Comments Add Comment

ओलीलाई समर्थन माग्दै दलहरुलाई एमालेले चारबुँदे पत्र

फाइल तस्वीर

२१ असोज, काठमाडौं । नेकपा एमालेले प्रमुख तीन दललाई चारबुँदे पत्र बुझाउँदै पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्न आग्रह गरेको छ ।

एमाले नेताहरु बिहीबार राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेटेर भोट माग्न सुरु गरेका थिए । त्यसपछि कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालालाई भेटेको एमाले जम्बो टोली साँझ एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा पुगेको थियो ।

एमाले नेताहरुले ठूला तीन पार्टीका नेताहरुलाई चारबुँदे पत्र बुझाएका छन् । एमाले सचिव प्रदिप ज्ञवालीले अनलाइनखबरसँग भने-सरकार गठनमा सहयोग गर्न आग्रह गर्दै हामीले लिखित पत्र नै बुझाएका छौं ।’

उनका अनुसार पत्रको पहिलो बुँदामा नयाँ संविधान निर्माणका लागि बधाइ दिइएको छ । दोस्रो बुँदामा अकाको चार मिसन रहेको उल्लेख गरिएको छ, जसमा संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा, भूकम्पपछिको पूनःनिर्माण र आर्थिक सम्वृद्धि छन् ।

एमालेले कांग्रेसलाई भने दुई दलबीच भएको सातबुँदे सहमति र १६ बुँदे समझदारी गर्दाको भद्र सहमति स्मरण गराएको छ ।

प्रधानमन्त्री कोइरालाले पार्टी केन्द्रीय समितिको बैठकबाट उठेर ओलीलाई भेटेका थिए । भेट निकै छोटो थियो । एमाले सचिव ज्ञवालीले भने-‘उहाँले मैले भन्नु कुरा हिजै भनेको छु । मिलेर जानुपर्छ भन्ने मान्यता हो भन्नु भएको छ ।’

एमालेको पत्र बुझाएका प्रचण्डले भने ओलीलाई सकारात्मक जवाफ दिएका छन् ।

यसअघि नै संविधान बनेपछि एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने भद्र सहमति भएको बताउँदै आएका प्रचण्डले त्यही दोहोर्‍याएका थिए । ज्ञवालीले भने-कांग्रेस दायाबाँया नगरे हुन्थ्यो भन्नु भयो । सबै दलको सकार बनाउन प्रयास गर्नुपर्छ भन्नु भएको छ ।’

कांग्रेसले नमाने बहुमतबाट अघि बढ्नु पर्ने भन्दै उनले समर्थनको संकेत दिएका छन् । यद्यपि प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले भने यसबारे स्थायी समितिको बैठकले निर्णय गर्ने बताएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment