Comments Add Comment

दसैँको मुखमा व्यापार नहुँदा बजार सुनसान

२० असोज, काठमाडौं । अघिल्ला वर्षमा दसैँको सुरुवातसँगै निकै भीडका कारण बाटो छिचोल्नसमेत नसकिने भृकुटीमण्डप बजार यतिबेला सुनसान जस्तै बनेको छ ।

दसैँ सुरु हुन ६ दिन बाँकी रहँदा पनि भृकुटीमण्डपको बजारमा कुनै चहलपहल देखिएको छैन । भारतको अघोषित नाकाबन्दी र तराईको ५४ दिनदेखिको बन्दका कारण सामान ढुवानी हुन नसक्दा तथा ग्राहकको कमीले बजारको सो अवस्था भएको व्यापारीहरु बताउँछन् ।

sale market -kings way (10)

विगत १८/२० वर्षदेखि भृकुटीमण्डपमा व्यापार गरिरहेका मोरङका नवराज सापकोटाले भने- ‘नाकाबन्दीका कारण गाडी चल्न सकेको छैन । सामान आउन पनि नसकेको अवस्था छ । यस्तो बेला हामी पसल खोलेर मात्र बसेका छौँ ।’

‘अघिल्ला वर्षमा यो समयमा दैनिक रु ३०/४० हजारको व्यापार हुन्थ्यो तर यो वर्ष रु ८/१० हजारमा चित्त बुझाउनुपरेको छ’ उनले भने । उनको पसलमा नेपाली, चाइनिज, भारतीय र थाइल्यान्डका कपडा बढी छन् ।

मोरङकै अर्का व्यापारी जानुका बस्नेतको समस्या त झन् चर्को छ । बन्द र नाकाबन्दीका कारण सामान सकिँदै जाँदा समस्या त छँदै छ, सार्वजनिक यातायातको कमीका कारण ग्राहक नआउनुले अर्को समस्या थपिएको छ । दैनिक अत्यन्त न्यून आयका साथ पसल खोल्नकै लागि मात्र खोलेर बसेको उनले बताए ।

तीन वर्षदेखि व्यापारमा लागि रहनुभएकी बस्नेतले यो वर्षको जत्तिको कष्टकर दसैँ अरु कुनै बेला पनि आफूले अनुभव नगरेको सुनाए । दिनभरी काम गरेर साँझ खानुपर्ने वर्गमा यसले झन् धेरै समस्या थपिएको उनले बताए ।

झापाकी व्यापारी तारा पोखरेलको भने समस्या अब चुलोसम्म पुगिसकेको छ । हामीले ग्राहक नपाउनुको अर्को कारण ग्यासको अभाव पनि हो । ‘चुलोमा भात नपाके कसरी अरु कुरामा ध्यान जान्छ’ उनले थपिन- ‘पोहोर, परार यसै समयमा दैनिक रु २५ हजारसम्मको व्यापार गरिन्थ्यो । यो वर्ष त रु ५/६ हजारमा नै चित्त बुझाउनुको विकल्प छैन ।’

उहाँको पसलमा भारतीय सामानको व्यापार हुने भएकाले पनि समस्या झन् बढी भएको छ । भूकम्पले दिएको चोट बिर्सन नपाउँदै नाकाबन्दी र बन्दले पारेको असरलाई शब्द व्यक्त गर्नै नसकिने उनको भनाइ थियो ।

झापाकै अर्का व्यापारी रमेश खड्कालाई त ‘स्टक’ सामान नै बिक्री नभएकामा चिन्ता छ । ‘नयाँ सामान हाल्न त पाएकै छैनौँ तर ग्राहक नभएर पुरानो पनि बिक्री गर्न सकिएको छैन । यस्तै अवस्था हो भने कसरी व्यापार गर्नु र खै र’ उनले गुनासो गरे ।

सर्लाहीका व्यापारी उमेश केसीको व्यापार पनि चौपट भएको छ, बन्द र नाकाबन्दीले । उनले भने- ‘मेरा धेरै सामान भारतबाट नै आयात हुन्छ । त्यसैले पनि सामान ल्याउन सकिएको छैन । मेरो पसलमा ग्राहक त छन् तर सामान नयाँ नभएका कारण व्यापार गर्न सकिरहेको छैन ।’

विगत पाँच वर्षदेखि भृकुटीमण्डपमा आफ्नो व्यापारलाई निरन्तरता दिइरहेकी केसीले दसैँताका दैनिक २० हजार रूपैयाँको हाराहारीमा व्यापार गर्ने भएपनि यो वर्ष दैनिक पाँच हजार रूपैयाँको पनि व्यापार गर्न नसकिएको बताए । उनले सरकारले चाँडोभन्दा चाँडो यो समस्यालाई सुल्झाउनुपर्ने माग गरे । यस्तै समस्या राजधानीका अन्य व्यापारिक केन्द्र, ‘सपिङ मल’मा पनि परेको छ ।

अन्जली रम्तेल/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment