Comments Add Comment

इन्धन अभावसँगै महिन्द्राको विद्युतीय कारमा आकर्षण

Mahindra Reva E2O (7)२३ कार्तिक, काठमाडौं । भारतले गरेको नाकाबन्दीका कारण इन्धनको चर्को अभाव भएपछि विद्युतीय कारमा आकर्षण बढेको छ । नेपालमा विद्युतिय स्मार्ट कार बिक्री गर्दै आएको महिन्द्रालाई ग्राहकको सोधपुछ लिन भ्याई नभ्याई छ ।

‘इन्धन अभाव भएपछि विद्युतीय कार महिन्द्रा इटुओको माग हृवात्तै बढेको छ’ महिन्द्राको नेपाली बिक्रेता अग्नी इनर्जीका प्रबन्धक प्रमोद भण्डारीले भने- ‘स्टकमा रहेका सबै सकिए, माग पुर्‍याउनै सकेका छैनौं ।’

इन्धन आपूर्ति रोकिएपछि स्टकमात्र नभई टेष्ट ड्राइभका लागि राखिएका गाडी समेत बिक्री भएको अग्नीले जनाएको छ । कम्पनीको शो-रुममा ६ वटा इटुओ थिए भने २ वटा टेष्ट ड्राइभका लागी राखेको थियो । कार नभएपछि शो-रुम रित्तै देखिन्छ ।

अहिले १० जनाले पैसा बुझाएर इटुओ बुकिङ गरिसकेको अग्निकी रिना श्रेष्ठले जानकारी दिइन् । भन्सार अवरुद्ध भएका कारण उनीहरुलाई कार उपलब्ध गराउन नसकेको उनको भनाई छ । इटुओ कार ४ वटा रक्सौलमा अडि्कएका छन् भने १० वटा सुनौलीमा अडि्कएका छन् ।

‘वीरगञ्जमा अडि्कएका कार तत्कालै नभित्रिने देखिएपछि थप कार सुनौली नाकाबाट भित्राउन लागेका हौं’ प्रबन्धक भण्डारीले भने- ‘सुनौलीमा अडि्कएका कार तिहारपछि नेपाल आइपुग्छन् ।’ यी कार आइपुगे पनि माग थेग्न नसकिने उनको भनाई छ ।

Mahindra Shoroom
सबै कार बिक्री भएपछि रित्तै देखिएको राजधानीको हात्तिशारस्थित महिन्द्रा शो-रूम ।

इटुओको माग बढेपछि कम्पनीले २० थान बैंग्लौरबाट मगाएको हो । जसमध्ये १० थान सुनौली आइपुगेका छन् भने बाँकी बाटोमा आउँदैछन् । विद्युतीय कारलाई ट्रेलरमा चढाएर ल्याउनुपर्ने हुँदा समय लाग्छ । ट्रेलरले एक पटकमा ५ वटासम्म इटुओ बोक्ने अग्नीकी रिना श्रेष्ठले बताइन ।

पाँच सिट क्षमताको इटुओको मूल्य २४ लाख ३५ हजार रुपैयाँ पर्छ । यसलाई ५ घण्टा चार्ज गरेपछि १२० किलोमिटर दौडाउन सकिन्छ । इटुओ एक रुपैयाँमा एक किलोमिटर कुदाउन सकिने कम्पनीको दाबी छ । यसमा १६ वटा लिथियम ब्याट्री छन् ।

महिन्द्रा इटुओमा थि्र पिन चार्ज रहेको छ । जसले गर्दा जहाँ पनि सहजै चार्ज गर्न सकिन्छ । ५ घण्टा चार्ज गर्दा ब्याट्री फुल चार्ज हुन्छ । सुरुमा किन्दा इटुओ कार केही महंगो लागेपनि सञ्चालन खर्च भने निकै कम रहेको छ ।

राजधानीको व्यस्त सडक सुहाउँदो इटुओ कार प्रयोगकर्ता इन्धनको लामो लाइनमा बस्नु पर्दैन् । न त पेट्रोल र डिजेलको जस्तो महंगो संचालन खर्च, न त नियमित मर्मत सम्भारको झण्झट नै ।

यसअघि महिला उद्यमी, चिकित्सक, कुटनीतिक नियोग, गैरसरकारी संस्था लगायतको रोजाईमा पर्ने गरेको इटुओ इन्धन अभासँगै अहिले रोजाईमा पर्न थालेको अग्निका प्रबन्धक भण्डारीले बताए ।

Mahindra Reva E2O (10)सिटी कारको रुपमा परिचित इटुओलाई दोस्रो अप्सनका रुपमा लिइन्थ्यो । एउटा अफरोड कार हुनेले मात्र दोस्रो कारका रुपमा इटुओ किन्ने गर्थे । तर, इन्धन अभाले गर्दा इटुओलाई पहिलो कारकै रुपमा किन्न खोज्नेहरु बढी रहेको रिन श्रेष्ठले बताइन ।

महिन्द्राको इटुओ कार डिजेल र पेट्रोलबाट चल्ने अन्य कारभन्दा निकै स्मार्ट छ । यसमा अत्याधुनिक सुविधा उपलब्ध छन् र अन्य कारभन्दा सुरक्षित पनि छ ।

महिन्द्रा इटुओको इन्जिनमा १० वटा कम्प्युटर बोर्ड जडित छन जसले रियलटाइम ड्राइभिङ सूचना प्रदान गरिरहेको हुन्छ । ड्यासबोर्डमा उपलब्ध टचस्क्रिनयुक्त मिडियाप्लेर छ जसले तपाईलाई गाडी कसरी चलाउने भन्ने तालिम दिनेदेखि गाडीमा कुनै खरावी आए सूचनासमेत दिन्छ ।

महिन्द्रा इटुओलाई स्मार्टफोनबाटै नियन्त्रण गर्न सकिन्छ । मोबाइल एपबाट गाडी लक वा अनलक गर्न, गाडी स्टार्ट गरेर एयर कन्डिसन अन गर्न, गाडीको चार्जको अबस्थाबारे जानकारी लिन सकिन्छ ।

Mahindra Reva E2O (3)

तेलबाट चल्ने कारजस्तै यसलाई तालिकाअनुसार सर्भिसिङ गरिरहनु पर्दैन । साथै, मोबिल पनि चेञ्ज गर्न पर्दैन । वर्षको एकपटक सर्भिस सेन्टरमा चेक गराए पुग्छ ।

महिन्द्रा इटुओको सबैभन्दा रोचक पक्ष यो गाडी हत्तपत्त बिग्रिँदैन । यदि बिग्रिहालेमा पनि चालकले थाहा पाउँदैन । गाडीमा जडित रियलटाइम इन्फरमेसन सिस्टमले गाडीको अबस्थाबारे कम्पनीको कन्ट्रोलरुमलाई जानकारी दिइरहेको हुन्छ । गाडीमा कतै खरावी देखिनासाथ कन्ट्रोलरुममा रहेका इन्जिनियरले समस्या समाधान गरिहाल्छन् ।

महिन्द्रा इटुओको अर्को राम्रो पक्ष ठोक्किँदा पनि नकुच्चिनु हो । ‘गाडी बरु च्यातिएला, कुच्चिँदैन’ अग्नीका प्रबन्धक भण्डारी भन्छन- ‘ यसमा रेसिङ कारमा प्रयोग गरिने स्टिल बडी प्रयोग गरिएको छ, जसले गर्दा सुरक्षाको चिन्ता गर्नुपर्दैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment