Comments Add Comment

१५ दिने ग्लोबल टेन्डरः समस्या सुल्झाउला कि बल्झाउला ?

चिरञ्जीवी पौडल/टिप्पणी

२२ असोज, काठमाडौं । भारतीय राजदूतले हवाईजहाजबाट तेल ल्याउन नेपालका आपूर्तिमन्त्रीलाई ‘सुझाव’ दिएको भोलिपल्ट आयल निगमले तेलको अस्थायी आपूर्तिका लागि ग्लोवल टेन्डर आह्वान गरेको छ । चीनबाट तेल आयातको पहल गर्न चौतर्फी दबाव बढिरहेका बेला सरकारले ‘१५ दिनसम्म तेल आयात गर्न’ मागेको टेन्डरले के समस्या समाधान गर्ला त ?

Nepal-Oil

कम्तिमा आयल निगमले विकल्पको खोजी गरेको भनेर जनता आशावादी भए पनि ग्लोबल टेन्डरको विषयमा यस्ता प्रश्नहरु उठेका छन् :

१. आयल निगमको सूचनामै भनिएको छ, ‘आपूर्ति व्यवस्थालाई केही हदसम्म सहज बनाउन’ । अर्थात् यसबाट आपूर्ति पूर्ण सहज हुन सक्दैन भन्ने आयल निगमलाई थाहा छ ।

सूचनामा ‘१५ दिनसम्मका लागि’ आपूर्ति गर्न भनिएको छ । १५ दिनपछि फेरि भारतकै शरण पर्ने सोच प्रष्ट झल्किन्छ । अर्काेतिर केवल १५ दिनका लागि तेल ओसार्न गतिलो कम्पनी तयार होला त ?

३. नेपाललाई तत्कालै, आजको भोलि इन्धन चाहिएको छ । तर, ग्लोबल टेन्डरमा गइसकेपछि आजको भोलि हुँदैन ।

तीन दिनभित्र भनेजस्तो कम्पनीको प्रस्ताव आउला भन्ने ग्यारेन्टी छैन । यस्तो अवस्थामा तीन-तीन पटकसम्म टेन्डर आह्वान गर्नुपर्ने हुनसक्छ । केवल १५ दिनका लागि आपूर्ति गर्ने प्रस्तावमा गतिलो कम्पनीले आँखा लगाउला कि नलगाउला ?

४. ग्लोबल टेन्डर भनिसकेपछि भारतीय कम्पनीले भाग लिन सक्छन् । जमीनको बाटोबाट तत्काल नेपालमा तेल ल्याउन कतैबाट सम्भव छैन । बंगलादेशबाट ल्याउन पनि भारतले बाटो दिनेछैन । हवाइ जहाजबाट ल्याउँदा सबैभन्दा सस्तो पर्ने भनेको भारतबाटै हो । यस हिसाबले भारतीय कम्पनीले टेन्डर भरे भने सबैभन्दा सस्तोलाई दिने नियमका आधारमा भारतीय कम्पनीले नै टेन्डर हात पार्ने सम्भावना प्रबल हुन्छ । यस हिसाबले कतै भारतीय राजदूतले हाम्रा मन्त्रीलाई दिएको सुझावको घुमाउरो कार्यान्वयन त हुँदै छैन ?

५. कम्पनी छनोट गर्दा विवाद उब्जिन सक्ने पर्याप्त सम्भावनाहरु छन् । सरकारको नीतिका आधारमा जसले सस्तो दरभाउ गर्छ उसैलाई दिनुपर्छ । सस्तो दरभाउ गर्नेको क्षमता कमजोर हुन सक्छ । भनेको समयमा भनेको परिमाणमा तेल ल्याउन सक्ने पूर्वाधार उसित नहुन सक्छ ।

६.चीनबाट तेल ल्याउन चौतर्फी दबाव परिरहेका बेला सो दबावलाई टेण्डर आह्वानमार्फत मत्थर पार्ने चेष्टा गरिएको त होइन ?

आशंकाहरु अतिरञ्जित लाग्न सक्छन्, तर फजुल होइनन् । अर्थशाष्त्री विश्वम्भर प्याकुरेलको राय यस्तो छ, ‘ग्लोबल टेन्डरमा जानुको सकारात्मक पक्ष के हो भने आयल निगमले तेलमा भारतको एकाधिकारलाई अस्वीकार गरेको छ । तर यसले समस्याको समाधान गर्छ भन्नेमा म कत्ति पनि विश्वस्त छैन । टेन्डर प्रक्रियाबाट नेपालले चाहेजस्तो तुरुन्तै तेल आउँदैन । कानूनी हिसाबबाट खरीद ऐन संसोधन नगरेसम्म फास्ट ट्रयाकबाट जान सकिन्न । यसको प्रक्रियामा धेरै विवादहरु निस्कन सक्छन् । कम्पनी छनोटमा अख्तियारले प्रश्न उठाउन सक्छ । यस्तोबेला तेल आपूर्तिको दीर्घकालिन विकल्प नसोचेर सरकारले नपुंशकता देखाइरहेको छ ।’

नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्षसित सोधियो, ग्लोबर टेन्डरबाट कति आशावादी हुनुहुन्छ ? उनी भन्छन्, ‘सरकारले विकल्प खोजेको राम्रो हो । तर, यसबाट समस्या समाधान होला भन्ने विश्वास छैन ।

दीर्घकालीन विकल्प चीन

दीर्घकालीन हिसाबले हेर्दा तेल आपूर्तिका लागि भारतको एकमात्र विकल्प चीन हो । तर, बाहिर जति चर्चा भए पनि चीनबाट तेल ल्याउन सरकारी स्तरबाट पहल शून्य छ ।

नेपाल र चीनका दुई नाका खुलिसके पनि सरकारले त्यतातिर कत्ति पनि ध्यान नदिनु आश्चर्यको कुरा हो । हो, बाटोको खराबीले गर्दा तत्कालै ठूला ट्यांकरमा भने जति परिमाणमा तेल ल्याउन नसकिएला । तर यदी दिर्घकालिन सम्झौता गर्ने हो भने चीनले बाटो आफैं बनाइदिन्छ भनेर बेइजिङमा रहेका नेपाली राजदूत नै भनिरहेका छन् । १९ दिनमा ५७ तल्ले विल्डिङ बनाउने चीनले चीनले जोड गर्‍यो भने बाटो बनाउन सिगात्सेदेखि मितेरी पुलसम्मको बाटो बनाउन कति दिन लगाउला ? त्यतिञ्जेल अल्पकालिन रुपमा खर्चिलो भए पनि सानो गाडीमा ल्याउने वा हवाई जहाजमै ल्याउने विकल्पमा जान सकिन्छ ।

अर्थशास्त्री प्याकुरेल भन्छन्, ‘अहिले हाम्रो सरकारको सम्पूर्ण जोडतोड तातोपानीको बाटो बनाएर चीनबाट तेल ल्याउन केन्द्रित हुनुपथ्र्यो । तर, अझै पनि नेताहरु डराइरहेका छन्, भारत रिसाउला भनेर । रिसाएर अब के गर्न बाँकी छ ? योभन्दा लाचार सरकारको उदाहरण विश्वमा सायदै कहीँ भेटिएला ।’

चीनबाट तत्कालै आयात गर्नका लागि ठूला कन्टेनरमा खासासम्म ल्याएर त्यहाँबाट साना गाडीमा ल्याउन सकिने उनको सुझाव छ । प्याकुरेल भन्छन्, ‘अहिलेको हकमा मेनल्याण्डबाट ल्हासासम्म तेलको पाइलाइन आइसकेको छ । ल्हासाबाट ल्याउन उनीहरुको सहयोग माग्नुपर्छ । पहाडबाट टनेल बनाएर नेपालसम्म रेल जोडिदिन सक्छौं भन्ने चीनले नेपाललाई यति सहयोग नगर्ने प्रश्नै आउँदैन ।’

चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीको विचारमा पनि चीनबाट तेल आयात गर्न सम्भव छ । उनी भन्छन्, ‘चीनबाट तेल ल्याउन नसकिने भन्ने प्रश्नै आउँदैन । खाली राज्यले तदारुकताका साथ चिनियाँ पक्षसित दीर्घकालीन प्रस्ताव राख्नुपर्‍यो र पूर्वाधार निर्माणका लागि आग्रह गर्नुपर्‍यो ।’ सधैंभरि भारतको भर गरेर बस्दा भोलिका दिनमा पटक-पटक यस्ता समस्या बल्झिने उनको भनाइ छ ।

मन्त्री भन्छन्ः भारतबाट ७० ट्याङ्कर आयो

नेपालमा अब तेल कहिले कसरी भित्रिन्छ त भन्ने प्रश्नमा आपूर्ति मन्त्री सुनीलकुमार थापा यसरी टक्टकिन्छन्- ‘सबै अधिकार आयल निगमलाई दिएको छ, तीनदिनपछि मात्रै परिणाम थाहा हुन्छ,’ उनले बुधबार मात्रै ७० ट्याङ्कर तेल भारतीय नाकाबाट भित्रिएको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment