Comments Add Comment

भैरहवा नाकाबाट मंगलबार पनि गाडी भित्रिँदै

सलमान खान
२६ असोज, भैरहवा । रुपन्देहीको बेलहिया (भैरहवा) नाकाबाट आज पनि सहज रुपमा मालवाहक सवारी साधनहरु मुलुकमा प्रवेश गरिरहेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सिमानामा अवरोध गर्न नसकेपछि र रुपन्देहीको प्रशसानले भारतीय प्रशसानलाई सुरक्षाको प्रत्याभूति दिलाएपछि सोमबारदेखि भारतबाट सहजै गाडीहरु भित्रिरहेका हुन् ।

मंगलबार भारतबाट साढे ११ बजेसम्म विभिन्न साम्रगीका ६२ वटा मालवाहक सवारी साधनहरु मुलुकमा प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामेश्वर कार्कीले बताए ।

जसमा एउटा तेलको ट्यांकर, केमिकलका बुलेट ग्याँस २ वटा र ५९ वटा विभिन्न साम्रगीका मालवाहक सवारी रहेका छन् ।

एक हप्ता ठप्प भएर खुकुलो भएको भैरहवा नाकाबाट सोमबार रातिसम्म तेल र ग्याँसका ट्यांकर सहित १९७ वटा मालवाहक सवारी साधन मुलुकमा प्रवेश गरेको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।

मधेसी मोर्चाले नाकाबन्दी आहृवान गरेदेखि भारतबाट नेपालमा भित्रिन लागेको मालवाहक सवारीहरु भारतीय सुरक्षाकर्मीले चेकजाँचको नाममा ढिलासुस्ती गरेर निकै न्यून संख्यामा छोड्दै आएको थियो ।

सोमबारदेखि भने समान्य चेकजाँच गरेर अली बढी नै मालवाहक सवारी छाडिरहेको छ । यसमा ग्याँस तथा तेलका ट्यांकर समेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment