Comments Add Comment

बालकोट पुगेर साना १३ दलले ओलीलाई दिए समर्थन

KP Oli

२२ असोज, काठमाडौं । व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने १३ साना दल तथा एक स्वतन्त्र सभासदले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने एमालेको प्रस्तावमा समर्थन जनाएका छन् ।

ओली निवास बालकोटमा भएको संयुक्त बैठकमा स्वतन्त्र सभासद अतहर कमाल मुसलमानसहित १३ दलका नेताहरुले ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने बताएका हुन् ।

ओलीलाई संसदमा प्रतिनिधित्व गर्ने साना सबै बामपन्थी दलसहित १२ सीट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि औपचारिक समर्थन जनाएको छ ।

बालकोट बैठकमा समर्थन जनाउन पुग्नेमा नेकपा माले, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल र जनमुक्ति पार्टी लोकतान्त्रिक रहेका छन् । ती मध्ये मालेको ५ सीट, संयुक्त र जनमोर्चाको ३ सीट तथा अन्य दलको दुई सीट छ ।

त्यस्तै एक सीट रहेका दलहरुमध्ये नेपाली जनता दल, नेपा राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय पार्टी, मधेश समता पार्टी, दलित जनजाति पार्टी, बहुजनशक्ति पार्टीले ओलीलाई समर्थन जनाएका छन् ।

बिभिन्न कारणले बैठकमा उपस्थित नभएका अखण्ड नेपाल पार्टी, जनजागरण पार्टी र स्वतन्त्र सभासद चन्द्रेश्वर झाले ओलीलाई प्रधानमत्री बनाउन सघाउने प्रतिबद्धता जनाइसकेको ओलीका स्वकीय सचिव रमेश आचार्यले बताए ।

नेपाल मजदूर किसाट पार्टीले यसअघिनै ओलीलाई प्रधानमन्त्री बनाउनुपर्ने बताइसकको छ । नेमकिपाको टोलीसँग ओलीको आजै १ बजे बालकोटमा वार्ता हुँदैछ ।

एमालेले ओलीको नेतृत्वको सरकारलाई राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, मधेश समाजवादी पार्टी र संघीय सद्भावना पार्टीले पनि ओलीलाई सघाउने दावी गरेको छ ।

एमाओवादीले सघाउने निर्णय गरिसकेको अवस्थामा ओलीलाई प्रधानमन्त्री बन्न व्यवस्थापिका संसदमा बहुमत पुग्ने निश्चित भएको छ । राष्ट्रपतिले आजै बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चुन्न संसदलाई पत्र पठाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment