उहाँले जे भने पनि उहाँ व्यक्ति हो, हामी पार्टी हौं’ प्रचण्डले भने- उहाँले गल्ती गर्नु भो चाँहि भन्नैपर्छ, तर यो भन्दा बढी उहाँलाई नभनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment