Comments Add Comment

नकाबन्दीपछि काठमाडौंमा कति तेल आयो ?

Bhairahawa-Naka

२१ असोज, काठमाडौं । नेपालमा जारी भएको नयाँ संविधानलाई लिएर असन्तुष्ट भारतले अघोषित रुपमा नाकाबन्दी लगाएको १६ दिनमा भएको छ ।

यस अवधिमा भारतले कुनैदिन केही पेट्रोलियम ट्यांकर छोड्ने गरेको छ भने कहिले एउटै नछोडेर नेपालको आपूर्ति प्रणालीलाई चुनौति दिइरहेको छ ।

त्यसअघि नै मधेसमा लगातार चलिरहेको आन्दोलन र बन्दका कारण इन्धन आपूर्ति सहज थिएन । भारतले नै नाकाबन्दी लगाएपछि अहिले काठमाडौंसहित देशभर इन्धनको हाहाकार जस्तै भएको छ ।

उसो भए भारतको नाकाबन्दीको बिचमा कति इन्धन थपियो त नेपाल आयल निगमको थानकोट डिपोमा ?

१६ दिनको बीचमा काठमाडौंको थानकोट डिपोको भण्डारमा ४ हजार ४ सय किलोलिटर डिजेल-पेट्रोल थपिएको छ । जसमा २ हजार ८४ किलोलिटर पेट्रोल छ भने २ हजार ४ सय किलो लिटर डिजेल छ ।

भारतीय नाकाबाट बल्तल्ल नेपाल प्रवेश पाएका मध्ये धेरै पेट्रोलियम ट्यांकरले क्षेत्रीय डिपोहरुमा नै तेल खन्याउने गरेका छन् ।

निगमका एक अधिकारीले स्थानीय क्षेत्रमा पनि तेलको अभाव भएकाले सबै तेल काठमाडौं ल्याउन नसकिने बताए । ‘स्थानीय स्तरमा रहेको मौज्दातलाई हेरेर केही ट्यांकर मात्रै काठमाडौं आउँछन् । धेरैजसोले क्षेत्रीय डिपोमै तेल खन्याउँछन्’ उनले भने-‘तर, काठमाडौंमा तेल ल्याउने कुरा हाम्रो प्राथमिकता छ । स्थानीय क्षेत्रमा न्युनतम तेल राखेर काठमाडौंमा तेल ल्याउने काम भइरहेको छ ।’

निगमको थानको डिपोमा नाकाबन्दीपछि आएको पेट्रोलले समान्य अवस्थामा ७ दिनको माग धान्छ भने डिजेलले ५ दिनको माग थेग्छ ।

तर, आयल निगमले पेट्रोल दैनिक मागको १० देखि १५ प्रतिशत र डिजेल ३० प्रतिशत मात्रै तेल अहिले बजारमा पठाइरहेको छ ।

जसका कारण भण्डारमा थपिएका तेलले निगमलाई केही राहत दिएको छ । निगमले अहिले कोटा प्रणालीमा सार्वजनिक यातायानत र अत्यावश्यक समान ढुवानी गर्ने सवारीलाई मात्र तेल दिइरहेको छ ।

निगमले बिहीबार थानकोट डिपोबाट ४४ किलोलिटर पेट्रोल र १६६ किलोलिटर डिजेल वितरण गरेको छ । समान्य अवस्थामा निगमले काठमाडौं उपत्यकामा दैनिक ३ सय किलोलिटर पेट्रोल र ४ सय ५० किलोलिटर डिजेल बिक्री गर्ने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment