Comments Add Comment

साहित्य : स्मृतिमा अमेरिकाको देउसी भैलो !

dEUSI-AT-aMERICA

-केतुस खतिवडा, अमेरिका

दिनभरिको कामले थकित भएर कोठामा आइपुग्दा बेलुकीको आठ बजिसकेको थियो । चार महिना पनि भएको छैन, डीभी परेर बिबी र लालाबालासहित बसाइँ सरेर अमेरिकामा आएको ।

काम गर्ने म एक्लो, हप्तामा सातै दिन घन्टा नहाने कोठाभाडा, रासन पानी, फोन र बिजुलीको बिल भर्न पुग्दैन । नेपालबाट डलर ल्याएर खर्च गर्ने सामर्थ्य ममा छैन । उनलाई काममा पठाउँ भने नानीहरु हेर्दिने कसले ? नानी हेर्ने मान्छे राखौं भने उनले कमाएकाले नपुगेर मैले कमाएकोबाट पनि थप्नुपर्छ ।

सधैं कोठामा आउँदा तात्तातो खान पाइने, आज त चालचुल छैन । पेट र मन दुबैमा भोक लागेको छ । झट्ट मेरो आँखा पुग्यो, डाइनिङ टेबलको पल्लो छेउमा रहेको बेवारिसे चिठीको खाममा ।

चिठीको बाहिर देख्नेबित्तिकै थाहा भयो, आज यो अपार्टमेन्ट कम्प्लेक्समा यहाँको नेपाली संस्थाले आयोजना गरेको देउसी भैलो कार्यक्रम । पक्का पनि उनीहरु त्यतै गएको हुनुपर्छ । चिठी खोलेर हेरें ।

म बेसेकै सत्तरी नंम्बर बिल्डिङको चौथोतलाको चार नम्बर अपार्टमेन्टलाई यो बिल्डिङमा बस्नेहरुको मूलघर बनाइएको रहेछ । पहिलो तलामा बसेको म चौथो तलमा चढेकै छैन भन्दा पनि हुन्छ । घरमूलीको नाम रहेछ, प्रकास भट्टराई र प्रकाश शाह । अरु ११ जनाको नाममा मेरो नाम पनि यहीँ थियो । घडी हेरें, आठ बीस भएछ । त्योभन्दा अघि देउसी घर हेरें, घर नंम्बर असी, अपार्टमेन्ट नंम्बर सी सिक्स, समय आठ बजे, घर मूली गणेश गौली । हाम्रै अगाडिको बिल्डिङ, म त्यतैतिर लागें, लुगा पनि नफेरी ।

आइपुगेको हप्तैबाट काम सुरु भइहाल्यो । आठ/दस जनाबाहेक कसैलाई चिनेकै छैन । मेरी उनी भने निकैलाई चिन्छिन् । यो अपार्टमेन्ट कम्प्लेक्सभित्रका १० वटा बिल्डिङका चार सय अपार्टमेन्टमा सय परिवार जति त नेपाली नै छन् भन्ने सुनेको । बढाइ-चढाइ गर्दा सय भएको भए पनि त्यसमा तीस घटाउँदा पनि सत्तरी परिवार त अवस्य हुनुपर्छ । एकै ठाउँमा सत्तरी परिबार भनेको पनि कम होइन ।

ketush-khatiwada
केतुस खतिवडा

कस्तो देउसी खेल्लान् र यो बिदेशमा, कति मजस्तै भर्खर कामबाट आए होलान्, कति अझै काममै होलान् । कति परिबारसँग घरमै बस्लान् । आठ/दसजना आउलान्, एकछिन देउसिरे गाउलान् अनि दान दक्षिणा पोको पारेर हिँड्लान् । नेपालमा त अहिले युवाहरु बिदेसिएकाले देउसीको रौनक हराउन थालिसक्यो । मनले यस्तै यस्तै सोच्दै थियो ।

कहिल्यै पनि अपार्टमेन्टको बाहिर जुत्ता चप्पल राखेको मैले देखेको थिइँन । यहाँ त हल वेको वल्लो छेउदेखि पल्लो छेउसम्मै जुत्ता चप्पल । पशुपतिनाथको मन्दिर बाहिरजस्तै ।

परैबाट सुनियो, ठूलो आवाजमा ‘तिहारै आयो लौ झिलीमिली’ बोलको तिहारको गीत बजेको । कोठाको ढोकैसम्म मानिस उभिएका । म ठाउँ बनाउँदै अलिकति भित्र पसें । म सुरुमा आउँदा फुटबल ग्राउन्डजस्तो लाग्ने यी अपार्टमेन्टहरुको लिभिङ रुमको वल्लो छेउदेखि पल्लोछेउसम्म अटाई नअटाई मानिसहरु थिए । बीचको अलिकति ठाउँमा एउटी सानी नानी बजिरेहको उही तिहारको गीतमा बेजोडले नाचिरहेकी थिइन् । सबका आँखा उनको नाचमै टाँसिएका थिए । हातले परर ताली पिटिरहेका ।

गीत सकिन लागेको रहेछ, आवाज कम हुँदै गयो । ती नानीले दुई हात जोडेर निहुरेर नमस्कार गर्दै नाच सकिएको जानकारी दिइन् । तालीको गड्गडाहट आयो । ती नानी नजिकै हरियो सारी लगाएकी अग्ली र गोरी बैनीको अँगालोमा बाँधिइन् । सँगै उभिएकी अर्की कुर्ता सुरुवाल लगाएकी बैनीले हातमा बोकेको बोतलले पानी खुवाइन् ।

दौरासुरुवाल, कोट र ढाकाको टोपीमा सजिएका अग्ला भाइ उद्घोषक हुनुहुँदोरहेछ । उहाँलाई मैले धेरैपटक देखेको थिएँ, बोलचाल भने भएको थिएन । उहाँको एक हातमा माइक थियो भने अर्को हातमा केही कागजपत्र । भाइको हातमा अब वरिपरिकाहरुले पैसा पनि दिन थालेका थिए । भाइले ‘प्यारी बहिनी बिनक्षा घर्तिमगरको नृत्यलाई मन पराएर दक्षिणा दिनेहरुलाई अगाडि आउनुहुन अनुरोध गर्दछु’ भन्नुभयो ।

आफ्नै हातले बैनीलाई दक्षिणा दिन उद्घोषकले बोलाउनुभएको रहेछ । दंग पर्दै बिनक्षा छेउमा उभिएकी थिइन् । पैसा दिएपछि उनी निहुरिएर नमस्कार गर्न भुल्दैनथिइन् । दिनेहरु पनि उनीसँग फोटो खिच्न भुल्दैनथे ।

एक छिन त बिनक्षालाई दक्षिणा दिनेको लाइन नै लाग्यो । उद्घोषक भाइसँगै उभिने अली होचा भाइले भट्याउन सुरु गरेपछि बिनक्षामा केन्द्रित मानिसहरु चल्मलाए । कोही ढोकै छेउको पल्लो कुनामा राखेको पेय पदार्थ र खानातिर लम्किए । कोही एक अर्कामा खासखस गर्न थाले । कोही फोटो खिच्न । एकजना रातो स्वेटर लगाउनुभएको दाइले मलाई नचिने पनि खाना लिन आग्रह गर्नुभयो । पछि थाहा भयो, उहाँको नाम नरबहादुर बस्नेत रहेछ, नेपालमा घर महेन्द्रनगर ।

कसैसँग आँखा जुधिहाले नमस्तेको लेनदेन भइहाल्थ्यो, नत्र ध्यान देउसीतिर । मैले लालाबाला यतै आएका छन् कि भनेर भीडमा सर्सती आँखा डुलाएँ । तर, देखिँन । बरु चिनिराखेका दुई तीनजना भाइहरु देखें ।

रातो मखमली चोलो र रातो बुट्टे फरियामा पँहेलो पटुकी बाँधेकी बिनाक्षाको गलामा सुनौलो ठूलो गहना छ । उनले रबर ब्यान्डले बाँधेको कपालमा एकथुँगा पँहेलो गुलावको फूल सिउरिएकी छिन्

मैले आजसम्म यति धेरै मानिस देउसी खेल्न एकै ठाउँमा भेला भएको देखेको रहेनछु । दौरासुरुवाल र साडी चोलो लाउने नै निकै छन् । सबका निधारमा रातो टीका, भट्याउनेको गलामा गोदावरी फूलको माला पनि छ ।

भोक लागेको थियो, खाना नलिने कुरै भएन । खाना सकेर सोचें यस्तो रमाइलो क्षणलाई मनमा मात्र राख्दा बिस्तारै चुहिएर सकिएला, क्यामेरामा कैद गरेर राख्न मात्र पनि मन लागेन । कागजमै उतारेर धेरैलाई बाँड्नु पर्ला । यहाँ त पूरा हेर्न पाइएन, बरु आफ्नै मूलघरमा अगाडि बसेर धित मरुन्जेल हेर्दै लिपिबद्ध गर्न नोट गर्नुपर्ला ।

यहाँ कसैलाई कसैको मतलव गर्ने फुर्सद नै छैन । सबका सब नाचगान र देउसी तथा खानपानमा मस्त । म जसरी ठाउँ बनाउँदै भित्र पसेको थिएँ, त्यसैगरी बाहिर निस्कें ।

ढोका बाहिर हल वेको एक साइडमा दुईजना तेह्र चौध बर्षका नानीहरु आइप्याडमा रमाइरहेका थिए । उनीहरुले मलाई पुलुक्क हेरे अनि फेरि आइप्याडमै फर्किए । यी नानीहरुलाई देउसी भैलो तथा नेपाली नाचगानमा कति पनि चाख छैन होला र त भित्रको त्यो माहौल छाडेर यिनीहरु बा हिर रमाइरहेका छन् ।

यहाँ पनि बाहिर ९/१० जोर जुत्ताचप्पल रहेछन् । मेरी उनी र लालाबाला पनि यहीं रहेछन् । उनले त्यहाँ भएकाहरुलाई मसँग परिचय गराइन् ।

यहाँ पनि खानपानको उस्तै तयारी र टेललभरि चनाको तरकारी, चिकेन फ्राइ, काँक्रो आलुको अचार, फुरनदाना, दही सलाद आदि आदि । बिकासे खोयाबिर्के पनि प्रशस्त । खोयाबिर्केकै साथी होला, एक पाकेट हल्दिराम भुजियाको ठूलो पाकेट धानको धोक्रो ठडिए जस्तै टेबलको पल्लोछेउमा ठडिइरहेको छ ।

मानिसहरु आउने क्रम सुरु भइहाल्यो । कोही खालि हात त, कोही साउन्ड सिस्टम र कोही बजाउने उपकरणका साथमा ।

लाग्थ्यो, उनी आफैं यो गारिरहेकी छैनन् कुनै अदृश्य शक्तिले उनलाई नचाइरहेको छ । उनको नाच सकियो । म स्तब्ध भएँ ।

कोठाको पल्लो छेउमा साउन्ड सिस्टम जडान भयो । गितार र किबोर्ड बजाउने पनि त्यहीँ ।

देउसी खेल्ल होइन, उभिनै पो ठाउँ नपुग्लाजस्तो भयो । बीचमा अलिकति ठाउँ खाली गराउँदा कोही भान्सातिर पुग्नु भयो भने कोही ढोका बाहिर । कुनाकानी कतै ठाउँ बाँकी रहेन ।

उद्घोषक भाइले आफ्नो परिचय दिँदै भन्नुभयोँ नमस्कार म केशब शर्मा दाहाल, हाम्रो संस्थाले आयोजना गरेको देउसी भैलो कार्यक्रमको संयोजकको नाताले यो घरलाई मूलघर बनाएर पाल्नुहुने सम्पूर्ण घरमूलीहरुको स्वागत गर्दै नाम पढ्न गइरहेको छु, उहाँहरुलाई तालीले स्वागत गरिदिनुहुन अनुरोध गर्दछु ।”

उद्घोषकको नाम बल्ल थाहा भयो । उहाँ पनि यही बिल्डिङमा बस्नुहँदो रहेछ । मूलघरवालाको नाम थाहा छँदै थियो, अरुको याद भएन ।

यहाँ भने मैले बुद्धि पुर्‍याएर एकजना दाइलाई हात लिएको छु । उहाँलाई देउसी भैलोमा महत्वपूर्णभूमिका खेल्ने व्यक्तिदेखि लिएर संस्था र संस्थाका पदाधिकारीको बारेमा जान्न पनि मलाई सजिलो भएको भएको छ । बिनक्षा पनि आइन् धेरैका आँखा उनीतिर सोझिए ।

एकछिन भट्याएपछि गीत गाउन सुरु भयो । ‘सारी चोलोमा सजिएर गीत गाउने बैनीको नाम केहो ?’ मैले दाइको कान छेउमै मुख लगेर खुसुक्क सोधें । ‘दायाँकी सुनिता पाण्डे र बायाँकी सजना पन्थी ।’ उहाँको मन गीतमा टाँसिएकाले त्यहाँभन्दा बढी जानकारी उहाँबाट आउने सम्भावना देखिएन । ‘नीलो साडी लाउने ती अग्ली बहिनी बिनक्षाकी आमा हो ?’ मैले फेरि उहाँलाई बाधा पुर्‍याएँ । ‘काँ हुनु नि उनी त हिराकी श्रीमती हुन्, शैलु मल्ल हो, उनको नाम । ‘अनि हिरा चाहिंँ को नि ?’ मैले प्रश्नको अर्को झटारो हानिहालें ।

डाइमन्ड, उ त्यो नीलो सर्ट लगाएर नाच्ने मोटे भाइ’ दाइले भन्न भयो । हिरा र डाइमन्ड म एकछिन अलमलिए जस्तो भएँ । कुरो बुझेपछि दाइलाई भने ‘हिरा भाइ एकदम रमाइलो हुनुहुँदो रहेछ, राम्रोसँग नाचिरहनुभएको छ ।’

उद्घोषकले बिनक्षाको नाच आउन लागेको जानकारी दिनुभयो । बीचको खाली ठाउँ अलि ठूलो पारियो । अगाडि उभिनेहरु बस्नुभयो, जसले गर्दा पछाडि उभिनेहरुले पनि बिनक्षाको नाच राम्ररी देख्नुहुने भयो ।

रातो मखमली चोलो र रातो बुट्टे फरियामा पँहेलो पटुकी बाँधेकी बिनाक्षाको गलामा सुनौलो ठूलो गहना छ । उनले रबर ब्यान्डले बाँधेको कपालमा एकथुँगा पँहेलो गुलावको फूल सिउरिएकी छिन् । हँसिलो उनको अनुहार पूणिर्माको जूनजस्तै देखिएको छ । मलाई जूनजस्ती यस्ती छोरीका भाग्यमानी बाबुआमालाई चिन्ने मन भयो । मैले फेरि दाइको कान फुकेंँबिनक्षाका बाबुआमा मलाई चिनाइदिनुस् न ।’ ‘शैलुसँगै नीलो कुर्तासुरुवाल लगाउने बैनी र उनको देब्रेतिर उभिने कोठे सर्ट लगाएका भाइ बिनक्षाका बाबुआमा हुन् ।’ दाइले मलाई हेर्दै भन्नभयो ।

मैले दुबैलाई एकछिन हेरें अनि बिनक्षालाई । दाइले झर्को नमानी मेरा हरेक प्रश्नको उत्तर दिइरहनुभएको छ ।

गीतका हरेक शब्द शब्दको अभिनय उनले कुशलतापूर्वक गरिरहेकी छिन् । संगीतको हरेक ताल समाइरहेकी छिन्, कुनै स्टेप पनि दायाँ बायाँ भएको छैन । गीतमा आएका निराशाजनक शब्दमा उनको चेहराको रंग उडेर फुङ्ग हुन्थ्यो, निधार चाउरिएको स्पस्ट देखिन्थ्यो भने तत्काल बदलिएको गीतको रमाइलो भावसँगै उनको अनुहार धपक्क बल्थ्यो र नाचले चरम खुसीको भाव झल्काउँथ्यो ।

लाग्थ्यो, उनी आफैं यो गारिरहेकी छैनन् कुनै अदृश्य शक्तिले उनलाई नचाइरहेको छ । उनको नाच सकियो । म स्तब्ध भएँ । उनको नाच हेर्न मैले सास पनि रोकेको रहेंछु, लामो सास फेरें । वरिपरि हेरें, सबैको हालत उही थियो । बिनक्षाकीे आमाका ममतामयी आँखा खुसीका आँसुले भरिएका देखिए पनि छचल्किएर पोखिएनन् । फेरि उनलाई दक्षिणा दिनेको लाइन लागिहाल्यो ।
यहींको परिवेशका शब्दहरु राखेर बनाइएको देउडा गीत ‘राइझुमा’ गाउन सुरु भयो । अलि फुर्तिले अगाडि गएर नाच्न सुरु गरे, अरुले उभिएर कम्मर मर्काउँदै थपडी बजाउन । सबैले नाच्न त ठाउँ पनि थिएन । को पूर्वको, को पश्चिमको, को उत्तरको, को दक्षिणाको सब एकले अर्काको हात समाउँदै गोलो घेरा बनाएर राई झुमामा झुमेको देख्दा म जिल खाएँ ।

भट्याउनेले सिधा ल्याउने संकेत गर्दै भट्याएपछि यस घरका घरमूली बैनीहरुले नाङ्लोमा सिदा निकालेर देउसेको बीचमा राख्नुभयो । नाङ्लाको बीचमा काँचको थालमा चामलमाथि दियोमा बत्ती बालिएको थियो । वरिपरि फलफूल, सेलरोटी र दक्षिणाका खामहरु । एउटा सानो थालीमा अक्षता र फूल ।

एकजना बैनीले घुमी घुमी सबैलाई टीका लगाइदिनुभयो । मैले उहाँ चाहिं को हो भनेर सोधी हालें ‘माया लामा, उनको श्रीमान् मनि योन्जनलाई पनि यहीं देखेको थिएँ ।’ दाइले भन्नुभयो । नेपाली पोशाक लगाएका दुईजना खातामा दक्षिणा दिनेको नाम र रकम लेख्न व्यस्त हुनुभयो । मैले दाइलाई सोधिहालें ‘उहाँहरु नि ?’ भाइ तिलक मल्ल र बहिनी प्रमिला मल्लिक । तिलक भाइ संस्थाको पूर्व उपाध्यक्ष हो र प्रमिला बैनी अहिलेको कार्य समितिको सदस्य ।’ उत्तर आइहाल्यो ।

एकजना दाइ ढोकाको छेउतिर हातमा पानीका बोत्तल बोकेर बाँडिरहेको देखेको थिएँ, अहिले उहाँ सोडाका क्यान बाँडिरहनुभएको छ । झर्को मान्नुहुने हो कि भन्दै डराउँदै दाइलाई सोधें, उहाँले भन्नुभयो ‘अर्जुन देवकोटा, उहाँ छ, सात बर्षदेखि रेस्टुरेन्ट व्यवसायमा संलग्न हुनुहुन्छ ।’ उहाँले बाँड्दै गरेको एक क्यान सोडा मैले पनि लिन भ्याएँ ।

उदघोषकले यो घरमा उठेको जम्मा रकम पढेर सुनाउँदै सबैलाई धन्यवाद दिनुभयो । संस्थाका सचिव नारायण पौडेलले आफ्नो परिचय दिँदै दक्षिणा दिनेहरुलाई कनेक्टिकट नेपाली समाजका अध्यक्ष शंकर ढकालका हातबाट धन्यवाद पत्र ग्रहण गर्न नाम बोलाउन थाल्नुभयो । मैले पनि मेरो नाम आएपछि धन्यवाद पत्र लिएँ ।

यसै बीचमा ‘आँधी खोला उर्लेर आयो’ भन्ने गीत बजेको मात्र के थियो, सबजना दिल खोलेर नाच्न थाल्नुभयो । काठको घर न हो, भुइँ त लचक-लचक गर्न थाल्यो, डर पनि लाग्यो, कतै गर्‍यामगुरुम जाने त हैन भनेर ।

रातको १० बजिसकेको थियो, त्यसै पनि वल्लोपल्लो अपार्टमेन्टमा बस्नेलाई डिस्टर्व हुने गरी हल्लाखल्ला गर्नु शोभनीय होइन । मैले दाइलाई यसो साइडमा तानेर भनें ‘यहाँ आँधी खोला उर्लेर आएको बेला, छिमेकीहरु कुर्लेर आए भने के गर्ने ?’

दाइ आफैं कम्मर मर्काई मर्काई थपडी बजाइरहनु भएको थियो के भन्नुहुन्थ्यो र । फिस्स हाँसेर टारिदिनुभयो ।

कम्मरमा मादल भिरेर बजाउँदै जतिबेला पनि नाचिरहने सेतै कपाल फुलेका बालाई मैले अर्को घरदेखि नै ध्यान दिइरहकोे थिएँ । उहाँसँग भने परिचय गर्न मन लागिरहेको थियो । मौका मिलाएर हात बढाइहालें । उहाँको नाम उदय अर्याल रहेछ । चारआना मानाको घीउ खाएकातगडा बूढा जतिबेला पनि नाचिरहने, मलाई मन पर्‍यो ।

लौ यो भाषणले कहीं पनि नछाड्ने भो, यहाँ पनि सुरु भइ हाल्यो । भाषण सुरु भएपछि कोठा पनि खाली हुन थाल्यो । हतार हुने घर जान थाल्नुभयो, भोक लाग्ने खान र तिर्खा लाग्ने पिउन । खाना सकिएछ क्यारे, भान्सामा पाँचजना बहिनीहरु खाना बनाउन व्यस्त देखिनुभयो ।

भट्याउने घरबेटी भाइ ड्याङकी ड्याङ चिकेन काट्दै हुनुहुन्छ । ग्रुपग्रुप भएर गफमा रमाइरहेका हामी २०/ २५ जना बाँकी छौं । मेरी उनी पनि आफ्नो समूहमा गफिंदै छिन् । यहाँ हुनेलाई तातो भात खुवाएर पठाउने बिचार आएछ घरबेटीको । राम्रै लाग्यो । पुरानो भए पनि नयाँ भएर यो वर्षको अन्तिम घरको देउसी हेरिरहेको यो पंक्तिकार पनि भोकाएको थियो ।

तातो खाना खाएर भोलि बिहान काममा जानु छ भन्दै यो पंक्तिकारले लालाबालासहित सबैसँग बिदाबारी हुनै लाग्ला उसलाई मदत गर्ने दाइ जयदेव मण्डललाई धन्यवाद दिँदै गला मिलाउन बिर्सेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment