Comments Add Comment

अटो मेलामा बुकिङ भएका गाडी रक्सौलमा अडि्कए, शो-रूममा देखियो अभाव

नविन अर्याल

१६ कात्तिक, काठमाडौं । नेपालीहरुको महान चाड दशैं तिहार सबैभन्दा बढी सवारी बिक्री हुने समय हो । वर्षभरिमा बिक्री हुने सवारीको करिव ४० प्रतिशत यही समयमा बिक्री हुने गर्छन् ।

विगतका दशैं तिहारमा अटो व्यवसायीहरुलाई गाडी तथा मोटरसाइकल बिक्री गर्न भ्याई नभ्याई हुन्थ्यो । व्यवसायीबीच आकर्षक उपहार घोषणा गरेर ग्राहक तान्ने होडबाजी नै चल्थ्यो । तर, यस वर्ष भने दशैं तिहारको मुख्य सिजनमै व्यवसायीहरु फुर्सदिला बनेका छन् ।

compact-car-comparison_678x352_51435660179

करिव तीन महिनादेखि तराईमा जारी बन्द हडताल र भारतीय नाकाबन्दीका कारण अटो बजार सुस्ताएपछि व्यवसायीहरु फुर्सदिला बनेका हुन् । मधेसवादी दलहरुले नयाँ संविधानमा असहमती जनाउँदै तराई बन्द गरेपछि भदौदेखि नेपालमा सवारी भित्रिन सकेका छैनन् ।

त्यसमाथि भारतले संविधान संसोधनका लागि दबाव दिन असोजदेखि गरेको नाकाबन्दीका कारण सवारी साधन विभिन्न नाकामा अडि्कन पुगेका छन् । नेपालमा भारत तथा तेस्रो मुलुकबाट आउने अधिकांश गाडीहरू वीरगञ्जको रक्सौल नाका हुँदै भित्रिने गर्छन् । भारतले नाकाबन्दी गरेपछि तेलको हाहाकार हुँदा शो-रुममा भएका गाडीसमेत बिक्री हुन नसकेको व्यवसायीहरु बताउँछन् ।

‘दशैं तिहारमा भित्रिने नयाँ गाडीहरु वीरगञ्जको रक्सौल नाकामा अडि्कएर बसेका छन्’ टाटा कारको सेल्स म्यानेजर अर्जुन कार्कीले भने- ‘तेल नहुँदा भएका गाडीहरु समेत बिक्री हुन सकेका छैनन् ।’ केही गाडीहरू रूट परिवर्तन गरेर भित्राउन सकिने भएपनि नेपालमा भएको तेल अभावका कारण त्यो प्रयास नगरेको व्यवसायीहरूको भनार्इ छ ।

बैशाख १२ गते गएको विनाशकारी भूकम्पले यसै पनि अटो बजार सुस्ताएको थियो । भूकम्पपछि करिव दुई महिना सुस्ताएको अटो बजार नयाँ आर्थिक वर्षसँगै तंग्रिन थालेको थियो । व्यवसायीहरु पनि दशैैं तिहारसम्म अटो बजार पुरानै अवस्थामा फर्किने विश्वासमा थिए ।

तर, सवारी बिक्री हुने सिजनको मुखमै तराई बन्द भएपछि अटो व्यवसाय चौपट हुन पुगेको छ । भदौमा भएको सवारी साधनको कुम्भ मेला ‘नाडा अटो शो’मा पनि तराई बन्दका कारण नयाँ गाडी भित्रिन सकेनन् । दशैं तिहारसम्म हस्तान्तरण गर्ने प्रतिवद्धतासहित व्यवसायीले मेलमा ठूलो परिमाणमा गाडी तथा मोटरसाइकल बुकिङ लिएका थिए ।

आन्दोलन लम्बिँदै जाँदा अहिलेसम्म नयाँ गाडी भित्रिन नसकेको नेपाल अटोमोबाइल डिलर्स एशोसियसन (नाड)का अध्यक्ष अञ्जन श्रेष्ठले बताए । अटो शोमा बुकिङ भएका गाडीहरु रक्सौलमा अडि्कएको गुनासो गर्दै उनले मुलुकमा तेलको हाहाकार हुँदा गाडी भित्रिए पनि अर्थ नहुने बताए ।

अटो मेलामा करिव ५ अर्ब रुपैयाँ बराबरको गाडी तथा मोटरसाइकल बुकिङ भएको दाबी गरिएको थियो । नाडाका अनुसार त्यतिबेला मोटरसाइकल तथा स्कुटर २ हजार थान, कार तथा जीप ६ सय थान र कमर्शियल गाडी ५० थान बुकिङ भएका थिए ।

‘बुकिङ गरेका कतिपय ग्राहकहरुले गाडी दिनुस्, तेल हामी आफै जुटाएर चलाउँछौं भन्दा पनि रक्सौलमा अडि्कएको हुँदा दिन सकेका छैनौं’ टाटा कारका सेल्स म्यानेजर कार्कीले भने- ‘कतिपय बुकिङकर्तालाई गाडी तयारी अवस्थामा छ, लैजानुस भन्दा पनि तेल छैन लगेर के गर्ने भन्छन् ।’

लामो समयदेखि नाका बन्द हुँदा बजारमा गाडी तथा मोटरसाइकलको अभाव देखिएको छ । गाडी तथा मोटरसाइकल खोज्दै शो-रुम पुग्ने ग्राहकहरुलाई व्यवसायीले अहिले छैन, पछि सम्पर्क गर्नुहोला भन्दै फर्काइरहेका छन् ।

कतिपय ग्राहकले आफुलाई गाडी अर्जेन्ट भएको भन्दै रोजेको मोडल नपाएपनि ‘कम्परमाइज’ गरेर अरु मोडल लगेको कार्कीले बताए । तर, धेरैजसो ग्राहकहरु नयाँ गाडी कुरेर बसेको उनको भनाई छ ।

बन्द हडतालले दशैं तिहारको ब्यापार प्रभावित भएको छ । अझै कति समय बन्द हडताल लम्बिएर बजार प्रभावित हुने हो व्यवसायीमा अन्यौलता छ । बन्द हडताल अझै लम्बिएमा अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष गाडीको व्यापारमा आधाले गिरावट आउने व्यवसायीहरुको अनुमान छ ।

नेपालमा गाडी किन्ने अधिकांश व्यवसायीक क्षेत्रका हुने गर्छन् । बन्द हडतालको कारण व्यापार चौपट भएपछि बुकिङ गरेका व्यवसायीले गाडी नलिने सम्भवना रहेको कार्की बताउँछन् । बन्द हडतालले असर नपार्ने निश्चित आम्दानी भएका बैंकका सिइओ, उच्च पदस्थ कर्मचारीले भने कुरेरै भएपनि गाडी लिने उनको विश्वास छ ।

सरकारले सवारी साधनमा उच्च कर उठाउँदै आएको छ । गत आर्थिक वर्षमा अटोमोबाइलबाट सरकारले ४४ अर्ब रुपैयाँ राजश्व उठाएको छ । तर, यस वर्ष सवारीबाट उठ्ने राजश्व नराम्रोसँग प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment