Comments Add Comment

राष्ट्रपतिमा सुवास नेम्वाङको सम्भावना, विद्या भण्डारी दोस्रो दावेदार !

२६ असोज, काठमाडौं । मुलुकको दोस्रो राष्ट्रपति एमालेको भागमा जाने सम्भावना बढेको छ । सत्ता साझेदार दोस्रो ठूलो एनेकपा माओवादीले उपराष्ट्रपति र सभामुखमात्रै लिने जानकारी एमालेलाई गराएको प्रधानमन्त्री निकट स्रोतले अनलाइनखबरलाई जनाएको छ ।Subash-and-Biddya

एमालेले राष्ट्रपति पाउने अवस्थामा सभामुख सुवास नेम्वाङ राष्ट्रपतिका प्रमुख दाबेदार देखिएका छन् । करिब १० वर्ष लगातार कुशलतापूर्वक सभामुख तथा संविधानसभा अध्यक्षको भूमिका निर्वाह गरी संविधान जारी गरेको हुनाले नेम्वाङ शीतलनिवासका लागि सर्वाधिक उपयुक्त पात्र देखिएका हुन् ।

पहिलो राष्ट्रपति र उपराष्ट्रपति मधेसी समुदायबाट भएकाले दोस्रो राष्ट्रपति आदिवासी जनजाति समुदायबाट निर्वाचित हुँदा नेपालको समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास विश्वभरकै लागि नमूना हुने भन्दै एमाले र एमाओवादी नेताहरु लिम्बु समुदायका नेम्वाङलाई अघि बढाउन सकारात्मक भएका हुन् ।

संविधानसभा अध्यक्ष र सभामुखको भूमिकामा रहँदा कुनै विवादमा नपरी सबै दलहरुको साझा व्यक्तित्व भएको र संविधानसभा अध्यक्षमा दुबैपटक सर्वसम्मत निर्वाचित भएकाले पनि उनी राष्ट्रपतिको चर्चामा एक नम्बरमा छन् ।

नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुँदा कांग्रेसलगायत अन्य दलहरु पनि सकारात्मक हुने अपेक्षा एमालेले गरेको छ । ‘सुवास नेम्वाङ हाम्रो पहिलो रोजाइ हो’ एक एमाले पदाधिकारीले भने ‘हामी राष्ट्रपतिमा दुबै छिमेकीको सदभाव र दलीय सहमतिको पनि लेखाजोखा गर्छौं’ ।

नेम्वाङ के भन्छन् ?

राष्ट्रपतिको चर्चाका सन्दर्भमा सभामुख नेम्वाङले भने कुनै पनि पदमा आफ्नो व्यक्तिगत माग वा दाबी नरहेको प्रष्ट पारे ।

अनलाइनखबरसँग कुरा गर्दै नेम्वाङले भने- ‘सबैको सहयोगबाट संविधान जारी भयो, मेरो व्यक्तिगत आग्रह केही छैन, आउने दिनमा मलाई के जिम्मेवारी दिने भन्ने कुरा दलहरुलाई नै जिम्मा दिन्छु ।’

विद्या भण्डारी अर्को दाबेदार

एमालेबाटै राष्ट्रपति हुने अवस्थामा अर्को सम्भावित उम्मेदवार उपाध्यक्ष विद्या भण्डारी हुन् । भण्डारीलाई राष्ट्रपति बनाउन एमालेमा ठूलै शक्तिले चाहेको स्रोतको दाबी छ । नेम्वाङ र भण्डारी दुबै अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली निकट मानिन्छन् ।

विद्या भण्डारीले राष्ट्रपति हुने रहर गरेमा उनका लागि झनै सहज हुनेछ । किनकि उनी पार्टीको शक्तिशाली उपाध्यक्ष हुन् । यद्यपि उनले केही दिनअघिसम्म आफू पार्टीको राजनीतिमै क्रियाशील हुन चाहेको निकटस्थहरुलाई बताएकी थिइन् ।

पहिलो महिला राष्ट्रपति हुुने भएकाले विद्याको नाम पनि अग्रपंक्तिमै छ । त्यसमाथि उनी एमालेको आधुनिक सिद्धान्त जनताको बहुदलीय जनवादका प्रवर्तक स्वर्गीय जननेता मदन भण्डारीकी धर्मपत्नी भएकाले उनी नेम्वाङ भन्दा बलियो दाबेदार हुन सक्छिन् ।

तर, राजनीतिक अनुभव र कानूनी ज्ञानका हिसाबले नेम्वाङ अगाडि छन् । नेम्वाङ कानूनका ज्ञाता एवं अधिवक्तासमेत हुन् ।

एमालेका एक पदाधिकारीले भने- हाम्रोबाट राष्ट्रपतिका दुई मात्र दावेदार विद्या भण्डारी र सुवास नेम्वाङ हुन् । कतिपयले झलनाथ खनालको नाम लिए पनि अहिले समावेशिताको कुराले समेत खनालको नाम आउँदैन ।

रामवरणलाई के होला ?

विगतको भद्र सहमति अस्वीकार गर्दै कांग्रेस प्रतिपक्षमा गइसकेको अवस्थामा कांग्रेसले राष्ट्रपति दावी गर्ने नैतिक आधार सकिएको छ । यद्यपि सहमतीय राजनीतिलाई अझै पनि अघि बढाउन एमालेले कांग्रेसलाई राष्ट्रपति दिन सक्छ भन्ने कतियको अनुमान छ ।

तर, एमाले उपमहासचिव विष्णु पौडेलले अब त्यो भद्र सहमति अभद्र भइसकेको बताए । ‘हामी विगतको भद्र सहमतिबाट अर्को बिन्दूमा पुगिसकेका छौं’, उनले भने ।

दक्षिणको छिमेकी भारतसँग सम्बन्ध सुधार गर्न र कांग्रेसलाई पनि आगामी दिनमा चर्को बिरोधी नबनाउन रामवरण यादवलाई नै पुनः राष्ट्रपति बनाउन एमाले सकारात्मक हुन्छ कि भन्ने कतिपयको अनुमान छ । कतिपयले भने कांग्रेस सभापति सुशील कोइरालालाई राष्ट्रपति बनाएर एमालेले कांग्रेसको विश्वास लिने अनुमान पनि गर्नए छाडेका छैनन् ।

राष्ट्रपति डा. यादवसँग एमालेमात्र होइन, व्यक्तिगत रुपमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीको समेत सम्बन्ध चिसिएका कारण पनि यादवले निरन्तरता पाउने सम्भावना कम रहेको ओली निकट एक स्थायी समिति सदस्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment