Comments Add Comment

‘भारतको अघोषित नाकाबन्दी र काठमाडौंको म’

micro (1)

महेश आचार्य

धन्य भगवान !

‘दाइ भोली न्वारन छ जसरी पनि आउनुपर्‍यो है ।’ साँझ अर्जुन ज्वाईको फोन आयो । पेट्रोल आतंकले थिल्थिलो भएको मन अमिलो भएर आयो । नजाउ भने आफैले अन्माएकी बहिनीको मन कसरी बुझ्ला, जाउँ भने बाइकमा पेट्रोल छैन, न गाडी पाइन्छ । अकमक्क पर्दै भएपनि हुन्छ’ भन्नै पर्‍यो । ज्वाई आर्मीका लेफि्टनेन्ट भएकोले पेट्रोलको लागि मैले धेरैपटक फोन गरेको थिएँ । उपाय ननिस्केको हुनाले पेट्रोलको मामिलामा उनी चुप थिए ।

बिहान उठे । …..ओ हो अस्पताल जानुपर्ने । डाक्टरलाई दुइ दिन अगाडी समय लिएको थिएँ । न्वारनमा जानुपर्ने अनि अफिस जानुपर्ने । जे होस भनेर बाइक लिएर निस्किँए । गठ्ठाघरमा डाक्टरको क्लिनिकमा रगत जाँच गर्न दिएपछि नजिकको पम्पले पेट्रोल दिदैँ गरेको थाहा भयो । लाइन बस्न गएको त २० मिनेट बाइकमा कुद्दा पनि बाइकको लाइनको अन्त्य भेटिन ।

दाइ लाइन बस्नुभएको कति समय भयो भनेको त हिजैदेखि लाइन बसेको रे । त्यसपछि भएको तेल पनि सकिने र पेट्रोल पनि नपाइने भएपछि त्यसै फर्के र लागे बालकोट बहिनीकोमा । तेल रिजर्भमा लागेको २ दिन भइ सकेको थियो ।

२-३ लिटर तेल त थियो तर छिमेकी कोठाको रमेश कुँवरले एक रात १० बजेतिर एकजना मान्छे लिएर आएछन् । बाटैमा पेट्रोल सकिएर अभर परेको । सर बाइकमा कति तेल छ ? वहाँ अभर पर्नुभएछ मेरो टयाक्सि नयाँ भएकोले तेल निकाल्न मिलेन’ भने । जे त होस भनेर १ लिटर तेल निकालेर दिएँ । पर्दैन भन्दा भन्दै ति अभर परेका मान्छे १ सय रुपैयाँको नोट मेरो गोजिमा कोचिदिएर हिँडे ।

दुइ महिना अगाडी त्यस्तै भएको थियो । राति ११ बजे कोटेश्वरमा बनेपाका एकजना मान्छे पेट्रेाल सकिएर बाइक ठेल्दै रहेछन । आफन्त दुर्घटनामा परेर अस्पताल कुदा-कुद गर्दा गर्दै रातिको ११ बजेछ । रिजर्भमा रहेको पेट्रोल सकिएको पत्तै पाएनछन् । उनलाई कोटेश्वर प्रहरी प्रभागमा एउटा सानो पाइप मागेर बनेपा पुग्ने गरी दुई लिटर पेट्रोल दिएको थिएँ ।

बालकोट बहिनीको बाट हिड्ने बेला भयो । अब बाइक ठेलेरै घर पुग्नु पर्ने भयो भन्ने सोच्दै विदा माँगे । ज्वाइसाप हुनुहुन्थेन । हिडनै लाग्दा आधा लिटर पेट्रोल लिएर आउनु भएछ । लौ दाई मेरो वाइक बरु घरमै बसोस । भर्खरै अप्रेसन गरेकी श्रीमती र पाँच दिनको नानीलाई जतिवेला पनि अस्पताल लानुपर्ने हुन्थ्यो । तर पनि उहाँले सहयोग गर्नुभयो ।
Mahesh-with-Petrol
सहयोग गरेको एउटा तस्बिर लिएर त्यहाँबाट हिँडे । बाटोमा सोचेँ आधारातमा अभर परेको मान्छेलाई सहयोग गरेकै कारण आज मैले सहयोग पाएँछु । धन्य भगवान ।

तेल सकियो सहयोग गर्न पाइएन

…कक्षामा पढाउदै थिएँ । गीतकार साथी बिपिन किरणको फाने आयो ‘सर कता ?’ बिपिन जी कक्षामा छु । कतिवेला सकिन्छ ? २० मिनेट जति लाग्छ बिपिन जी । लौ २० मिनेट पछि फोन गर्छु है म, अभर परेँ सहयोग गनुपर्‍यो । विपिनजी ले त्यतिकै फोन गर्नुहुन्न । केही नसोधी हुन्छ भने । २० मिनेट पछि फोन आयो ….सर मेरो मर्किएको खुट्टा बल्झियो मलाई डाक्टरले ३ बजे चावहिलको हेल्पिङ्ग हेण्ड अस्पताल बोलाएका छन । ट्याक्सी गाडी केहि पाइदैन त्यहि भएर हजुरलाई संम्झेको बाइकमा एक लिटर जति तेल थियो बिपिन जीलाई लिन जादै गर्दा बाटैमा रिजर्भ लाग्यो ।

उहाँलाई लिएर अस्पताल गए । समयमै पुगेकाले डाक्टर पनि खुशि । विपिन जीलाई पुतलीसडक छोडेर पढाउन फेरी चावहिल फर्के । पढाइ सकेर फेरी विपिनजीलाई घर पुर्‍याउन फर्के । बाटोमा विपिनजीले भन्नुभयो – महेश सर एकजना सशस्त्रका डिआईजी सापले २-४ लिटर पेट्रोल दिन्छु भनेका छन बाइक पेट्रोल पम्प सम्म पुग्ने गरी राख्नु है म हजुरलाई भोलि फोन गर्छु । विहान २-४ पटक फोन चेक गरे मिस कल वा म्यासेज आयो कि भनेर । तर आएन । मैले कुरा बुझेँ पेट्रोलमा डिआइजी सापको पनि जोर चलेन । साँझ विपिनजीको फोन आयो ‘सर केही गर्दा सकिन डिआईजी सापले माफ माग्दै फोन गर्नुभयो । तर पनि केही उपाय लाग्छ कि म साथीहरुलाई भन्छु है । तपाइको वाइकमा तेल हाल्न पाए सर्वप्रथम त म आफै फिजियो थेरापी गर्न नियमित अस्पताल जान पाउँथे ।’ तेल पाइएन । विपिनजीलाई नियमित अस्पताल लगेर सहयोग गर्न नपाएकोमा थकथकी लागी रह्यो । ठिकै छ विपिनजी म पनि प्रयास गरौला भनेर फोन राखिदिँए ।

ठगी यातायात

‘कोटेश्वर सम्म मात्र ।’ बसको सहचालकले चावहिलमा भने । इरिक भालिको क्याराभानका चौरी झै हामी बसमा झुत्तियौ । बस लचक-लचक गर्न थाल्यो । सहचालकले हामीलाई रेडियोमा ब्याट्री मिलाएझै राख्यो । बसभित्र जति नै मान्छे छतमा पनि राखे । सहचालकले मिलाउन बाँकी रहेका यात्रुहरुलाई गुरुजीको ब्रेकले मित्रपार्क नपुग्दै मिलायो ।

मान्छेहरुको पसिनाको गन्धको तितो अनुभव लिएर कोटेश्वर आइयो । सबै यात्रु झरे । बस छेउ लाग्यो । अर्को बस कुर्न बसेको त त्यहि बस पाँच मिनेट पछि पेप्सिकोला सम्म भन्दै यात्रु बोलाउन थाल्यो । उही रितले मान्छेहरु रेडियोमा हालेका ब्याटि्रहरु जस्तै मिलेर पेप्सिकोलासम्म आए । उसले फेरी बस खाली गर्‍यो । ५ मिनेट कुर्‍यो । बस भर्‍यो र भक्तपुर तिर गयो । बस हिडेपछि १३ रुपैयाँ पर्ने रुटमा उसले हामीलाई ३० रुपैया लिइसकेको थियो भने अझ धेरै तिरेर बस फेर्दै यात्रा गर्न बाध्य बनाइएकाहरु कति कति थिए ।

यमलोक यातायात

‘पेप्सिकोला-पेप्सिकोला’…चक्रपथमा माइक्रो भेटियो । आहा…!! खाली सिट । फुत्त पस्न खोजेको सहचालक भाइले तानिहाले । कहाँ दाइ तपाई भित्र छिर्नुभएको ? भित्र त ‘लेडिज र बुढाबुढी मात्र ।’ ‘अनि हामी चाँही ?’ मैले सोधे । ‘दाइ…MC’ उसले भन्यो । मैले कुरा बुझिन । भनेको के हो भाइ ? फेरी सोधे । ‘MC भनेको Monkey Climbing हो दाइ’ । उसको कोड भाषा सुनेपछि सबै यात्रु हाँसे । भित्र पट्टि तिनले पनि सिन्की खाँदेझै यात्रु कोचे । ढोकामा झुण्डिने पालो, पुरुषहरुको । बल्ल बल्ल टेक्न भ्याएको सहचालक चिच्याइहाले ‘कहाँ दुइ वटै खुट्टा टेक्नुभएको दाइले ? हामी चै टेक्नु पर्दैन ? सबैले एक एक खुट्टा टेक्यौ । फेरी उनले कराए एक हात मात्र समात्नुस् है सबैलाई ठाउँ पुग्दैन ।’ लु जा ! अब एक हात ले समाएर एउटा खुट्टा मात्र टेकेपछि Monkey Climbing यातायात भैहाल्यो । जडीबुटी पुग्दा भित्रबाट कसैले हुत्तिने गरी ठेल्यो । ढोकामा भएका हामी सबै झण्डै एकैछाक भइयो । कुरा बुझ्दा ति महिलाले माइक्रोभित्र निसास्सिएर टाउको बाहिर निकालेकी रहिछिन । सहचालकले गाडी रोके । ड्राइभरलाई हतौडा मागेर जाम भएको झ्यालका सिसा ठोकेर सारिदिए । भित्रका यात्रुले अब झ्यालबाट टाउको निकाल्न पाए । अब MC यातायात भेडाबाख्रा यातायात भयो ।

सलाम अममणी

साँझको समय एक घन्टा गाडी कुर्दा पनि चाबहिलमा चढ्न सकिने कुनै गाडी पाइएन । त्यसपछी जे होस भनेर वीरेन्द्र सैनिक स्कुलको बा १ ग २२४६ को बस राेकेँ । बस सहजै रोकियो र चढ्न पाइयो । भारतले नाकाबन्दी गरेपछी पहिलोपल्ट कुनै सार्बजनिक गाडीको सीटमा बसेर यात्रा गर्न पाउँदा मन गुलाब भयो । एयरपोर्ट पछाडिको आर्मी बेसक्याम्पमा राखिने त्यो बसका चालक दोलखाका अममणि सिवाकोटीले बाटोभरी अलपत्र परेका सबै यात्रुको उद्धार गरे ।

Ammani

अलपत्र यात्रुहरु लिएर आउदैगर्दा विपरीत दिशाबाट आएको एक स्कुटर एक्कासी पल्टियो । त्यो स्कुटर पल्टिसक्दा हामिले राम्रोसँग देख्न पनि नपाउदै तिनै अममणि कतिबेला बस रोकेर स्कुटर चालक लाई उठाउन भ्याइसकेका रहेछन ।

हामी त हेरेको हेर्यै भयौ । उद्धार गरिएका सबै यात्रुहरुको आत्मिय धन्यबाद र पुन्य कामले कमाएको मनभरिको सन्तुष्टि लिएर आर्मी बेस क्याम्प को गेटभित्र छिरे अममणि, रित्तो बस लिएर । हामी अममणि प्रति कृतज्ञ हुँदै घर लाग्यौ । हामी अलपत्र यात्रुहरुको तर्फबाट मनभरिको नमन अममणि ।

फूल ट्याङकी तेल

‘ए हजुर कहाँसम्म?’ लिफ्ट माग्न बानी नै परिसकियो । प्रायः निजी सवारीहरुले केटीहरुलाई मात्र लिफ्ट दिन्छन् ।
एक दिन बाइकमा लिफ्ट पाइयो । तेल फुल ट्याङकी । ‘हैन, निजी सवारीलाई तेल दिदैन भनेको होइन ? अनि कसरी तपाईकोमा फूल ट्याङकी ? त्यसपछि उनले भने दाइ मेरो घर जनकपुर हो । बाइकमै आउने-जाने गर्छु । पर्सि घर जानुछ । पेट्रोल बाँडेको ठाँउमा लाइन बस्यो भने प्राइभेटलाई पनि दिदारहेछन् । मैले तीन पटक एक रात एक दिन बसेर फुल ट्याङकी बनाएको ।

तिनको कुरा सुन्दा आफु हुस्सु रहेछु भन्ने कुरा पहिलो पटक भान भयो ।

धन्यबाद शिव जी

एक दिन पहिलो बाइक रोक्ने बित्तिकै लिफट पाइयो । बाइक चाललकले माक्स लगाएकोले आफनै साथी हो भन्ने थाहा भएन् । अलि पर पुगेपछि । चालकले भने ‘गीतकारलाई गायकले त लिफ्ट दिनै पर्‍यो नि ।’ अनि मैले सोधेँ तपाई चै ?’  ‘म गाएक शिव परियार, मैले माक्स लगाएकोले तपाइले चिन्नु भएन् । ‘। मैले चिनेर रोके ।

त्यो दिन शिव जी ले अफिस छेउसम्मै पुराइदिएपछि आहतमा राहात मिल्यो ।

साइकल कथा
एक साझ अफिसले बनेपा लाने भयो । गाडीमा चढ्नैलाग्दा पत्रकारमित्र सिरोमणि दवाडी आइपुग्नुभयो, साइकलमा । आहा ! साइकल । कुदाउन पाइने भो भनकोेे त पत्रकार मित्रले १२ घण्टालाई साइकलको जिम्मै लगाउनु भो । साइकल आफ्नैमा बास बस्यो ।

Mahesh-at-Cycle
भोलिपल्ट बिहान मनिङवाकको सट्टा साइकल यात्रा भयो । उकालोमा गियर बदल्न नजान्दा साइकलको चेन फुस्यो । केहि गर्दा निकाल्न सकिएन । चेन बनाउने प्रयास गर्दा हात मुखमा कालो पोतिएर हनुमानको रुप धारण भयो । बाटोको एउटा घरमा हसिँया मागेर साइकल बनाएपछि बिहानको अफिसपनि साइकलमै सवार हुने मौका मिल्यो ।

बिहानको ९.३० बजे साइकल धनीलाई साइकल जिम्मा लगाएर भनेँ र् झोलामा एउटा पेचकस पनि बोक्नुस् है नत्र साइकलको आधी पार्टपुर्जा बाटोमै खसेर बेलुकी मुडुलो साइकलमात्र घर आइपुग्ला ।’ दवाडी सर हाँस्दै वाटो लाग्नु भयो ।

म भने अफिस जानको लागि  यमलोक यात्रा’ खोज्न तर्फ लागे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment