Comments Add Comment

नेपाल मामिलामा मोदी, राजनाथ र जयसंकरको तीन धार !

Modi,-Rajnath-and-S-jaysankar

२१ कात्तिक, काठमाडौं । नेपाललाई हेर्ने नीतिबारे भारतीय सत्तापक्ष, प्रतिपक्षी कांग्रेस, र वामपन्थीहरुवीच मत बाझिएको छ । यो भन्दा थप गम्भीर पक्ष के छ भने नेपाल मामिलामा प्रधानमन्त्री नरेन्द्र मोदी, बीजेपी नेता तथा गृहमन्त्री राजनाथ सिंह र विदेशसचिव जयशंकरका वीचमा समेत मतभिन्नता देखिएको छ ।

नयाँ सरकार गठन भएलगत्तै नेपालका परराष्ट्र मन्त्री कमल थापाले भारतीय प्रधानमन्त्री मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ र विदेश सचिव जयशंकरलाई दिल्ली पुगेर भेट गरेका थिए । नेपाली टोलीले गरेको सोही दिल्ली भ्रमणका बेला भारतीय संस्थापन पक्षभित्रको अन्तरविरोध पत्ता लागेको हो ।

जयशंकरको उपरखुट्टी !

नेपालमा संविधान बन्नै लाग्दा काठमाडौं आएर निराश बनी फर्केका भारतीय विदेशसचिव एस. जयशंकरले परराष्ट्रमन्त्री थापालाई आफ्नै च्याम्बरमा भेट्न चाहेका थिए । तर, थापाले आफूलाई भेट्ने भए होटलमै आउन आग्रह गरे ।

Kamal-Thapa-And-S-Jaysankar

थापाको आग्रहपछि सचिव जयशंकर होटलमा त आए, तर मन्त्री थापालाई कुनै खासै मान सम्मान नगरिकन उपरखुट्टी लगाएर बसे । सचिवको त्यस्तो दृश्य देखेर रुष्ट बनेका मन्त्री थापाले पनि उपरखुट्टी लगाएर जवाफ दिए ।

भेटमा जयसंशकरले नेपालको संविधान कहिले संशोधन हुन्छ भनेर सोधे । थापाले विधेयक संसदमा पुगिसकेकाले प्रकृयामा रहेको जवाफ दिए । तर, सचिवले थप प्रश्न गरे, कति दिनमा संशोधन हुन्छ ? १५ दिनमा ?

यस्तो प्रश्नपछि मन्त्री थापा रिसाए । उनले जयशंकरलाई भने, यो नेपालको आन्तरिक विषय हो । म दिल्लीमा आपूर्ति व्यवस्था सहज बनाउनेबारे छलफल गर्न आएको हुँ ।

जयशंकरसँगको कूटनीतिक कुराकानीपछि मन्त्री थापाले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेट गरे । स्वराजसँगको भेटपछि उनले प्रधानमन्त्री मोदीलाई भेटे ।

सुरुमा जंगिए मोदी

मन्त्री थापासँगको भेटको शुरुमा मोहीले केहीबेर बोलेका थिए । उनको बोलीमा आक्रोश थियो । आफूले नेपाललाई त्यत्रो सहयोग गरेको, दुई दुईपटक नेपालको भ्रमण गरेर सम्बन्ध सुधार गरेको, नेपाली जनताबाट समेत आफ्नो स्वागत भएको मोदीले स्मरण गरेका थिए । त्यही क्रममा पीडीए, पीटीए लगायतका सम्झौतासमेत भएको मोदीले बताएका थिए ।

Narendra-Modi

तर, कसले गर्दा नेपाल र भारतवीचको सम्बन्ध बिग्रिइरहेको छ भन्दै मोदीले चिन्ता प्रकट गरेका थिए । थापासँगको भेटमा भारतीय प्रधानमन्त्री मोदीले एमाओवादी अध्यक्ष प्रचण्डको नाम नदिई उनीप्रति रोष प्रकट गरेका थिए ।

राष्ट्रिय स्तरका नेताहरुले नै सार्जजनिक स्थलबाट भारतको गाली गर्नु र विरोधमा बोल्नु शोभनीय कार्य नभएको मोदीको भनाइ थियो । मोदीको यो संकेत खुल्ला मञ्चको प्रचण्डको भाषणप्रति लक्षित थियो ।

[tweet] मोदी ब्युरोक्रेसीको यति बलियो घेराबन्दीमा छन् कि, राजनीतिकस्तरको सम्बादका लागि नेपालले गरेका अनेक कोसिसमा पटक्कै चासो दिएका छैनन् ।[/tweet]

भेटका क्रममा परराष्ट्रमन्त्री थापाले भारतबाट आपूर्तिमा भइरहेको असहजताका कारण नेपाल भारत सम्बन्धमा समस्या आइरहेको बताएका थिए । त्यसपछि मोदीले केही परे सुष्मासँग कुरा गर्न आग्रह गरेका थिए । मोदीलाई भेट्नुअघि सुष्मासँगको भेटमा वीरगञ्ज नाकाको सम्वेदनशीलतालाई विचार गर्दै ‘रि-रुट’ को व्यवस्था गर्नेबारे छलफल भएको थियो ।

कमल थापाको दिल्ली भ्रमणको सफलता नै त्यही थियो कि रक्सौल नाकामा रोकिएका ट्यांकरलाई अर्को बाटोबाट नेपाल छिराउन प्रयास गर्ने । भारतले यो प्रस्तावमा सहमति जनाएर नेपालमा तेल र ग्यास पठाउने आश्वासन थापालाई दिएको थियो, जुन काठमाण्डौंस्थित भारतीय दूतावासको अबरोधपछि सफल हुन सकेन ।

राजनाथका घरमा बेग्लै छलफल

भारतीय सत्तारुढ दलका नेता एवं गृहमन्त्री राजनाथ सिंहलाई भने मन्त्री थापाले उनको निवासमै गएर भेटेका थिए । हिन्दुवादी दलका नाताले सिंह र थापावीच पहिलेदेखि नै राम्रो सम्बन्ध रहँदै आएको छ ।

भेटका क्रममा सिंहले नेपालमा भइरहेको नाकाबन्दीप्रति तीव्र चिन्ता व्यक्त गरेका थए । ‘भारतबाट यस्तो गर्नै नहुने काम हो, कसले गर्दा नेपालमा तेल जान पाइरहेको छैन ? यो विल्कुल ठीक भएन,’ राजनाथले मन्त्री थापालाई भनेका थिए, ‘मैले यसबारे मोदीजीसँग पनि कुरा गरेको छु, नेपाललाई तत्काल तेल पठाउनुपर्छ, रोक्नै हुँदैन, हामी दुई देशवीचको सम्बन्ध अहिलेदेखिको होइन, धेरै पुरानो हो ।’

कसले गर्दैछ त अवरोध ?

परराष्ट्रमन्त्री थापाले सचिव मन्त्रीहरु र प्रधानमन्त्रीलाई भेटिसकेपछि जयशंकर, मोदी र राजनाथका वीचमा नेपाललाई हेर्ने मामिलामा फरकपन पाएको काठमाठौं आएर आफ्नो पार्टी राप्रपा नेपालको बैठकमा बि्रफिङ गरेका थिए ।

भारतीय राजनीतिको सामान्य विश्लेषण गर्दा के देखिन्छ भने भारतीय कांग्रेसले दुई कार्यकाल शासन गरेका बेला फस्टाएको ब्यूरोक्रेसीले मोदीको सरकारलाई असहयोग गरिरहेको छ

मन्त्री थापाको ब्रिफिङ सुनेका राप्रपा नेपालका एक नेताले दिएको जानकारी अनुसार दिल्लीको ब्यूरोक्रेसी नेपालमा भइरहेको नाकाबन्दीका विषयमा निकै अनुदार देखिएको छ । राजनाथ सिंह नाकाबन्दीको पूरै विपक्षमा छन् भने प्रधानमन्त्री मोदीचाँहि नेपालसँग सम्बन्ध बिगि्रएकोमा दुःखी र चिन्तित छन् । तर, सम्बन्ध बिगारिरहेको छ कसले ?

भारतीय राजनीतिको सामान्य विश्लेषण गर्दा के देखिन्छ भने भारतीय कांग्रेसले दुई कार्यकाल शासन गरेका बेला फस्टाएको ब्यूरोक्रेसीले मोदीको सरकारलाई असहयोग गरिरहेको छ । यसैको परिणाम हो, मोदी र राजनाथहरु नेपालसँग राजनीतिक सम्बन्ध राख्न चाहन्छन्, तर जयशंकरहरु नेपाललाई हेप्न र अपमानित गर्न चाहन्छन् ।

तर, मोदी साउथ ब्लक र गुप्तचर एजेन्सीको यति बलियो घेराबन्दीमा परिसकेका छन् कि राजनीतिक तहबाट समस्या समाधानका लागि नेपाली नेताहरुले गरेका अनेक कोसिसमा पटक्कै चासो दिएका छैनन् ।

एस जयसंकरलाई भारतीय प्रधानमन्त्री मोदीले अमेरिकाको राजदूत हुँदाहुँदै बोलाएर आफैंले विदेश सचिव बनाएका हुन् । तर, उनको नेपालप्रतिको दृष्टिकोण र मोदीको दृष्टिकोणवीच स्पष्ट भिन्नता देखिएको छ, जसका कारणले मोदीले नचाहँदा नचाहँदै नेपाल-भारत सम्बन्ध सुमधुर हुन सकेको छैन ।

एस. जयशंकर सन् १९७७ देखि भारतको विदेश सेवामा जागिर खान थालेका व्यक्ति हुन् । उनी सुरक्षा मामिलाका जानकार एवं विश्लेषकसमेत मानिन्छन् । सन् १९८१ मा उनले सोभियत संघको दूतकासाथै दोस्रो र तेस्रो सचिव भएर काम गरेका थिए ।

सन् १९८५ देखि १९८७ सम्म अमेरिकास्थित भारतीय दूताबासमा प्रथम सचिवको भूमिकामा थिए । पछि उनी राजदूत भए । भारतीय प्रधानमन्त्री मोदीले २९ जनवरी २०१५ मा जयशंकरलाई विदेश सचिवमा नियुक्त गरेका हुन् । मोदीले विदेश सचिव बनाउनुअघिसम्म उनी अमेरिकाका लागि भारतीय राजदूत थिए । अमेरिकारको राजदूत हुनुभन्दा पहिले जयशंकर झण्डै साढे चारबर्ष चीनका लागि भारतीय राजदूत थिए ।

भारत अमेरिकावीच सन् २००८ मा सम्पन्न आणविक सम्झौतामा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्ति हुन् जयसंकर । उनले मोदीलाई अमेरिकाले प्रयोग गरेको नो-भिसा नीतिलाई पल्टाउन महत्वपूर्ण भूमिका खेलेकै कारण मोदीले उनलाई गुन लगाएका हुन् ।

तेस्रो महिला विदेश सचिव सुजाथा सिंहको कार्यकाल नै कटौती गरेर जयशंकरलाई ल्याइएको थियो । निरुपमा राव, सञ्जन मथाई लगायतले दुई वर्षे कार्यकाल पूरा गरेका भए पनि सुजाथाको कार्यकाल पूरा हुन ६ महिनाअगावै उनलाई मोदीले हटाएर जयशंकरलाई ल्याएका हुन् ।

राजदूत रायले चाहे भने…..

भारतको नेपाल नीतिका सम्बन्धमा चर्चा गर्दा नेपालका लागि वर्तमान भारतीय राजदूत रञ्जित रायको भूमिकाको पनि चर्चा गर्नुपर्ने हुन्छ ।
भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्ध नबिगि्रयोस् भन्ने चाहिरहेका बेला राजदूत रायले संविधान निर्माणकै बेलादेखि खेलेको नकारात्मक भूमिकाले नेपालको आन्तरिक राजनीतिमा खल्बल ल्याउन भूमिका खेलेको छ ।

Ranjit ray

सतहमा हेर्दा यतिबेला भारतीय राजदूत नेपाल र भारतवीचको सम्बन्ध समधुर कसरी बनाउने भन्नेमा लागेका छन् । तर, उनले यही सोचाइ संविधान निर्माणमा बेलामा राखेको भए भारतले नेपालको संविधानलाई स्वागत गर्न सक्थ्यो, लैनचौरमा मधेसी, जनजाति र थारुहरुका बेग्लाबेग्लै भेलाहरु डाकिने थिएनन् ।

नेपालका लागि भारतीय राजदूत राय कूटनीतिक मामिलामा योग्य एवं पढालेखा मानिस हुन् । तर, उनले यसअघि कोसोभो, भुटान जस्ता देशमा खेलेको भूमिकाका कारण नेपाल कूटनीतिमा अलि बढी असन्तुलित देखिएका पो हुन् कि भनेर अनुमान गर्न सकिन्छ ।

[tweet]भारतीय ब्यूरोक्रेटले मधेस होइन, देश भन्ने नीति लिनुपर्छ र नेपालको मामिलामा यसो गर र उसो गर भनेर माइक्रो म्यानेजमेन्ट गर्न छाडिदिनुपर्छ ।[/tweet]

अर्थशास्त्रमा उच्च शिक्षा अध्ययन गरेका राजदूत राय सन् १९८० देखि भारतको विदेश सेवामा प्रवेश गरेका हुन् । उनले नेपाल आउनुअघि भियतनाम, हंगेरी, बोस्निया हर्जगोभिना र स्लोभानियामा काम गरेर अनुभव संगालेका छन् । त्यस्तै उनले न्युयोर्कमा राष्ट्र संघीय मिसनमा पनि अनुभव संगालेका छन् । सन् २००० देखि २००२ सम्म उनले कोसोभोमा शान्ति स्थापनार्थ राष्ट्र संघीय मिसनमा रहेर काम गरिसकेका छन् ।
सन् २००२ देखि २००६ सम्म नेपाल र भूटान डिभिजन हेर्ने अधिकारीका रुपमा भारतीय विदेश मन्त्रालयका काम गरेका राजदूत रायले त्यहीबेला नेपाललाई राम्रोसँग बुझिसकेका थिए ।

[fb]राय, ठाकुर र जयशंकरहरुको भूमीकाकै कारण भारत यतिबेला नेपालसंगको कुटनीतिक मोर्चामा हार बेहोर्दै नाकाबन्दीको सहारा लिनुपर्ने अबस्थामा पुगेको छ ।[/fb]

भारतीय राष्ट्रपतिको प्रेस हेर्ने सचिवको भूमिकासमेत खेलेका राजदूत राय मिडियालाई समेत राम्रोसँग बुझेका कूटनीतिज्ञ मानिन्छन् ।

तर, रायकै कार्यकालमा नेपाल-भारत सम्बन्ध इतिहासकै सवैभन्दा खराव अबस्थामा पुगेको छ । नेपाल-भारत सम्बन्ध बिगार्ने अर्का कुटनीतिज्ञ हुन् अभय ठाकुर जो यतिबेला साउथ ब्लकको नेपाल डेस्क चिफ छन् ।  राय, ठाकुर र जयशंकरहरुको भूमीकाकै कारण भारत यतिबेला नेपालसंगको कुटनीतिक मोर्चामा हार बेहोर्दै नाकाबन्दीको सहारा लिनुपर्ने अबस्थामा पुगेको छ ।

राजदूत राय र विदेश सचिव जयशंकरले यदि चाहे भने नेपालमा बढिरहेको भारतविरोधी भावना कम गराउन सक्छन् । यसका लागि भारतीय ब्यूरोक्रेटले मधेस होइन, देश भन्ने नीति लिनुपर्छ र नेपालको मामिलामा यसो गर र उसो गर भनेर माइक्रो म्यानेजमेन्ट गर्न छाडिदिनुपर्छ ।

कमसेकम राजनाथ सिंह र नरेन्द्र मोदीले नेपाल मामिलमा चाहेको कुरो पनि यही नै हुनुपर्छ । अन्यथा ‘बीजेपी भर्सेज ब्यूरोक्रेट्स’ को कोपभाजनमा नेपाल परिरहने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment