Comments Add Comment

मधेसी मोर्चाका नेताहरुले भने-दसैंको बारेमा सोच्दैछौं

Madhesi Morcha

२६ असोज, काठमाडौं । दसैंका बेलामा तराई मधेसको बन्द र हडताल खुल्ला कि नखुल्ला ? आम मानिसहरुको चासोको विषय बनिरहेको यो विषयमा मधेसी मोर्चाका नेताहरुले मंगलबार गोलमटोल जवाफ दिएका छन् ।

तराई मधेसमा दुई महिनादेखि हड्ताल र नाकाबन्दीसहितको आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले दसैंका बेलामा आन्दोलन फिर्ता लिने संकेत गरे पनि स्पष्टरुपमा आन्दोलन फिर्ता भएको घोषणा गर्न सकेनन् ।

तर, दसैं मनाउने नेपालीका लागि सहज वातावरण बनाउने मोर्चाका नेताहरुले मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संकेत गरे । मंगलबार आयोजित पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्तिमा आन्दोलन खुकुलो बनाउने वा स्थगित गर्ने विषय समावेश भएको छैन । तर, मोर्चाका शीर्षनेताहरुले दसैंका बेला सहज बनाउने आश्वासन दिएका छन् ।

बानेश्वरको अल्फाबेटामा पत्रकार सम्मेलनमा मोर्चाका नेता महन्थ ठाकुरले भने- हाम्रो त आन्दोलनन नै दसैं हो, तर पनि दसैंका बेला सहज बनाउने बारेमा हामी सोच्दैछौं, केही दिनमा खबर आउँछ ।

ठाकुरले जनताको माग आयो भने दसैंको अवसरमा आन्दोलनको स्वरुप फेरिने बताए । ‘तपाईहरुमार्फत जनताको आवाज आएको छ, हामी त्यो अवाजको सुनुवाइ गर्छौं’ ठाकुरले भने ।

मोर्चाका अर्का नेता उपेन्द्र यादवले पनि दसैंका बेला नाकाबन्दी लगायत बन्दको कार्यक्रम स्थगन हुने संकेत गरे । ‘नाकाबन्दी राज्यले मात्र गर्ने हो, हामीले त अवरोध गरेको हो’ यादवले भने ‘खास दसैं फूलपातीदेखि शुरु हुन्छ, त्यो बेला हामी सहज बनाउँछौं ।’

अन्तिम अवस्थामा मोर्चाभित्रै विवाद भएर आन्दोलन खुकुलो पार्ने निर्णय नभएको स्रोतले जनाएको छ । घोषणा नगरी यातायात लगायत कारोबार सहज बनाउन दिने समझदारी बनेको एक नेताले बताए ।

दिल्लीको कुरा ऋषि धमलालाई सोधौं

नयाँ सरकार गठन प्रक्रियामा मधेसी मोर्चाले भाग लिनु र नयाँ सरकार गठन लगत्तै भारती र नेपालको नेतृत्व तहमा संवाद भएपछि नाकाहरुबाट सहज आपूर्ति भएको कुरालाई मोर्चाका नेताहरुले अन्यत्र मोड्न खोजे ।

नयाँ सरकार गठन लगत्तै नाकाहरु सहज हुनु संयोगमात्र हो ? भन्ने प्रश्नमा ठाकुरले भने-हामी त नाकामै छौं, तर बन्दूक बोकेका सुरक्षाकर्मीले राति राति सामान भित्र्यारहेका छन् । नाकाबन्दी भए पनि आपूर्ति सहज भएको हामीले पनि थाहा पाएका छौं ।

आन्दोलनमा भारतको नैतिक समर्थन रहेको ठाकुरले स्वीकार गरे । तर उपेन्द्र यादवले भने दिल्लीको कुरा आफूहरुलाई थाहा भएको बताए । पत्रकार सम्मेलन सकिएलगत्तै यादवले केही पत्रकारसँग भने-‘दिल्लीको कुरा मलाई थाहा छैन, मैले त ऋषि धमलाबाट बुझ्ने गर्छु ।’

ठाकुरले भने आन्दोलनकारीलाई नेपालमा भारत परस्तको आरोप लाग्नु अनौठो नभएको बताए । ‘हिजो केपी ओलीलाई पनि यो आरोप लागेकै हो’ ठाकुरले भने ।

व्यवस्थापिका संसदमा सहभागी भएर प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा भाग लिएपछि आफ्नै कार्यकर्ताहरुबाट आलोचना खेपी रहेका मधेसी मोर्चाका नेताहरुले मंगलबार दिउँसो राजधानीमा पत्रकार सम्मेलन गरेका थिए । उनीहरुले दसैंका बेला आन्दोलन फिर्ताको घोषणा गर्ने तयारी गरेका थिए । तर, मधेसबाट दवाब आएपछि उनीहरु एक कदमपछि परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment