Comments Add Comment

केपीलाई विश्वेश्वराको सुझाव : खोलो तरेर लौरो नबिर्सनू

Kp-oli_650

चिरञ्जीवी पौडेल

२४ असोज, काठमाडौं । सुखानीका सहिद रामनाथ दाहालकी पत्नी हुन् झापाकी विशेश्वरा दाहाल । नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीको रामनाथसित गहिरो निकटता थियो । बाल्यकालमा ओलीले रामनाथकै घरमा लामो समय बिताए । विश्वेश्वराले त्यसताका ओलीलाई भात पकाएर खुवाइन् ।

विशेश्वरा एक मुखियाकी छोरी थिइन् । विहेपछि मात्रै राजनीति बुझ्न थालेकी उनको ओलीसित लामो समय राजनीतिक संगत रह्यो । ०५६ सालमा एमालेबाट राष्ट्रिय सभा सदस्य भएकी विशेश्वरा अहिले पनि एमालेको सक्रिय राजनीतिमै छिन् । प्रधानमन्त्री ओलीसितका आफ्ना स्मृतिहरु दाहालले यसरी सुनाइन् :

लिखुरे ज्यान, तीखो बोली

मेरो ०२५ सालमा रामनाथ दाहालसित बिहे हुँदा केपी ओली हाम्रै घरमा हुनुहुन्थ्यो । सुरु-सुरुमा त मैले कस्तो छुच्चो केटो रैछ भन्ने सोचेँ । तर, बिस्तारै उहाँका स्वभावहरु मन पर्न थाले । ओलीको घरको नामचाहिँ धु्रव थियो क्यारे, हामी उहाँलाई खड्ग भनेर बोलाउथ्यौं ।

‘मेरा श्रीमान केपी ओलीभन्दा पनि लुते हुनुहुन्थ्यो । केपीप्रति मेरा श्रीमानको ठूलो विश्वास थियो । उहाँ भन्नुहुन्थ्यो, ‘छोराछोरीले खाने दूधबाट काटेर केपीलाई खान दिनु, यसलाई बलियो बनायो भने जनताका लागि काम गर्छ ।’

लिखुरे ज्यान र तिख्खर बोली भएका ओली असाध्य चतुरो हुनुहुन्थ्यो । मान्छे मार्न उहाँलाई हतियार चाहिँदैनथ्यो, गफैले मार्ने । मेरा श्रीमानले उहाँलाई औधि माया गर्नहुन्थ्यो । पढ्नलाई भनेर हाम्रो घरमा बसे पनि मेरा श्रीमानसँगै उहाँ राजनीतिमा होमिइसक्नुभएको थियो ।

घैलाडुब्बामा रहेको विद्यालयमा पढ्नुहुन्थ्यो उहाँ । दिउँसो स्कुल जानुहुन्थ्यो, राति राजनीतिक बैठक र भेटघाटहरु हुन्थे । मेरो परिवारको जग्गाजमिन प्रशस्तै थियो । मेरा ससुरा राणाको सुवेदार हुनुहुँदोरहेछ । त्यतिबेला ६ पैसाको जागिर खाएर उहाँले झापामा थुप्रै जग्गाजमीन जोड्नुभएको थियो । हाम्रो घरमा १५-१६ जना हरुवा-चरुवा नै थिए ।

बिहानभरि सिरकमा गुटुमुटु

खड्ग ओली गफ चुट्न माहिर भए पनि काम गर्नचाहिँ खासै जाँगरिलो होइन । हाम्रो घरमा बस्दा बिहान अबेरसम्म सिरकमा गुट्मुटिएर सुत्नुहुन्थ्यो । म बिहान उठाउन पस्दा सिरकभित्रै गीत गाएर बसिरहनुभएको हुन्थ्यो ।

‘आमा गाजले, बाबु मादले, छोराछोरी भन्ट्याङ भुन्टुङ देन लातले’ भन्ने गीत हो कि के हो, भट्याउनुहुन्थ्यो । म केटाकेटी हेरिदिनुस है भन्दै मेरा साना छोराहरु उहाँको कोठामा छाडेर पकाउन जान्थँे । त्यसपछि बल्ल उठ्नुहुन्थ्यो ।

पढाइमा उहाँको त्यति ध्यान थिएन । स्कुलका किताबभन्दा राजनीतिका किताब धेरै पढ्नुहुन्थ्यो । १० कक्षामा पढ्दा बुर्जुवा शिक्षा बहिस्कार भन्दै हिँड्नुभयो । स्कुलमा हुने हाजिरी जवाफ, बादविवाद जस्ता कार्यक्रममा चाहिँ उहाँ सँधै अगाडि हुनुहुन्थ्यो । पार्टी संगठनका काममा पनि मेरा श्रीमानले संधै उहाँलाई अघि सार्नुहुन्थ्यो ।

प्रधानपञ्चलाई पिटेर मरणासन्न

यो ०२७ सालको कुरा हो । रामनाथजी समातिनुभो । त्यसबेलाको गाउँ पञ्चायतले ओलीलाई पनि देशद्रोही ठहर गरेर कि जेलमा सडाउने कि सिध्याउने निर्णय लिएको थियो । गाउँका सामन्तीहरु पनि रामनाथजीसँगै ओलीलाई पनि सिध्याउनुपर्छ भन्ने पक्षमा थिए ।

हाम्रो घरमा एउटा घन्सी बुढो भन्ने थियो, भैंसी चराउने । गाउँभरि चियोचर्चो गरेर गोप्य खबरहरु ल्याउन हामीले उसलाई जिम्मा दिएका थियौं । रामनाथजीलाई जेल हालेपछि केपीलाई टार्गेट गरेको कुरा उनै बूढा मान्छेले खबर ल्याए ।

झापा क्रान्तिका सहयोद्धाहरुसँग जन्मदिन मनाउँदै
झापा क्रान्तिका सहयोद्धाहरुसँग जन्मदिन मनाउँदै

केपीको कानमा पनि यो कुरा पर्‍यो । त्यही झोंकमा उहाँले मेरा भतिजाहरु र अरु केही साथीहरु जम्मा गरेर प्रधानपञ्चलाई ठोक्ने योजना बनाउनुभएछ । नभन्दै एक दिन बाटो ढुकेर प्रधानपञ्चलाई मरणासन्न हुने गरी कुटेछन् । मर्‍यो भनेर नालीमा फालिदिएछन् ।  घर आएर मलाई उहाँहरुले प्रधानपञ्चलाई सिध्यायौं भन्नुभयो । मलाई डर लाग्यो । अब पुलिस आउँछ, तपाईंहरु खाना खाएर भागिहाल्नुस् भनेर मैले सबैलाई खाना दिएँ । उहाँले खाना नखाएर दही मात्रै खानुभयो र हिँड्नुभयो ।

नभन्दै उहाँहरु भागेको १५ मिनेटपछि नै घरमा प्रहरी आयो । उहाँहरुले पिटेर फालेका प्रधानपञ्चलाई गाउँको कसैले उद्दार गरेर बचाएछ । बौरिएपछि उनले प्रहरीसित आफूलाई पिट्नेहरु यी यी हुन् भनेर बोलेछन् । त्यतिबेला घरमा आएको प्रहरीले उहाँलाई भेटेको भए सिध्याउँथ्यो । तर, नभेटेर फर्किए ।

त्यसको केही समयपछि केपी ओलीलाई प्रहरीले मारेर तमोर खोलामा फालिदिए भन्ने हल्ला फैलियो । हामी सबैले अदालतमा ज्यानमुद्दा हाल्ने तयारी गर्‍यौं । (केपी राजनीतिका क्रममा पहाडको घर तेह्रथुमको आठराई पनि जान्थे, जहाँ तमोर नदी तरेर जानुपर्थ्यो ।)

यता किसानहरुले लगातार नाराजुलुस गरेर दबाव दिएपछि रामनाथजीलाई प्रहरीले छोड्यो । उहाँलाई स्वागत गर्न घरमा धेरै मान्छे जम्मा भएका थिए । सबैलाई खानपिन गराएर बिदा दिएपछि मैले केपीका बारेमा सुनिएको हल्ला उहाँलाई सुनाएँ । उहाँ गम्भीर हुनुभयो । त्यसपछि खाना पनि नखाइकन उहाँ ‘गाउँतिर बुझेर आउँछु’ भनेर निस्किनुभयो ।

राति दुई बजेतिर उहाँ घरमा फर्किनुभो । म ढोका लगाएर सुतिरहेकी थिएँ, उहाँले तीनपटक ढोका ढकढक पार्नुभयो । त्यतिबेला तीनपटक ढोका ढकढक पारेपछि मात्रै खोल्ने हाम्रो नीति थियो ।  फर्किदा उहाँको अनुहार उज्यालो थियो । ढोकामा चुकुल लगाएर उहाँले मसित भन्नुभयो, ‘मरेको छैन, ढुक्क भए हुन्छ, मुद्दा-सुद्दा नगरौं ।’ राति दुई बजे उहाँले खाना खानुभयो ।

तमोरमा हाम्फालेर बाँचे

विशेश्वरा दाहाल
विशेश्वरा दाहाल

त्यतिबेला शेरबहादुर इङ्नाम संसद थिए । उनको नेतृत्वमा प्रहरीसहितको टोलीले केपी ओली र उहाँका साथीहरुलाई लखेट्दै ढुंगा हान्दै तमोर खोलामा पुर्‍याएछन् । धेरै जनालाई घेरेर समातेछन् । तर, केपी ओली कसरी कसरी फुत्किनुभएछ । तमोर खोलामा हाम्फालेर बाँचे भन्ने सूचना रामनाथजीले ल्याउनुभयो ।

तमोरमा हाम्फालेपछि उहाँलाई माझीहरुले भेटाएर तीन महिनासम्म उपचार गरेर बचाए भन्ने पनि हल्ला चल्यो । पछि मैले केपीलाई हाम्फाल्नुभएकै हो त भनेर सोध्दा ‘त्यस्तै त्यस्तै हो’ भन्नुभयो, खुलेर बोल्नुभएन । बरु ठट्टा गर्दै भन्नुभयो, ‘ढुंगा हान्नेहरुले भाग्ने मान्छेभन्दा अगाडि पो ताकेर हान्नुपर्छ । भाग्ने मान्छेलाई ताकेर हान्दा त ढुंगा आइपुग्दासम्म मान्छे पर पुगिसकेको हुन्छ नि । तिनीहरुको यति बुद्धि पनि रहेनछ ।’

यसरी ०२७ सालमा घरबाट भागेका केपी ०२९ साल मंसिरको २८ गते बेलुका आउनुभो । राति उहाँहरु दुईजना ठूलो आवाजमा रेडियो बजाएर बसिरहनुभएका बेलामा म चिया लिएर गएँ । ‘यसरी ढुक्कले रेडियो सुनेर हुन्छ ? सरकारले टाउकोको मूल्य तोकेको भन्ने सुनिन्छ,’ मैले भनेँ ।

मैले आफूले देखेको सपना पनि सुनाएँ । अघिल्लो रात मैले सपना देखेकी थिएँ, सपनामा म इनारबाट घैंटोमा पानी भरेर फर्किन लाग्दा घैंटो फुटेर पानी पोखियो । म सपनामा विश्वास गर्थें । किनकि, यस अगाडि मेरा छोराको मृत्यु हुँदा यस्तै नराम्रो सपना देखेकी थिएँ । मैले मुला उखलेको सपना देखेको भोलिपल्ट छोरो खसेको थियो ।

मैले सपनाको कुरा गर्दा उहाँहरु हाँस्नुभयो । ‘ठीक छ, तपाईंले घैंटो फुटेको सपना देख्नुभयो, तर मैले त घैंटो बोकेर हिँडेको छैन नि,’ भन्दै ओलीले उडाउनुभयो ।

त्यो रात मेरा श्रीमानलाई पनि ऐठन भयो । उहाँले झन नराम्रो सपना देख्नुभएछ । जंगलमा डढेलो लागेको र आफू बीचमा परेको सपना देख्दा निस्सासिएर उहाँलाई ऐठन भयो । उहाँ अत्तालिएर उठ्दा म पनि ब्युझिएँ । ‘एक छिनसम्म नबिउँझिएको भए म मर्थेँ होला,’ उहाँले भन्नुभयो । त्यसपछि बल्ल मैले देखेको सपनालाई उहाँले मान्यता दिनुभयो ।

रामनाथ पक्राउ, केपी कुलेलम

भोलिपल्ट बिहान उहाँ (रामनाथ) केपीलाई लिएर हामीलाई केही नभनिकन हिँड्नुभयो । घरबाट हिँड्नुअघि सधंै कुनै किसिमको संकेत गर्नुहुन्थ्यो, तर त्यस दिन थाहै नपाई हिँड्नुभयो । भैंसी हेर्ने हाम्रो जासुसले पनि थाहा पाएन ।

उहाँहरु हिँडेको एक घन्टापछि घरमा प्रहरी आए । उनीहरुले सोधखोज गर्दा मैले भनेँ, ‘खोई, टन्सिल भएको थियो, जचाउँन जानुभयो होला ।’ प्रहरी फर्केर गए । तर, गाउँको कसैले प्रहरीलाई सुराकी दिएछ । यो बाटोमा गएका छन् भनेर देखाएपछि प्रहरी गाउँकै गौंडा ढुकेर बसेछ । प्रहरीको गाडी रोकिएको देखेर म घरबाटै हेरिरहेकी थिएँ ।

केहीबेरपछि दुईजना हल्लिँदै आउनुभयो । प्रहरीले टाढैबाट मेरो श्रीमानतिर सोझ्याउँदै बन्दूक ताक्यो । मेरा श्रीमान केपीभन्दा अग्लो हुनुहुन्थ्यो । उहाँ अघिअघि हुनुहुन्थ्यो र सायद केपीलाई प्रहरीले राम्रोसित चिनेको थिएन । प्रहरीले बन्दूक सोझ्याएको देखेपछि रामनाथजीले दुबै हात उठाउनुभयो । उहाँले केपीलाई कुनै इशारा गर्नुभयो कि कुन्नि, केपी तत्कालै त्यहाँबाट अलप भएर मधेसी गाउँतिर टाप ठोक्नुभयो । मैले अलि टाढाबाट आफ्नै आँखाले यो सबै हेरिरहेकी थिएँ ।

प्रहरीले मेरा श्रीमानलाई समातेर घरमा ल्याए । उहाँ भित्र पस्नुभयो । घरको आँगन, इनार, दैलो सबैतिर प्रहरीले घेरे । उहाँको ज्याकेटको गोजीबाट माओको रेडबुक मैले निकालेर लुकाएँ । उहाँले दौरासुरुवाल लगाउनुभयो र त्यसमाथि ज्याकेट भिर्नुभयो । मैले प्रहरीलाई चिया खाएर जानुस् न भन्दा प्रहरीहरु चिया खान आएको हो र ? भन्दै कड्किए । छोरालाई म्वाइँ खाएर उहाँ प्रहरीसित हिँड्नुभयो ।

जेलमा भेट्न जाँदा

त्यहाँबाट भाग्नुभएका केपीचाँहि एकैचोटि रौतहटमा ०३० सालमा मोहनचन्द्र अधिकारीसँगै समातिनुभयो । त्यसबेलासम्म रामनाथ सुखानीमा प्रहरीको गोलीबाट मारिइसक्नुभएको थियो ।

झापाको सुखानीमा मारिएका रामनाथ दाहालसहित मालेका पाँच नेताको सालिक
झापाको सुखानीमा मारिएका रामनाथ दाहालसहित मालेका पाँच नेताको सालिक

जेल परेपछि केपीले बेलाबखत चिठी पठाउनुहुन्थ्यो । एकपटक चिठी पठाएर म र मेरा छोरालाई भेट्ने इच्छा व्यक्त गर्नुभयो । त्यतिबेला काठमाडौंको केन्द्रीय कारागारमा हुनुहुन्थ्यो । म छोरो बोकेर उहाँलाई भेट्न आएँ ।

पुरानो बिल्डिङमा काठको सिँढी उक्लेँ । तर, प्रहरीले उहाँसित भेट गराउन मानेनन् । ‘मैले झापादेखि आएकी हुँ,’ भन्दा पनि उनीहरुले टाढैबाट हेर्न पाइने, तर भेट्न नपाइने बताए । त्यसपछि मैले आफ्नो सानो छोरालाई पठाएँ । एक छिनपछि ऊ मामाले बिस्कुट दिनुभयो भनेर रमाउँदै आयो । मैले चाहिँ उहाँलाई टाढैबाट देखेँ । जण्डिसले गर्दा बिरामी हुनुभएको रहेछ ।

रामनाथका विश्वासपात्र

मेरा श्रीमान केपीभन्दा पनि लुते हुनुहुन्थ्यो । केपीप्रति मेरा श्रीमानको ठूलो विश्वास थियो । उहाँ भन्नुहुन्थ्यो, ‘छोराछोरीले खाने दूधबाट काटेर केपीलाई खान दिनु, यसलाई बलियो बनायो भने जनताका लागि काम गर्छ ।’

सुखानीमा मेरा श्रीमानको हत्या गर्नुअघि मलाई जेलमा सही गर्न भनेर लगेका थिए । त्यतिबेला भेट्दा मेरा श्रीमानले भन्नुभएको थियो, ‘मलाई मारिहाले भने पनि नडराउनु, कुनै पनि निर्णय गर्दा खड्गलाई सोधेर गर्नु । बाँच्यो भने उसले देशको नेतृत्व गर्छ ।’

प्रधानमन्त्रीका स्वभाविक दाबेदार

प्रजातन्त्र आएपछि ओली खुला हुनुभयो । सांसद र पटक-पटक मन्त्री हुनुभयो । यो बीचमा उहाँसित पहिलेजस्तो सामिप्यता रहने अवस्था भएन । यद्यपि उहाँसित सम्वन्ध बिगि्रने अवस्था पनि कहिल्यै आएको छैन ।

आज उहाँ देशको प्रधानमन्त्री हुनुभएको छ । राजनीतिमा यति धेरै योगदान गरेको व्यक्ति भएकाले यो पदका निम्ति उहाँ स्वाभाविक दाबेदार हुनुहुन्थ्यो । उहाँ प्रधानमन्त्री हुँदा धेरै जनता खुशी भएका छन् । म पनि खुशी नहुने कुरै भएन ।

उहाँ क्षमता भएको मान्छे हो । तर, देशको अवस्था यस्तो छ कि कसैको एक्लो प्रयासमा यहाँबाट पार लगाउन गाह्रो छ । मेरो उहाँलाई सुझाव के छ भने खोलो तरेर लौरो बिर्सनुहुन्न । उहाँले आफ्नो पृष्ठभूमिलाई बिर्सनुहुन्न । उहाँसित मेरो व्यक्तिगत अपेक्षा केही पनि छैनन् । प्रधानमन्त्री भनेको देशको साझा व्यक्ति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment