Comments Add Comment

धादिङमै रोकिए भरिएका ग्यासका दश हजार सिलिण्डर

२ मंसिर, काठमाडौं । भारतबाट छिरेका ग्यासका बुलेटहरु कहाँ हराए भनेर खोजी भइरहेका बेला ती बुलेटहरु धादिङका विभिन्न ग्यास उद्योगहरुमा छिरेको खुलासा भएको छ । त्यहाँ हजारौं सिलिण्डरहरु भरेर तयारी अवस्थामा राखिएको छ ।

Gas Line (2)

  • फाइल तस्वीर

तर, कालोबजारी गर्ने समूहले अवरोध गरेपछि आधा भरिएका ग्यासका हजारौं सिलिन्डरहरु काठमाडौं ल्याउन समस्या भएको रहस्य खुलेको छ । त्यहाँ भरिएका सिलिण्डरहरु काठमाडौं लैजान नदिने भन्दै केही उछृङ्खल समूहले उद्योगमै अवरोध खडा गरेको सरकारद्वारा गठित ग्यास तथा पेट्रोल कन्ट्रोल रुमले जनाएको छ ।

आधा भरिएका सबै सिलिन्डरहरु सुरक्षाकै कारण काठमाडौं ल्याउन नसकिएको कन्ट्रोल रुमका प्रमुख तथा बाणिज्य विभागका निर्देशक हरिनारायण बेल्वासेले अनलाइनखबरलाई बताए ।

‘ट्रिपरमा खाली सिलिन्डर बोकेर मान्छेहरु उद्योग परिसरमै पुगेका छन्, न त्यहाँ ग्यास वितरण गर्न सहज छ, न काठमाडौंमा ल्याएर बाँड्न सकिने अवस्था छ,’ धादिङका ग्यास उद्योगहरुको अनुगमनमा पुगेका निर्देशक बेल्वासेले भने ।

धादिङमा एचपी, एसटीसी, सिद्धार्थ, श्रीरामलगायतका ग्यास उद्योगहरुले ग्यासका सिलिण्डरहरु भर्ने काम गरे पनि काठमाडौं ल्याउन पाएका छैनन् ।

तस्करहरुले सिद्धार्थ ग्यासका सित्ता सिलिण्डर दिनोस् २ सय देखि ४ हजारसम्ममा भैरहवामा भरेर ल्याइदिन्छौं भन्दै उपभोक्तालाई ठग्न थालेका छन्

मंगलबार एचपी ग्यासले २ हजार सिलिन्डर उद्योगबाट बाहिर पठाएको छ । तर, सुरक्षाका कारण झण्डै १० हजार सिलिन्डरहरु अझै उद्योगमै थन्किएको स्रोतले बतायो छ ।

उद्योगमा घेरा हाल्न पुगेकाहरुले आफुहरुलाई बिक्री गरेपछि मात्रै काठमाडौं लैजान दिने बताएका छन् ।

प्रहरीले असहयोग गरेको गुनासो

‘सुरक्षा दिन स्थानीय प्रहरीले पनि खासै सहयोग गरेन, माथिल्लो निकायमा समन्वय गर्दा पनि सुरक्षाको प्रत्याभूति नभएपछि सबै ग्यास सिलिन्डरहरु निकाल्न सकिएन,’ बेल्वासेले भने- ‘प्रहरीले असन्तुष्टहरुलाई मनाएर लैजानुस् भनेर पन्छिएकाले भरिएका ग्यासका सिलिण्डरहरु काठमाडौं ल्याउन चुनौति खडा भएको छ ।’

बेल्बासेले सुरक्षाका कारण भिड छिचोलेर ग्यास काठमाडौं ल्याउन नसकिने बताए ।

तस्करको चलखेल

यसैवीच धादिङमा भरिएका ग्यासका सिलिण्डरहरु सहजरुपमा काठमाडौं छिर्न नदिएर तस्करहरुले राजधानीमा चलखेल गर्न थालेका छन् । तस्करहरुले सिद्धार्थ ग्यासका सित्ता सिलिण्डर दिनोस् २ सय देखि ४ हजारसम्ममा भैरहवामा भरेर ल्याइदिन्छौं भन्दै उपभोक्तालाई ठग्न थालेका छन् ।

ती तस्करहरुले भैरहवा नभई धादिङको उद्योगबाट आफूमार्फत ग्यास ल्याएर उपभोक्ता ठग्नका लागि उद्योगमा अवरोध पुर्‍याएको स्रोतको दाबी छ । स्रोतले भन्यो- ‘काठमाडौंबाट टि्रपरमा हालेर धादिङ पुर्‍याइएका ती रित्ता सिलिण्डरहरु त्यही चलखेलको प्रमाण हो ।’

नाकाबाट आएका बुलेटबाट भरिएका ग्यासका सिलिण्डरहरु नियमित प्रक्रियाबाट उपभोक्तलाई बाँड्ने हो भने सरकारले तोकेको मूल्यमा बेच्नुपर्ने हुन्छ । तर, सो ग्यास तस्करमार्फत आयो भने ४५ सयसम्म पर्न जाने भएकाले तस्करहरुले ग्यास उद्योगमा अवरोध पुर्‍याएको बताइन्छ ।

उद्योगमा भरिएका सिलिण्डरहरु सहजरुपमा राजधानी ल्याउन प्रहरीले असहयोग गर्नु थप रहस्यमय देखिएको छ । ल्हासामा सुन छ, कान मेरो बुच्चै भन्ने आहानजस्तै सरकारले सुरक्षा दिन नसक्दा धादिङमा ग्यास भए पनि राजधानीबासीले पाउन सकेका छैनन् ।

भैरहवा नाकाबाट एकैदिनमा १५ वटा बुलेट भित्रिए

Gas-Bullet-Intering-in-Nepa

यसैवीच रुपन्देहीको भैरहवा (बेलहिया) नाकाबाट मंगलबार मात्रै १५ वटा ग्यासका बुलेट भित्रिएका छन् । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नाकामा अवरोध नगरेपछि केही दिनयता भैरहवा नाकाबाट मालवाहक सवारीका साथै इन्धन भित्रिने क्रम बढेको छ ।

मंगलबार भैरहवा नाकाबाट साँझ ६ बजेसम्म १५ वटा ग्यास बुलेटका साथै १ सय ५३ वटा मालवाहक सवारीसाधन भित्रिएको इलाका प्रहरी कार्यालय बेलहियाका इन्चार्ज एवं प्रहरी निरीक्षक अभयविक्रम शाहले अनलाइनखबरलाई बताए ।

यस्तै सोमबार पनि ३५ वटा डिजेलका ट्यांकर १८ वटा ग्यासका बुलेट भैरहवा नाकाबाट भित्रिएका थिए । भैरहवा नाकाबाट दिनहुँजसो इन्धन भित्रिने गरे पनि भैरहवालगायत मुलुकको अन्य स्थानमा इन्धनको कृत्रिम अभाव कायमै छ ।

त्यसैगरी बिराटनगरको जोगवनी नाकाबाट पनि ग्यासका बुलेट र इन्धनका ट्यांकरहरु विगतको भन्दा केही सहजरुपमा भित्रिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment