Comments Add Comment

दशैं मनाउन घर जान नपाइने चिन्ता !

Dashain Gadi yatra (16)

२१ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं आगामी हप्तादेखि सुरु हुँदैछ । तर, अहिलेसम्म दशैं आएको छनक पाइएको छैन । यतिबेला दशैंका लागि किनमेलमा व्यस्त हुनुपर्ने नेपालीहरु निरास देखिन्छन् ।

भारतीय नाकाबन्दी र मधेसमा जारी आन्दोलनका कारण दशैं नजिकिँदा समेत सर्वसाधारणमा निरासा छाएको हो । भारतले पेट्रोलियम पदार्थ नदिँदा राजधानी लगायत देशभर तेल र ग्याँसको हाहाकार भएको छ ।

दशैंमा राजधानीबाट घर फर्किने यात्रुका लागि एक महिना अगाडि टिकट बुकिङ खुल्थ्यो । यसपटक दशैं आँगनमा आइपुग्दासमेत तेलको अभाव देखाउँदै यातायात व्यवसायीले टिकट बुकिङ खुलाएका छैनन् ।

विगतका दशैंमा सरकारले विभिन्न ठाउँमा दशैं बजार लगाउँथ्यो, महिना दिन अगाडि टिकट बुकिङ खुल्थ्यो । जसले गर्दा दशैं आएको अभास हुन्थ्यो । तर, यस वर्ष नाकाबन्दी र मधेस आन्दोलनका कारण दशैं बजार पनि लागेन, टिकट बुकिङ पनि खुलेन ।

विभिन्न जिल्लाबाट राजधानी आएर बसेका सर्वसाधारणले यस वर्षको दशैं खल्लो हुने बताएका छन् । ‘घर जाउँ गाडी चल्दैनन्, यहीँ बसौं ग्याँस सकिएर दाउरामा पकाउने अवस्था आएको छ,’ अर्घाखाँचीका सुनिल पौडेलले भने, ‘भारतीय नाकाबन्दीले दशैंमा निरासा छायो ।’

भारतले ग्याँस नदिँदा अहिले राजधानीका अधिकांश चुल्हो निभिसकेको छ । होटल तथा रेष्टुरेन्ट ग्याँस अभावमा धमाधम बन्द हुन थालेका छन् । यस्तो बेलामा काठमाडौंमा बस्नुपरे दशैं पीडादायक हुने प्युठानका पदम पोखरेल बताउँछन् ।

दशैंमा भिड लाग्ने राजधानीको असन, इन्द्रचोक, भोटाहिटी, न्यूरोड, दरबारमार्ग, विभिन्न ठाउँका सपिङ कम्प्लेक्स, लगनखेल, कुमारीपाटी, पाटन लगायतका व्यापारीक केन्द्रमा उपभोक्ताको भिड देखिदैन ।

वैशाखमा गएको विनाशकारी भूकम्पले लामो समयदेखि चीनबाट नयाँ सामान आउन पाएको छैन । भारतीय भूमी हुँदै आउन लागेको सामान पनि नाकाबन्दी र मधेस आन्दोलनले रोकिएको छ । जसले गर्दा राजधानीमा नयाँ केही छैन । दशैंलाई नयाँ लुगा लगाउने, मिठो खाने चाडका रुपमा चिनिन्छ । तर, यसपटक ठीक उल्टो हुने भयो ।

विभिन्न जिल्लाबाट काठमाडौंमा आएर बसोबास गरिरहेका पाँच जनालाई अनलाइनखबरकर्मीले सोधे, तपाईले दशैं कसरी मनाउने योजना बनाउनु भएको छ ?

रुकु कोइराला, फोटो व्यवसायी

विगतका वर्षहरुमा महिना दिन अगाडिदेखि नै दशैंको रमझम सुरु भइसक्थ्यो । घर जानका लागि १५ दिन अगाडि नै टिकट काटिसक्थ्यौं । टिकट काटेपछि किनमेल सुरु हुन्थ्यो ।

Ruku-Koiralaतर, यस वर्ष दशैं सुरु हुन हप्ता दिनमात्र बाँकी रहँदासमेत दशैं आएजस्तो लागेको छैन । भारतीय नाकाबन्दी र तराई आन्दोलनले यस वर्षको दशैं खल्लो हुने भएको छ । तेल नभएको भन्दै अहिलेसम्म गाडीको टिकट बुकिङ भएको छैन ।

पोहोर घरमा (दाङ) गएका थियौं । यसवर्ष घर जान नपाइएला जस्तो छ । यहाँ बसेपनि ग्यास लगायतका वस्तुहरुको अभावले दशैं रमाइलोसँग मनाउन नपाइने देखिएको छ । दाउरा बालेर खाना पकाउने अवस्था आइसकेको छ ।

बजार सुनसान भइसकेको छ । दशैंको रौनक पनि देखिदैन । रमाइलो चाड दशैं नरमाइलो र खल्लो हुने भयो । परिवार जम्मा भएर मनाउने चाड एक्लै बसेर मनाउनुपर्ने देखिएको छ । मुलुक संकटमा परेर होला यसपटक दशैंका लागि किनमेल गर्ने रहर पनि छैन ।

हिरा बराल, सरकारी कर्मचारी

यसपाली हामी नेपालीलाई निकै ठूलो चोट परेको छ । किनभने यही वर्ष ठूलो Baral 2भूकम्प गयो । यही कारण नेपाली दशैं मनाउन सक्ने अवस्थामा थिएनन् । त्यहाँमाथि भारतको हेपाहा प्रवृत्तिले गर्दा हामीलाई ठूलो चोट परेको छ ।

त्यसैले यसपटक खर्चरहित आफ्नो परिवारमात्र बसेर दशैं मनाउने योजना छ । पोहोर साल सिन्धुली घरमै गएर दशैं मनाएका थियौं । यसपटक तेलको अभावले त्यो सम्भव होलाजस्तो देखिएको छैन ।

पोहोर साल यतिबेला निकै रमझम थियो, धेरै मानिसहरु हर्षित  मुद्रामा थिए, कतिपय घर जाने दिन गनेर बसिरहेका थिए । किनमेल गर्न मानिसहरु व्यस्त थिए । तर, यसपटक आम नेपाली आर्थिक मन्दी र देशमा परेको चोटका कारण हर्षोउल्लासका साथ दशैं मनाउने मुडमा छैनन् ।

दशैं सुरु हुन हप्ता दिन बाँकी छ, अहिलेसम्म दशैं आउन लागेजस्तो महशुस नै भएको छैन । काठमाडौंमा बसे पनि दशैं रमाइलो हुनेवाला छैन । रोड सुनसान छ, तेल नहुँदा गाडी चलेका छैनन्, पाँच दिनदेखि आफ्नो गाडी चढ्न पाएको छैन । दशैंको छुटि्टमा तेलको अभावले घुम्न जान पनि पाइदैन ।

संगिता राना, होटल व्यवसायी

Sangita Ranaहोटलमा आउनेहरुले दशैं आइसक्यो भन्छन्, तर मलाई भने त्यस्तो पटक्कै लागेको छैन । बन्द हड्तालले यसपटकको दशैं रमाइलो होला जस्तो लागेको छैन ।

पोहोर सालको जस्तो यसपटक दशैंमा रमाइलो पनि गर्न नपाइने भयो । गाडीको अनिश्चित भएपछि विराटनगर जान पनि नसकिने भयो । यही बसे पनि बाइकमा तेल नहुँदा माइती तथा आफन्तकोमा पनि टीका लगाउन जान नसकिने भयो ।

काठमाडौंमा बस्न पनि ग्यासको हाहाकार छ । केमा पकाएर खाने हो । अघिल्ला वर्षहरुमा महिना दिन अगाडिदेखि नै दशैंको रौनक सुरु हुन्थ्यो । यसपटक त किनमेल पनि गरिएको छैन । छोरीलाई कपडा किनिदिनुपर्ला, आफूलाई त किनमेल गर्ने रहर पनि छैन ।

सुरेन्द्र बुढाथोकी, इञ्जिनियरिङ विद्यार्थी

बुवाआमाले सल्यान घरबाट जसरी पनि आउनुपर्छ भन्नु भएको छ । तर, यहाँ अहिलेसम्म टिकट बुकिङ खुलेको छैन । घर त जसरी पनि जानुपर्छ, कसरी जाने भनेर अहिलेसम्म फिक्स भएको छैन ।

Surendra Budhathokiअघिल्ला वर्षहरुमा यतिबेलासम्म टिकट बुकिङ भइसक्थ्यो । टिकट काटिसकेपछि दशैं आएको जस्तो अनुभव हुन्थ्यो । अहिले त दशैं सुरु हुन हप्ता दिनमात्र बाँकी हुँदासम्म टिकट बुकिङको सुरसार छैन ।

भारतीय नाकाबन्दी र मधेस आन्दोलनले दशैं तिहार मनाउन गाउँघर फर्किनेलाई सबैभन्दा ठूलो समस्या परेको छ । तेल नभएपछि गाडी चल्ने नचल्ने अहिलेसम्म स्पष्ट छैन । नाकाबन्दीले हामीजस्ता दशैंमा गाउँ जानेलाई सबैभन्दा निरास बनाइदिने भयो ।

मलाई अझै पनि विश्वास छ, भारतले नाकाबन्दी खोलेर तेल दिनेछ । दशैं मनाउन घर जानेहरु गाडी पाउनेछन् ।

यदि घरमा जान पाइएन भने दशैं रमाइलो हुँदैन । गाडीको फिक्स नभएर होला, अहिलेसम्म किनमेल गर्ने जाँगर पनि आएको छैन । पोहोर महिना दिन अगाडि टिकट बुकिङ गरेर यतिबेलासम्म किनमेल सकिसकेको हुन्थेँ ।

फेरि काठमाडौंमा बस्नका लागि पनि ग्याँसको अभाव छ । अहिले हिटर बालेर खाना पकाइरहेका छौं । अहिले परीक्षा पनि चलिरहेको छ, बसको छतमा बसेर क्याम्पसमा परीक्षा दिन गइरहेको छु ।

विष्णु घिमिरे

Bishnu Ghimireचाडपर्वको सबैभन्दा बढी रमाइलो केटा केटीलाई हुन्छ । यसपटक दशैंमा घर (गुल्मी) जान नपाइने भएपछि बच्चाहरु निरास भएका छन् । दशैं कहिले आउँछ भनेर दिन गनेर बसेका बच्चाहरुमा नराम्रो असर पर्ने भयो ।

भारतीय नाकाबन्दीका कारण तेल अभावले गाडी चल्लान् जस्तो देखिएको छैन । अहिलेसम्म टिकट बुकिङ खुलेको छैन । त्यही भएर अहिलेसम्म किनमेलको सुरसार छैन । यहीँ बस्ने हो भने किन किनमेल गर्नुपर्‍यो भन्ने मानसिकता हुँदो रैछ ।

यहाँ पनि ग्याँस र तेलको अभावले दशैं रमाइलोसँग मनाउन पाइदैन । काठमाडौंमा रहेका आफन्तको घरसम्म पनि टीका थाप्न जान नपाइने भएपछि यस वर्षको दशैं सबैभन्दा खल्लो हुने भयो । अहिलेसम्मको अवस्थाले यसै बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment