Comments Add Comment

दोबाटोमा आइपुगेको नेपाली क्रिकेट

४ मंसिर, काठमाडौं । पछिल्ला केही वर्षहरुमा पाएको सफलताका प्रमुख एक सारथीको साथ गुमाउँदै गर्दा नेपाली क्रिकेट नयाँ मोडमा आइपुगेको छ । नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुर्‍याउन मुख्य भूमिका निभाएका प्रशिक्षक पुबुदु दासानायकको विदाई सन्तोषजनक हुन सकेन ।

पुबुदुको प्रशिक्षणमा नेपालले खेलेको अन्तिम खेल विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पपुवा न्यूगिनीसँग थियो । दुबै खेलमा हार व्यहोरेको छ र चार खेलबाट अंकविहीन बनेर तालिकाको पुछारमा छ ।

सन् २०१८ मा वंगलादेशमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउने हो भने अब बाँकी १० मध्ये कम्तिमा सात खेल नेपालले जित्नुपर्छ, जुन कठिन चुनौति हो ।

नेपाल क्रिकेट संघ क्यान आन्तरिक समस्यामै रुमल्लिएको छ । क्यानभित्रको विवादको असर मैदानमा समेत देखिन थालेको छ । प्रशिक्षक पुबुदुले नेपाल छाड्नुको एउटा कारण क्यानभित्रको समस्या पनि हो । पुुबुदु तिनै सफल प्रशिक्षक हुन्, जसले नेपाललाई छोटो समयमा डिभिजन ४ बाट डिभिजन १ मा मात्र पुर्‍याएनन्, उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक टी-२० विश्वकप खेल्यो । यद्यपि उनको प्रशिक्षणकाल प्रसन्नतामा टुंगिन सकेन ।

पुबुदु भन्छन्ः यहि शैलीले हुँदैन

अहिले नेपालले जित्न बिर्सिएको जस्तो भएको छ । जितको मुखमै आएका खेलहरु समेत गुमाउन थालेको छ । पुबुदुको प्रशिक्षणमा नेपालले बनाएको लडाकु छवी पपुवा न्यूगिनीसित देखाउन सकेन ।

Pubudu-Dasanayake

सम्भवतः नेपाली क्रिकेटको पछिल्लो मनोदशालाई बुझेरै पुबुदुले यूएईबाट फर्किने क्रममा विमानस्थलमा भने, ‘अहिले नेपालको क्रिकेट क्रस रोडमा छ ।’

डिभिजन वानमा अहिलेकै शैलीबाट अघि बढ्न नसक्ने चेतावनी पनि उनले दिए । ‘टीमलाई घरेलु क्रिकेट, ट्रेनिङसहितका सहयोग चाहिएको छ । उनीहरुलाई अघि जान सिस्टमको चाहिन्छ,’ उनले घुमाउरो रुपमा क्यानप्रति असन्तुष्टी पोखे ।

पुबुदुले आशाको किरण पनि देखाउन खोजे । ‘१० वर्षमा पूर्ण सदस्य राष्ट्र बन्ने क्षमता नेपाली टीममा छ,’ उनी भन्छन्, यसका लागि आजैबाट योजना बनाउनुपर्छ, भोलि भनेर हुँदैन ।’

विश्व क्रिकेट लिग च्याम्विपयनसिपमा नेपालीको सम्भावना कायमै रहेको पुबुदुको भनाई छ । उनले भने, ‘नेपालको खेलमा सुधार भएको छ । हामी सही बाटोमा छौं, तर, खेलाडीलाई पछाडिबाट सहयोग चाहिएको छ ।’

हारका वावजुद प्रशिक्षक पुबुदुले नेपाली टीमका सदस्यहरुले गरेको प्रदर्शनप्रति आफू सन्तुष्ट रहेको बताए । तर, नेपालले भन्दा पीएनजीले राम्रो खेलेको उनको भनाई छ ।

भाग्यले पनि साथ दिएनः कप्तान

कप्तान पारस खड्काले नेपाली क्रिकेटलाई अगाडि लैजाने अझै सम्भावना बाँकी रहेको बताए । नेपाल च्याम्पियनसिपबाट बाहिरिनसकेको भन्दै उनले भने, ‘कडा मेहनत गर्नुपर्छ र राम्रो योजना बनाउनुपर्छ ।’

वर्षको एउटा घरेलु प्रतियोगिता वा सुपर लिग खेलेको भरमा भने नेपाल अघि जान नसक्ने उनको ठहर छ । यूएईबाट फर्किएपछि हारको समिक्षा गर्दै कप्तान पारसले भने, ‘दुबै खेलमा हामी विइनिङ पोजिसनमा थियौं तर, हामीले कन्ट्रोल गुमायौं । पहिला पहिला लकले पनि फेबर गथ्र्यो । अहिले गरेन ।’

कप्तान पारसले प्रशिक्षकको राजीनामा, कप्तान छनोट लगायतका विषयले पनि असर गरेको स्वीकार गरे । पपुवा न्यूगिनीसँगको खेलको तयारी गर्दै गर्दा कप्तानमाथि कारवाहीको विवाद आयो भने प्रशिक्षकले पनि राजीनामा दिएका थिए ।

क्यानको आन्तरिक विवादकै कारण अवुधाबीमा जाने अघिल्लो दिन मात्र क्यानले नेपाली टोलीको घोषणा गरेको थियो । ‘एक वर्ष अघिदेखि नै प्रशिक्षक राख्ने नराख्ने विवाद भयो । यसले अवश्य टीममा असर गर्छ’ पारसले भने, ‘कोच, क्याप्टेनसिपको कुरालाई चाहिने भन्दा बढी बाहिर ल्याइएको छ । तर, हाम्रो टीमको एकता र स्पिटमा कुनै कमी आएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment