Comments Add Comment

गगन वा रवीन्द्रलाई प्रधानमन्त्री बनाउँदा के हुन्छ ?

अनन्तराज लुईंटेल
एमालेका रविन्द्र अधिकारी, घनश्याम भुसाल, योगेश भट्टराई वा अग्नी खरेल वा कांग्रेसका गगन थापा, महेश आचार्य, रमेश लेखकजस्ता व्यक्ति प्रधानमन्त्री बनाएर शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा सुशील कोइरालाहरु सल्लाहकारको भूमिकामा रहने एउटा प्रयोग गर्ने हो भने मुलुक परिवर्तनको पथमा लम्कन सक्दथ्यो सायद ।

Ananta-Luitelमुलुकको प्रमुख कार्यकारीको कुर्सीमा चाँडै नै नयाँ व्यक्तिको आरोहण हुँदैछ । राष्ट्रपति डा. रामवरण यादवले दिएको प्रधानमन्त्री चयनको समयसीमा नजिकिँदै गएको र राजनीतिक पार्टीहरुमा समेत सो विषयको आन्तरिक तयारी भइरहेकाले केही दिनमै मुलुकले नयाँ प्रधानमन्त्री पाउनेछ ।

अरु कुनै तिकडमबाजी नभए गत संविधानसभाको निर्वाचनमा पाएको मतका आधारमा बनेको दोश्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको आगामी प्रधानमन्त्री बन्नेछन् । राजनीतिक दलहरुबीच संविधान सभाद्वारा संविधान जारी गर्ने र त्यसकोलगत्तै सत्ता समीकरणसमेत परिवर्तन गर्ने विषयमा भएको राजनीतिक सहमतिमा एमाले अध्यक्ष ओलीको सत्तारोहण सुनिश्चित प्रायः छ । र, बन्दै गएको राजनीतिक वातावरणले ओलीको पदारोहणलाई थप सुनिश्चित बनाउँदै लगेको छ ।

चर्चामा रहेका नामहरुमध्ये वर्तमान प्रधानमन्त्री सुशील कोइराला, नेताहरु रामचन्द्र पौडेल, शेरबहादुर देउवा वा अरु धेरै नामहरुमध्ये अहिले ओली नै सर्वसाधारण जनताको चनासो विषय पनि बनेका छन् । संविधान जारी गर्न उनले खेलेको भूमिका र संकट हालैका दिनमा उनमा देखिएको राष्ट्रवादी उभारका कारण जनता उनीमाथि आशातीत छन् ।

राजनीतिक पुस्तागत वरिष्ठता र पार्टीगत पोर्टफोलियोका आधारमा ओलीको सत्तारोहण स्वाभाविक हो र उनलाई दिइने यो अवसर मुलुकका लागि एउटा अर्को राजनीतिक प्रयोग पनि हुनेछ ।  सफल गृहमन्त्रीको अनुभव संहालेका ओलीको प्रधानमन्त्रीय भूमिका मुलुकका लागि एउटा अर्काे प्रयोग हुनेछ । र, यसले फेरि पनि एउटा शिक्षा दिनेछ उमेर, वरिष्ठता वा कुनै एउटा काममा सफलता पाएकै भरमा सबै भूमिकामा एउटै व्यक्तिको सफलता सम्भव छ कि छैन भनेर ।

तत्कालीन सफल अर्थमन्त्री मानिएका डा.बाबुराम भट्टराईको प्रधानमन्त्रीय काल सोचेजति सफल हुन सकेन भने ओलीको अवस्था कस्तो होला र उनी मुलुकका वर्तमान समस्यासँग जुध्न सक्लान् भन्ने विषयमा उनको पदारोहण अर्काे प्रयोग हुनेछ मुलुकका लागि ।

संविधानसभाबाट जारी भएको संविधानको कार्यान्वयनको गाह्रो अवस्था र छिमेकी राष्ट्रहरुसँगको अप्ठ्यारो सम्बन्धलाई समेत चिरेर अघि बढ्नुपर्ने भएका ले जोसुकै व्यक्ति त्यो पदमा आए पनि सफलता सोचेजत्तिको अवश्य सजिलो छैन । इन्धनको हाहाकार जसरी सडकमा छरपस्टिएको छ, सुशासनको विषय पनि त्यत्तिकै कहालीलाग्दो छ । हरेक दिन सयौंको संख्यामा खाडी राष्ट्रतिर रोजगारीमा भौतारिरहेको युवाको बेरोजगारीको समस्या अर्काे ठूलो चुनौति हो, तर यी सबैलाई चिर्न सक्ने हिम्मत भएको व्यक्ति अहिले मुलुकले खोजिरहेको छ ।

त्यसैले यस आलेखमा चर्चा गर्न खोजिएको विषय मुलुकको शासन सत्ता संचालनको अभिभारा सधैं थकित पुराना पुस्तामै सीमित गर्ने या युवा पुस्तामा हस्तान्तरण गर्दै जाने भन्ने विषयमा केन्द्रीत छ ।

आगामी प्रधानमन्त्रीका समस्या

हाम्रो मुलुकमा केही स्थायी समस्याहरु छन् । जुनसुकै पार्टी वा जुनसुकै व्यक्तिको नेतृत्वमा सरकार बने पनि ती समस्याहरुकै सम्बोधनको अपेक्षा जनताले गरेका हुन्छन् । त्यसैले त ती समस्याहरुको समाधान गर्न नसक्दा अथवा तिनका बारेमा ध्यान नपुर्‍याउँदा सबै प्रधानमन्त्रीहरु बिदा हुने बेलासम्ममा लगभग अलोकपि्रय भइसकेका हुन्छन् । त्यसका दुईवटा कारण हुन सक्छन् । पहिलो जनतामा नेताहरुप्रतिको अपेक्षा बढी भएर पनि त्यसो भइरहेको हुन सक्छ भने दोश्रो  कारण नेताहरुले निर्वाचनमा जाँदा जहिले पनि फल्स प्रामिस अर्थात् पूरा गर्नै नसकिने आश्वासन बाँडेका कारण त्यसो भइरहेको छ ।

युवालाई नेतृत्व दिँदा गर्नै सक्दैनन् भन्ने होइन किनभने विकसित मुलुकहरुले पनि त्यो कुरा प्रमाणित गरिसकेका छन् । बेलायतका पछिल्लो कालका युवा प्रधानमन्त्री डेभिड क्यामरुन आफ्नो पद सम्हाल्दा मात्रै ४३ वर्षका थिए

ती स्थायी समस्याहरुमा सबैभन्दा ठूलो बरोजगारी, सुशासन र जनतालाई राज्यले दिनुपर्ने सेवामा भएको अनियमितता नै हो । विकास तथा शान्ति सुरक्षाको विषय वास्तवमा न राज्यले दिन सकेको छ न त जनताले नै आशा गरेका छन् । चौबीस घण्टा बिजुली दिन नसक्ने राज्यसँग जनताले अरु के कुराको आशा गरेको होला अनुमान गर्न सकिन्छ ।

सामान्य भन्दा पनि सामान्य समस्यालाई चिर्ने नेतृत्व अहिलेसम्म देखिएको छैन भने ठूला आश्वासन बाँड्नुको खासै अर्थ रहला । नेताहरुले आफ्नो क्षेत्रका जनतालाई जागिर दिन्छु वा गाउँमा पानी र बत्ती ल्याइदिन्छु भनेर राजनीति गरेकाले जनताको अपेक्षा उनीहरुमा बढिरहेको हो । तर, उनीहरु जब संसदमा जितेर आउँछन् र आफूले दिएको आश्वासन पूरा नभएको पाउँछन्, नेताहरु आफैं पनि निराश भएको पाइन्छ किनभने सरकारसँग भएको साधन श्रोतको अभाव र अरु धेरै बाध्यताले ती सबै सम्भव विषय पनि होइनन् ।

नेताहरुले वास्तविक धरातलको राजनीति नगरेसम्म उनीहरुप्रति जनताको आशा मर्दै जाने निश्चित छ । भएका उद्योग धन्दा सबै बन्द छन्, एउटा नयाँ खोल्न सकिएको छैन । तर, पनि जागिर दिन्छु भन्ने आश्वासनको राजनीति गर्नुपर्दा उनीहरु बेइमान ठहरिएका छन् ।

ययार्थवादी राजनीति नगर्ने र युवाहरुलाई राष्ट्रिय विकासमा लगाउने बाटो नपहिल्याउने हो भने जोसुकै प्रधानमन्त्री बने पनि र जुनसुकै पार्टीको सरकार बने पनि सामान्यतया युवा पुस्ता, गरिब बर्ग र काम गर्नुपर्ने बर्गलाई केही फरक पर्दैन । नयाँ प्रधानमन्त्रीले सोच्नैपर्ने विषय युवालाई कसरी रोजगार दिन सकिन्छ र जनताका दिनदिनै भोगेका समस्या कसरी सामान्यीकरण गर्न सकिन्छ भन्ने मात्रै सोच्ने हो भने मुलुकका आधा समस्या समाधान हुन्छन् । अरु धेरै आशा जनताले गरेका पनि छैनन् ।

सधैं बुढा पुराना

मुलुकमा संविधान सभाबाट संविधान जारी गर्दा वृद्ध तथा स्वास्थ समस्याले गलित सुशील कोइरालाले लामो समय प्रधानमन्त्री पद सम्हाल्नुभएको छ । सकारात्मक पक्ष त के भने उहाँको वृद्ध शरीर र स्वास्थले समेत कुनै पनि महत्वपूर्ण काम रोकिदिएन । अनुमान गर्न सकिन्छ, उहाँलाई परेको धपेडी । उहाँको ठाउँमा अर्काे हट्टाकट्टा व्यक्ति प्रधानमन्त्री भएको भए कतिपय काम सायदै योभन्दा धेरै अघि मेलो सर्न पनि सक्दथ्यो ।

स्वाभाविक हो आराम गर्नुपर्ने उमेरको व्यक्ति मुलुकका समस्याहरुको समाधानका लागि भन्दा पनि आफ्नै समस्याबाट बढी पिरोलिनुपर्ने पनि हुन सक्छ । कोइरालाले देशको विकासका लागिभन्दा पनि आराम गर्नमै समय दिनु उमेर र स्वास्थ सबै हिसाबले अस्वाभाविक मान्न मिल्दैन ।

यसअघिका धेरै प्रधानमन्त्री उमेरका हिसाबले आराम गर्नुपर्ने अवस्थाका थिए र उनीहरुले देशको सेवामा जनताले चाहेको जस्तो खट्न खकेनन् । हाम्रो मुलुकको आधुनिक इतिहास हेर्ने हो भने प्रधानमन्त्रीको पदमा प्रायः बुढा र पुराना अनुहारहरु नै देखिन्छन् । ०४६ सालमा भएको प्रजातन्त्रको पुनस्र्थापनापछिका सबैजसो सरकार प्रमुखहरु  उमेरले डाँडो काटेका र सामान्यतया आराम गर्नुपर्ने अवस्थाका व्यक्तिहरुले नै त्यो जिम्मेवारी बहन गरेको पाइन्छ ।

तत्कालीन प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराईहरु जस्ता हस्तीहरुले प्रधानमन्त्रीको भूमिका निर्वाह गर्दा अवश्य प्रधानमन्त्री पदकै गरीमा बढेको थियो । तर, पनि  कतिपयको अवस्था पटक-पटक उपचार गराउन मित्रराष्ट्रको भ्रमण गर्नुपर्ने वा आराम गर्नमै उनीहरुको धेरै समय बितेको थियो ।

यसको मतलव पनि के हो भने कोही आफ्नो काम गर्नै नसक्ने वा आराम गर्नुपर्ने अवस्थामा छ भने आफू मातहतको कामको अनुगमन कति सम्भव होला । हाम्रोजस्तो २४ सै घण्टा मेहनत गरेर देशलाई माथि उकास्नुपर्ने मुलुकका प्रधानमन्त्रीहरुले आफ्नै स्वास्थका लागि समय गुजार्नुपर्ने अवस्थामा जनताका समस्या समाधानका लागि कति आशा गर्न सकिएला ?

स्वर्गीय गिरीजाप्रसाद कोइरालाले ०६३ को आन्दोलन लगत्तै खेलेको भूमिका जति प्रशंसा गरे पनि कमै हुन्छ । तर, वृद्ध गिरिजाप्रसाद कोइरालाको ठाँउमा हट्टाकट्टा गिरिजाप्रसाद कोइरालाले सो भूमिका निर्वाह गर्न पाएका भए सायद खर्चिएको समयभन्दा धेरै पहिल्यै नै सफलता हात लाग्थ्यो ।

उमेरले पार्ने फरक

उमेरले राजनीतिमा केही फरक पार्दैन, त्यसैले उमेरको बखेडा झिक्नुको कुनै अर्थ छैन भन्ने धेरैलाई लाग्न सक्छ । र, त्यो कुरा अस्वाभाविक पनि नहोला । तर, कामचलाउ हिसाबले हाम्रो मुलुकमा धेरै कुरा लिइने गरिएको छ । हरेक कुरालाई स्वाभाविक मान्ने चलन छ । तर, एउटा सानो कामले देश र जनताको जीवनमा धेरै फरक पारिराखेको हुन सक्छ । एउटा सानो कामको संवेदनशीलता कति हुन्छ भन्ने कुराको उदाहरण दिनु उपयुक्त हुन्छ ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई प्रधानमन्त्री हुन्जेल मुस्ताङ म्याक्स चढ्दा उनको मन्त्रिमण्डलका कतिपय मन्त्री र कर्मचारीलाई करोड पर्ने गाडीहरु चढ्न असहज लागेको उनीहरु बताउँथे । प्रधानमन्त्री बिहान नौ बजे नै कार्यालय पुग्ने र अहोरात्र खट्न थाल्ने  झिनामसिना काममा नअल्मलने हो भने उनी मातहतका धेरैलाई सकारात्मक बाटो अबलम्बन गर्न नैतिक दबाब हुनसक्छ ।

युवालाई कसरी रोजगार दिन सकिन्छ र जनताका दिनदिनै भोगेका समस्या कसरी सामान्यीकरण गर्न सकिन्छ भन्ने मात्रै सोच्ने हो भने मुलुकका आधा समस्या समाधान हुन्छन् । अरु धेरै आशा जनताले गरेका पनि छैनन्

हाम्रोजस्तो अप्ठ्यारोमा परेको मुलुकको प्रधानमन्त्रीले त झन रात दिन भनेर काम गर्नुपर्ने, कुनै व्यक्तिले छलकपट पो गर्दैछ कि वा कसैलाई प्रत्यक्ष निगरानी पो गर्नुपर्ने हो कि भन्नेलगायतका कुराहरुमा ध्यान दिने हो भने मुलुकलाई कायापलट गर्न असम्भव छैन र त्यस्तो कामको सुरुवात नेतृत्वबाटै सुरु हुनुपर्छ । अझ कुनै मेला वा कुनै गोष्ठीको उद्घाटनको जिम्मेवारी पूर्वप्रधानमन्त्रीहरुलाई छाडिदिएर आफू योजना बनाउने काममा लाग्ने र भएभरको श्रोत र साधनको प्रयोगमा समय दिने हो भने विकासको गति अघि बढ्नै नसक्ने होइन ।

युवाले सक्दैनन् भन्ने होइन

युवालाई नेतृत्व दिँदा गर्नै सक्दैनन् भन्ने होइन किनभने विकसित मुलुकहरुले पनि त्यो कुरा प्रमाणित गरिसकेका छन् । बेलायतका पछिल्लो कालका युवा प्रधानमन्त्री डेभिड क्यामरुन आफ्नो पद सम्हाल्दा मात्रै ४३ वर्षका थिए । सन् २०१० मा भएको चुनावमा कन्जरभेटिव पार्टीको तर्फबाट उम्मेदबार भएका उनले चुनावमा सफलता हासिल गरेपछि प्रधानमन्त्री बन्ने मौका पाएका हुन् ।

संभवतः इतिहासमा सबैभन्दा कम उमेरका प्रधानमन्त्री चुन्ने मुलुक पनि बेलायत नै हुनुपर्छ । सन् १७८४ मा भएको आम चुनावमा विलियम पिट दि योर प्रधानमन्त्री भएको इतिहासमा पाइन्छ । उनी प्रधानमन्त्रीमा चुनिँदा मात्रै २५ वर्षका थिए । यस्तो कुरा तयारीले भन्दा पनि संयोगले भएको मान्नुपर्छ । त्यसैले बेलायतमै १८९२ मा सबैभन्दा बृद्ध उमेरमा विलियम इवार्ट ग्लाडस्टोन प्रधानमन्त्री बनेका थिए र पद सम्हाल्दा उनको उमेर ८२ वर्षको थियो ।

सबैभन्दा शक्तिशाली मुलुक मानिएको अमेरिकामा समेत युवा नेताहरु पटक-पटक सत्तामा पुगेका छन् ।  अमेरिकाका वर्तमान राष्ट्रपति बाराक ओवामाले पद सम्हाल्दा मात्रै ४७ बर्षका थिए । दोश्रो कार्यकाल समेत पूरा गर्न लागको उनले कार्यालयलाई कति समय दिए र कति तनाव व्यहोरे भन्नेखालका चर्चा मिडियामा बेलाबखत सुन्न पाइन्छ ।

फुल्न थालेको कपाल र गालामा चाउरी देखिन थालेको चर्चाले उनले कार्यालयमा कति समय दिए होलान् भन्ने अनुमानलाई संकेत गरिहेको हुन्छ ।

युवा उमेरमै पद सम्हालेको व्यक्ति भएकाले यी कुराको चर्चा उनले गरेको मेहनतको परिचर्चा मान्न सकिन्छ । यसअघि पनि अमेरिकामा जर्ज बुस ५४ बर्षको उमेरमा राष्ट्रपति बनेका थिए भने विल क्लिन्टन ४७ बर्षका मात्रै थिए सबैभन्दा शक्तिशाली मुलुकको सर्वाेच्च पद सम्हाल्दा । ४४ औं राष्ट्रपति बनाउँदासम्म अमेरिकाका राष्ट्रपतिहरुमध्ये धेरैजसोको उमेर ५० भन्दा कमको थियो जसमध्ये जोन एफ केनेडी ४३ बर्षका थिए भने थियोडोर रुजबेल्ट ४२ बर्षका मात्रै थिए ।

हाम्रै अभ्यास

युवा उमेरमै हाम्रो मुलुकको प्रधानमन्त्री बन्ने श्रेय सूर्यबहादुर थापालाई जान्छ । सूर्यबहादुर थापा पञ्चायतकालमा पहिलो पटक प्रधानमन्त्री छँदा चालिसे उमेरका थिए । पटक पटक गरेर निकै लामो समय प्रधानमन्त्री भएका थापा विषयवस्तुको मनन गर्ने र रातभरि रातभरि समेत फाइलहरु अध्ययन गर्ने र मातहत अधिकारीहरुसँग छलफल गर्ने व्यक्तिमा पर्दथे । उनको बानीलाई पूर्वप्रशासकहरुले मुक्तकण्ठले प्रसंसा गरिसकेका छन् ।

थापाले अंगालेको विचारधाराको विषय फरक छलफलको विषय होला, तर यहाँ उनको मेहनती शैलीको मात्रै चर्चा गर्न खोजिएको हो । त्यही मेहनतका कारण तानाशाही पञ्चायती व्यवस्था  समेत ३० वर्षसम्म धकेलिएको थियो । त्यसका पछाडि सूर्यबहादुरहरुको परिश्रम र मेहनत परेको थियो ।

थापाकै समकालीन उमेरका पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्याय ३९ बर्षकै उमेरमा सर्वाेच्च अदालतको न्यायाधीश बनेका थिए र उनले लगभग २६ वर्ष सर्वाेच्च अदालतमा सेवा गरे । अध्ययनशील छवि र काममा भिज्ने मान्छे भएकाले उनले जुन ठाँउमा बसेर काम गरेर देखाएका थिए त्यो अमिटजस्तै बनेर बसेको छ । आफैं मेहनती व्यक्ति भएकोले विश्वनाथका अघिल्तिर सितिमिति मेहनत गर्नेहरु टिक्न सक्दैनथे भनिन्छ ।

विसं. ०४७ सालको संविधान निर्माण गरेको श्रेय पाएका उनले बनाएको संविधान डेढ दशकभन्दा लामो समय टिक्न त सकेन तर उनले गरेका कैयौं कामहरु अहिले पनि अमीट छन् न्यायालयमा । तर, यी सबै मेहनत गर्ने उमेरमा पाएको जिम्मेवारीका कारण नै भएको थियो ।

र, अन्त्यमा

हाम्रो मुलुकको राजनीतिक परिपाटी यस्तो बन्यो कि प्रधानमन्त्री या मन्त्रीका लागि योग्यता र क्षमता भन्दा पनि उसले कति भोटो फटाएको छ या निणर्ायक अधिकार भएका नेताको कत्तिको पि्रयपात्र छ भन्ने आधारमा पदासीन गराउने प्रचलन छ ।

वृद्ध उमेरका कारण आराम गर्नुपर्ने र औषधी सेवन अनिवार्य भएका व्यक्तिहरुलाई पदमा लैजान पाए सरकारी पैसाले उपचार गराउँछ भन्ने मानसिकताका आधारमा समेत कतिपय निर्णयहरु भएका छन् । उपचार गर्न सजिलो हुन्छ भनेर राजदूत बनाउने हाम्रो जस्तो मानसिकताले देशको विकासको कल्पना असंभव छ । कुनै व्यक्तिले दिएको योगदानको कदर उसलाई राज्यले निशुल्क उपचारमार्फत चुक्ता नगर्ने हो भने हामी योभन्दा राम्रो अवस्थामा कहिल्यै पनि पुग्ने छैनौं ।

एमालेकै रविन्द्र अधिकारी, घनश्याम भुसाल, योगेश भट्टराई वा अग्नी खरेल नेपाली कांग्रेसका गगन थापा, महेश आचार्य, रमेश लेखक जस्ता व्यक्ति प्रधानमन्त्री र शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा सुशील कोइरालाहरु सल्लाहकारको भूमिकामा रहेर एउटा प्रयोग गर्ने हो भने मुलुक परिवर्तनको पथमा लम्कन सक्दथ्यो सायद ।

ओलीका लागि वास्तवमा ढीला भइसकेको छ प्रधानमन्त्रीको पद ।  गृहमन्त्रीका रुपमा भूमिका निर्वाह गर्दा जुन हिसाबले काम गरेका थिए, सायदै उनका लागि त्यस्तो अवस्था अहिले संभव होला । आजभन्दा २१ वर्षअघि नौ महिने एमाले सरकारका गृहमन्त्री ओलीको उमेर पनि एक्काइस बर्षले नै कान्छो थियो । त्यसैले उनी कत्ति खट्न सक्दथे त्यो स्पष्टै छ त्यसैले हेरौं, अबका प्रधानमन्त्रीले के दिन सक्छन् मुलुकलाई उपहार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment