Comments Add Comment

मधेसी मोर्चाले भन्यो-सुशीललाई भोट हालेकोमा पछुतो छैन

Madhesi Morcha

२६ असोज, काठमाडौं । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री निर्वाचनमा भाग लिएकोमा कुनै पछुतो नलागेको बताएको छ ।

मंगलबार बसेको मोर्चाको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले भने-हामीलाई कसैले जवरजस्ती होइन, हामीले आफ्नो अधिकार प्रयोग गरेका हौं । कुनै पछुतो लागेको छैन ।’

आइतबार व्यवस्थापिका संसदमा भएको प्रधानमन्त्री निर्वाचनमा मधेसी मोर्चाले कांग्रेस उम्मेदवार सुशील कोइरालालाई मतदान गरेको थियो । संविधानसभा बहिस्कार गरेको मधेसी मोर्चा संसदमा भने उपस्थित भएर भोट हाल्नुलाई धेरैले संविधान स्वीकार गरेको रुपमा लिएका छन् ।

तर, सुशील कोइराला सरकारकै पालामा सुरु भएको मधेस आन्दोलनमा ५० भन्दा बढीको मृत्यु भएकाले उनलाई भोट हाल्नु गद्दारी भएको भन्दै मधेसमै मधेसी मोर्चाको चर्को आलोचना भएको छ । आन्दोलनकारीहरुले मधेसी मोर्चाका नेताहरुको पुत्ला समेत जनाएका छन् ।

मोर्चामा आवद्ध संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले, एमाओवादी र राप्रपा नेपालको सत्ता साझेदारीलाई उग्रवामपन्थीदेखि राजावादी गठवन्धनको संज्ञा दिए । उनले भने-‘मधेस आन्दोलन विरोधी र जनता अधिकार खोस्ने काम गर्नेहरुको अवसरवादी जत्था हो । त्यसविरुद्ध मधेसी जनताको मतलाई प्रयोग गरेका हौं ।’

नयाँ संविधान अनुसार भएको प्रधानमन्त्री चुनावमा भाग लिएको मधेसी मोर्चाका नेताहरुले आफूहरुले नयाँ संविधान स्वीकार नगरेको दाबी समेत गरेका छन् ।

साथै जारी आन्दोलन नरोक्ने समेत बताएका छन् । फोरम अध्यक्ष यादवले भने-‘हामी यो संविधान स्वीकार गर्दैनौं, यो आन्दोलन जारी रहन्छ । अझ बढी सशक्त भएर अघि बढ्छ, र यो आन्दोलन खेर जाँदैन ।’

संविधानमा कमजोरी रहेको प्रमुख दलहरुले समेत स्वीकार गरेको भन्दै उनले भने-‘आन्दोलनले उठाएको न्यायोचित मागलाई संवैधानिक रुपमा वा संशोधन वा पुनर्लेखन नगरेसम्म यो संघर्ष जारी रहन्छ ।’ अन्तरिम संविधान प्राप्त जनताका अधिकार पनि खोसिएको भन्दै यादवले नयाँ संविधानलाई प्रतिगमनकारी संविधानको संज्ञा दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment