Comments Add Comment

सुशीलका नाममा प्रचण्डले सुनाए ‘सरदार’को कथा

२१ असोज, इटहरी । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अचेल पार्टीको प्रशिक्षणमा कथा सुनाउन थालेका छन् । राजधानीमा यसै साता उनले मधेस आन्दोलनबारे छप्ल्याङको कथा हालेका थिए । बुधबार इटहरीमा चाँहि उनले सुशील कोइरालाका बारेमा कथा हाले ।

‘सुशीलले सकेसम्म संविधान नबनाउन खोज्नुभएको थियो,’ प्रचण्डले भने- ‘ तर उहाँलाई धक्का मारियो, अहिले उहाँ युगपुरुष हुनुभो । कांग्रेसको बैठकले वीपीबाट पनि हुन नसकेको काम गरेको भन्दै कोइरालालाई धन्यवाद दियो ।’
तर, आफूहरुले धकेलेरमात्रै सुशील संविधान बनाउने बाटोमा आएको भन्दै प्रचण्डले कार्यकर्ता प्रशिक्षणमा यसरी कथा सुनाए-

Sardar

‘एउटा डुंगामा मानिसहरु कतै गइरहेका रहेछन्, यसैक्रममा एउटा बच्चा पानीभित्र खसेछ । एक जना शिख (सरदारजी) तत्कालै डुंगाबाट झरेछन् र बच्चालाई टिपेर डुंगामा फर्केछन् ।

त्यसपछि सबैजनाले सरदारलाई भनेछन्, तपाईलाई धन्यवाद छ, तपाईले महान काम गर्नु भयो, आफूलाई जोखिममा पारेर भए पनि बच्चाको ज्यान बचाउनुभयो ।

तर, डुंगामा आएको सरदारले रिसाउँदै त्यहाँ रहेका अरु मानिसलाई सोधेछ, ‘मलाई कसले पछाडिबाट पानीमा धकेल्यो ?’
आखिरमा सरदार बच्चालाई बचाउन हाम्फालेको नभई कसैले पछाडिबाट धकेर नदीमा खसाएको पो रहेछ ।’

प्रभण्डले एमाओवादीको बैठकमा भने- ‘सुशील कोइरालाको अवस्था पनि ठ्याक्कै यही हो । हामीले उहाँलाई धक्का मारेकै हो, अहिले उहाँ महान हुनुभएको छ । कथा भनी सकेर प्रचण्ड आफ्ना कार्यकर्तासँग रिसाए- ‘तपाईहरुलाई यो जाँगर छ त ? छैन ।’

संविधान बनाएर ऐतिहासिक भूमिका खेलेकोमा पार्टीका कार्यकर्ता र नेताहरुले आफूलाई बधाइ नदिएकोमा प्रचण्डले यसरी असन्तुष्टि प्रकट गरेका हुन् ।

कांग्रेसको केन्द्रीय समिति बैठकले सुशील कोइरालालाई धन्यवाद दिए पनि आफ्नो पार्टीमा त्यस्तो प्रस्ताव पारित नभएकोमा प्रचण्ड बेखुशी देखिएको प्रशिक्षणमा सहभागी नेता कार्यकर्ताले महसुस गरेको स्रोतले बतायो ।

‘ओलीजीले निहुँ खोज्न सक्नुहुन्थ्यो’

सुशीललाई धकेलेर संविधान बनाएको बताएका प्रचण्डले केप ओलीको विषयमा चाँहि उनको प्रधानमन्त्री बन्ने चाहनालाई बुझेर त्यस्तो आश्वासन दिइएको स्पष्ट पारे ।

‘ओलीजीको चाहना के हो भन्ने हामीले नबुझेको भए संविधान बन्दैनथ्यो,’ प्रचण्डले भने-‘उहाँलाई केही आश्वासन नदिइएको भए उहाँले निहुँ खोजेर संविधान बनाउन दिनुहुन्नथ्यो ।’

देउवा वा नेपाल प्रधानमन्त्री भए पनि आपत्ति छैन

क्षेत्रीय स्तरको प्रशिक्षण कार्यक्रममा प्रचण्डले केपी ओली नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने पक्षमा आफू नरहेको बताए । कांग्रेस र एमाले मिले भने जसलाई प्रधानमन्त्री बनाए पनि स्वीकार्य हुने प्रचण्डले बताए ।

हामीले भनेका छौं, सहमतिबाटै सरकार बनाउनुपर्छ । स्थानीय, प्रदेश र केन्द्रका तीनवटा चुनाव नगर्दासम्म सहमति अनिवार्य छ,’ प्रचण्डले भने,’ तीन दलवीच सहमति हुनुपर्छ, मधेसी र थारुहरुलाई पनि सरकारमा ल्याउनुपर्छ ।’

सरकार गठनका सम्बन्धमा पार्टी कार्यकर्तासँग प्रचण्डले भने-‘प्रधानमन्त्रीको चयन हिजो भएको सहमति अनुसार नै गर्दा ‘टु मच बेटर’, तर कांग्रेस र एमाले मिलेर आउनुहोस्, सुशील भए पनि ठीकै छ, देउवा वा माधव नेपाल जो भए पनि ठीकैछ । मिलेर आउनोस्, हामी दाबी गर्दैनौं ।’

प्रधानमन्त्री र राष्ट्रपतिको अफर आयो

एमाओवादी अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्री र राष्ट्रपति दुबैको प्रस्ताव आएको कार्यकर्तालाई सुनाए ।

‘मलाई प्रधानमन्त्रीको अफर आएको थियो, ठुलै शक्तिले भनेको कुरा हो यो,’ प्रचण्डले कार्यकर्तासँग भने-‘म प्रधानमन्त्री हुन्न भन्दा हिजो झलनाथलाई प्रधानमन्त्री बनाएका बेलामा भन्दा ५० औं गुणा बढी क्षती हुन्छ भनेर धम्की पनि आयो ।’

प्रचण्डले भारतीय गुप्तचर माथुरले गरेको प्रधानमन्त्रीको प्रस्तावतिर संकेत गरेका थिए । तर उनले कुन ‘ठूलो शक्ति’ ले प्रधानमन्त्रीको प्रस्ताव गरेको हो भन्ने कार्यकर्तालाई खुलाएनन् ।

भर्खरै आफूलाई राष्ट्रपति बन्ने प्रस्तावसमेत आएको प्रचण्डले बताए । उनले कार्यकर्तालाई भने- ‘पछि आएर मलाई राष्ट्रपतिको प्रस्ताव आयो, मैले उमेर पनि भएको छैन, मन पनि छैन भनें । मलाई अहिले प्रधानमन्त्री र राष्ट्रपति दुबै चाहिएको छैन, अझै दौडौंला भन्ने छ । दुई वर्ष पार्टी निर्माणमा तपाईहरुसँगै आउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment