Comments Add Comment

विद्यालयलार्इ इन्टरनेट, उच्च शिक्षालार्इ शैक्षिक ऋण

गिरिराजमणि पोखरेल, शिक्षा मन्त्री

नयाँ सम्बिधान घोषणा भएपछिको पहिलो शिक्षामन्त्रीका हैसियतले न्यायपूर्ण, समानता तथा समतामूलक शिक्षा प्रणालीको स्थापना गरी गुणस्तरीय, प्रतिस्पर्धात्मक , जनमूखि, रोजगारमूलक बहुप्राविधिक, ब्यबसायिक शिक्षालाई लागु गर्ने ध्येय उदेश्यका साथ कार्यक्रमहरु तर्जुमा गरी त्यसलाई कार्यान्वयन गर्न आवश्यक भएकाले यो प्रतिबद्धतापत्र जारी गरिएको छ ।

Giriraj-Mani-Pokhrealनेपाल एकबहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक तथा भौगोलिक बिबिधतायुक्त मुलुक भएकाले समानता, समता तथा सबैको आत्मसम्मान हुने गरी सामाजिक न्याय ‍प्रदान गर्ने शिक्षा नीति तयार गर्न  उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन हुने र त्यस मार्फत बृहत बहश, अन्तरकृया, छलफल तथा अध्ययन अनुसन्धान गरी तयार भएको सिफारिसका आधारमा अन्तिम नीति बनाई यसको कार्यान्वयनकालागि शिक्षा मन्त्रालय लागि पर्ने सैद्धान्तिक प्रतिवद्धता ब्यक्त गर्न चाहन्छु ।

नेपालको सम्बिधानले नेपाललाई समाजबादोन्मुख, लोककल्याणकारी, अग्रगामि, समान तथा समतामूलक , धर्म निरपेक्ष गणतन्त्र नेपालको घोषणा गरिसकेकाले नेपालको शिक्षा नीतिलाई यही आधारभूत मान्यतालाई स्थापित गर्ने तथा त्यसलाई सँस्थागत गर्ने कार्ययोजना सहितको संस्थागत स्वरुप प्रदान गर्न सक्षम संयन्त्रको स्थापना गरिने दिशामा केन्द्रित हुनेछ । यस अबस्थामा सम्बिधानले प्रत्याभूत गरेको राज्य पुनर्संरचनासंग मेल खाने शिक्षाको संघीय संरचना स्थापना गरी सम्बिधान प्रदत्त मौलिक अधिकार प्राप्तिको अनुभूति प्रदान गर्न नीतिगत ब्यबस्था गरिनेछन् ।

हालसम्मको शिक्षा हुनेखानेका लागि मात्र हुने अवस्थालाई चिर्दै शिक्षामा पहुँच शिक्षा नीतिको आधारभूत मान्यता हुनेछ । यस क्रममा माध्यमिक शिक्षालाई अनिवार्य, निशुल्क तथा समान बनाउँदै उमेर समूहका सतप्रतिशत बालबालिकालाई विद्यालय प्रवेश गराउँने जिम्मा राज्यले लिने ब्यबस्था गर्दै उच्च शिक्षामा आर्थिक बिपन्नताको नै कारणले पहुँच नहुने अबस्थाको अन्त्यका लागि अनुदान, ऋण, छात्रबृत्ति तथा बिशेष कार्यक्रम तयार गरिनेछ ।

 बर्तमान शिक्षा गुणस्तरको कसीबाट बिबादित रहँदै आएको छ । यस सन्दर्भमा शिक्षण सिकाईलाई स्थापित मापदण्डसंग दाँजेर उपलब्धिको मूल्याङ्कन गर्ने परिपाटीको विकास गरी यसकालागि आवश्यक, भौतिक, मानवीय तथा नीतिगत साधन उपलब्ध गराउँदै कठोरतापूर्वक निरिक्षण, अनुगमन, नियमन तथा नियन्त्रण गरी गुणस्तर कायम गरिनेछ ।

बर्तमान युग एकल विश्व ग्रामको अवधारणाअन्तरगत चल्न सुरु गरेको परिप्रेक्ष्यमा नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय मापदण्डको स्तरमा बिकासित तुल्याई अन्तर्राष्ट्रिय शिक्षा प्रणालीसंग समकक्षता कायम गराउँने दिशामा पहल गरिनेछ ।

मुलुकको विकासका लागि परम्परागत ज्ञान, सिप तथा सम्पदाको आधुनिक परिवेशमा ‌अत्यधिक सदुपयोग गर्न र नयाँ भन्दा नयाँ ज्ञान, सीप तथा सोँचको विकास गर्न अध्ययन अनुसन्धानको महत्वलाई प्राथमिकता दिई, शिक्षाको तल्लो स्तरदेखिनै अनुसन्धान संस्कृतिको स्थापना तथा विकास गरिनेछ ।

सारमा भन्नु पर्दा, नेपालको आर्थिक, सामाजिक, साँस्कृतिक एवम् भौगोलिक विविधतायुक्त विशेषता र उक्त विविधताकाबीच आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै समानुपातिक, समावेशी र समतामुलक समाज निर्माण गर्न नेपालको संविधानले शिक्षालाई अधिकारमा आधारित दृष्टिकोणबाट ग्रहण गरेको अवस्थामा शिक्षामा सबैको पहुँच सुनिश्चत गर्न, गुणस्तरीय शिक्षाको विकास गर्न, राष्ट्रिय तथा अन्तरराष्ट्रिय समकक्षी हुने शिक्षा प्रदान गर्न तथा उच्च शिक्षालाई अनुसन्धानमुलक बनाई दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकतालाई दृष्टिगत गर्दै समग्र शिक्षाको पुनर्संरचना गर्न यो प्रतिवद्धता सार्वजनिक गर्दछु ।

१. नेपालको संविधानमा उल्लेखित शिक्षा सम्बन्धि संवैधानिक व्यवस्थाहरूलाई आवश्यक कानुनी प्रबन्ध गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइने छ । आधारभूत शिक्षा नि:शुल्क र अनिवार्य तथा माध्यमिक शिक्षा नि:शुल्क गरिने छ । महिला, दलित, अल्पसंख्यक, गरिव तथा अपाङ्गहरुका शिक्षाको लागि विशेष व्यवस्था गरिने छ ।

२. संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अनुरूप नयाँ शिक्षा नीति निर्माण गर्न, शिक्षाको पुनर्संरचना गर्न, शैक्षिक व्यवस्थापन तथा गुणस्तरीयता अभिवृद्धि गर्न र शिक्षा मन्त्रालय एवम् मातहतका निकायको प्रशासनिक पुनर्संरचना गर्न आवश्यक सुझाव दिन उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरिने छ ।

३. प्राकृतिक प्रकोपका कारण क्षति पुगेका विद्यालय भवनहरूको आवश्यकता अनुसार निर्माण, पुन:निर्माण र रेट्रोफिटिङ र नक्साङ्कनको आधारमा स्थानान्तरण गर्ने कार्य बढिमा ३ वर्षभित्र सम्पन्न गरिने छ । त्यस्ता संरचनाहरू प्राकृतिक प्रकोप व्यवस्थापन मैत्री एवम् विद्यार्थी मैत्री हुनेछन् ।

४. तराई मधेश लगायत मानव विकास सूचकांक तथा शैक्षिक सूचकांकमा पछाडि परेका देशका विभिन्न भागको शिक्षाको विकासको लागि विशेष शैक्षिक अभियान सञ्चालन गरिनेछ ।

५. बिद्यालयको तहगत अवस्था, भौगोलिक अवस्थिति र बिद्यार्थी शिक्षक अनुपात संख्या समेतका आधारमा शिक्षक दरबन्दी मिलान गरिने छ । तहगतरूपमा बढी हुने दरबन्दीलाई आवश्यक पर्ने तहमा समायोजन गरी अनुमति लिएर सञ्चालित सबै सामुदायिक विद्यालयलाई औचित्यका आधारमा स्वीकृति प्रदान गरिनेछ ।

६. राष्ट्रिय स्वयंसेवक सेवा, साक्षरता दुत (literacy ambassador) जस्ता कार्यक्रम सञ्चालन गरी साक्षरता कार्यक्रमलाई बनाउने अगाडि बढाइने छ । साक्षर भइसकेकाहरूको लागि निरन्तर सिकाइको वातावरण विकास गरिनेछ ।

७. औपचारिक, अनौपचारिक एवम् प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमका विभिन्न तहमा हासिल गरेका योग्यताहरूको तहगत समकक्षता निर्धारण गर्न निश्चित मापदण्ड सहित राष्ट्रिय योग्यता प्रारूप (National Qualification Framework) तर्जुमा गरी कार्यान्वयनमा ल्याइने छ ।

८. शिक्षक, कर्मचारी एवम् विद्यार्थीहरूसँग विभिन्न समयमा गरिएका सम्झौताहरूको पुनरावलोकन गरी कार्यान्वयन गर्न बाँकी रहेका विषयहरूका बारेमा अध्ययन विश्लेषण गरी कार्यान्वयनको लागि ठोस पहल गरिनेछ ।

९. नेपाल सरकारको अनुमति नलिई सञ्चालनमा रहेका विद्यालय एवम् विदेशी बोर्डका शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेका शिक्षण संस्थाहरूलाई नीतिगत एवं कानुनको दायरा भित्र ल्याईनेछ । कानुनको दायरा भित्र नआउने शैक्षिक संस्थाहरूलाई आवश्यक कार्वाहीको प्रक्रिया अगाडि बढाईने छ ।

१०. निजि क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाहरूको सञ्चालन र नियमनका लागि शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, शुल्क, शिक्षकहरूको योग्यता, सेवा सर्त जस्ता विषयहरूलाई समेत समेटी संस्थागत विद्यालय सञ्चालन तथा व्यवस्थापन  निर्देशिका परिमार्जन गरी कार्यान्वयनमा ल्याई सामाजिक उत्तरदायित्व बहनका लागि प्रोत्साहित गरिनेछ ।

११. शिक्षालाई अन्तरराष्ट्रिय मापदण्डको समकक्षी बनाउन विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिमार्जन प्रक्रियाको थालनी गरिने छ ।

१२. शिक्षामा सूचना तथा सञ्चार प्रविधीको पहुँच अभिवृद्धि गर्न डिजिटल सिकाइ सामग्री विकास तथा इ-पुस्तकालयको व्यवस्थापन गरिनेछ । साथै इन्टरनेट जडान भएका र हुने विद्यालयलाई इन्टरनेट सेवा शुल्क अनुदान उपलब्ध गराईने छ ।

१३. विद्यालय शिक्षाको क्षेत्रमा,

  • सामुदायिक विद्यालयको वातावरणलाई वालमैत्री बनाउने, शिक्षक कर्मचारी लगायत सम्बन्धित सबै पक्षमा अपनत्वको भावना जागृत गराउने र आफ्नो पेशा र कामको नतिजाप्रति प्रतिवद्ध बनाइ गुणस्तर सुधारको निम्ति उत्प्रेरित गरिने छ ।
  • पूर्व प्राथमिक तहलाई विद्यालय शिक्षाको संरचना अन्तर्गत राख्ने प्रक्रिया अगाडि बढाइने छ ।
  • विद्यालय सञ्चालन तथा व्यवस्थापनमा स्थानीय निकायको भूमिका बढाउन प्रोत्साहित गरिनेछ । सामुदायिक शिक्षण संस्थाको निरिक्षण, अनुगमन, नियमन, तथा व्यवस्थापन गर्न स्थानीय समुदायलाई सक्षम बनाइने छ ।
  • शैक्षिक सत्र शुरू हुनु पूर्व प्रत्येक जिल्लामा आवश्यक संख्यामा पाठ्यपुस्तक पुरयाइने छ । शैक्षिक वर्ष २०७४ बाट बालबालिकाको मानोविज्ञान अनुकूल हुनेगरी क्रमश: १-५ को पाठ्यपुस्तक रङ्गीनमा छपाई गरी वितरण गरिने छ ।
  • बिद्ममान अस्थायी शिक्षकको समस्या समाधान गरि शिक्षक स्थायी पदपुर्ति प्रक्रियालाई निरन्तरता दिईने छ । यसका लागि संसदमा विचाराधिन शिक्षा ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७२ लाई पारित गर्न पहल गरिने छ ।
  • शैक्षिक व्यवस्थापन सूचना प्रणालीलाई भरपर्दो र व्यवस्थित बनाई शिक्षक तलवभत्ता मासिक रूपमा वैङ्क मार्फत निकासा गर्ने परिपाटी कार्यान्वयनमा ल्याईने छ ।
  • विद्यालयमा प्रवाहित गरिने विभिन्न प्रकारका अनुदान वितरण प्रक्रियालाई व्यवस्थित बनाउन बिद्यालय शिक्षा अनुदान नीति तयार गरी कार्यान्वयनमा ल्याईने छ । त्यसैगरी विद्यालयमा वितरण गरिने विभिन्न प्रकारका छात्रवृत्तिलाई एकीकृत कार्यविधि बनाई पारदर्शी एवम् व्यवस्थित बनाईने छ ।
  • एसएलसी परीक्षा मूल्याङ्कनमा यसै शैक्षिक सत्रबाट लेटर ग्रेडिङ्ग प्रणालीकार्यान्वयनमा ल्याईने छ ।

१४. उच्च शिक्षाको क्षेत्रमा,

  • अलग अलग ऐनद्धारा सञ्चालित विश्वविद्यालयहरू बिचमा समन्वय गरी उच्चशिक्षालाई प्रभावकारी बनाउन छाता ऐनको रूपमा एकीकृत उच्चशिक्षा विधेयक व्यवस्थापिका संसदबाट पारित गराउनआवश्यक पहल गरिने छ ।
  • उच्च शिक्षा सञ्चालनका लागि विभिन्न निकायहरूबाट सम्बन्धन प्रदान गरिने वर्तमान व्यवस्थामा एक रूपता ल्याउन शैक्षिक तथा प्राज्ञिक निरीक्षण र नियमन गर्ने जिम्बेवारीलाई मन्त्रालयको कार्यक्षेत्र भित्र ल्याई सम्बन्धन प्रदान तथा अनुगमन गर्ने कार्यलाई ब्यवस्थित गरिने छ ।
  • उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीको लागि निश्चित मापदण्ड बनाई शैक्षिक अनुदान तथा शैक्षिक ऋण उपलब्ध गराउने व्यवस्था मिलाईने छ ।
  • व्यवस्थापिका संसदमा विचाराधिन रहेको खुल्ला विश्वविश्वविद्यालय ऐन पारित गराई खुल्ला विश्वविश्वविद्यालय स्थापना र सञ्चालन गरिने छ ।
  • उच्चशिक्षाका सवै विधामा विश्वविद्यालय एवम् शैक्षिक संस्थाबाट प्रदान गरिने छात्रवृतिलाई थप व्यवस्थित गर्न एकीकृत नियमावलीमा आवश्यक संसोधन गरिने छ ।

१५. प्राविधिक एवम् व्यवसायिक शिक्षा र तालिम कार्यक्रमलाई विस्तार गर्न कार्ययोजना बनाई कार्यान्वयन गरिने छ । यसमा क्षेत्रगत सन्तुलन, पूर्वाधार विकास, गुणस्तर, सुनिश्चितता समेतमा जोड दिइने छ । आवश्यक भौतिक पूर्वाधार तथा मानवीय संशाधन विकास गरी प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमलाई थप उत्पादनमुखि बनाइनेछ ।

१६. बिद्यार्थीलाई गुणस्तरिय स्वास्थ्य शिक्षा र नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितताको लागि अधिकार] सम्पन्न Health professional Education commission गठन गरिने छ ।

१७. शैक्षिक परामर्सदाताहरूको नियमन व्यवस्था प्रभावकारी बनाउन निर्देशिकामा आवश्यक संसोधन गरी त्यसलाई कडाईका साथ कार्यान्वयनमा ल्याईने छ ।

१८. शैक्षिक विकासको निम्ति प्राप्त वैदेशिक लगानीलाई देशको प्राथमिकताको क्षेत्रमा खर्च गर्ने नीति अबलम्वन गरिने छ । यसका लागि नीतिगत रूपमै मुलत: एकद्धार प्रणाली अपनाईने छ ।

उल्लेखित प्रतिवद्धता लागु गर्न राष्ट्रिय रुपमा नै ब्यापक छलफल गरी राष्ट्रिय सहमति कायम गर्न आवश्यक भएकाले नेपालका राजनैतिक दलहरु, सांसदहरु तथा सरोकारवालाहरुसंग बृहत छलफल गरी ठोस दृष्टिकोण तय गरिनेछ । यस सन्दर्भमा थप (क) सार्वजनिक, सामुदायिक शिक्षण सँस्थामा काम गर्ने शिक्षक, कर्मचारी तथा नीति निर्माणगर्ने पदाधिकारीहरु लगायतका प्रत्यक्ष संलग्न सरोकारवालाहरुका बालबालिकालाई यिनै शिक्षणसंस्थामा अध्यापन गराउँनु पर्ने कुरा (ख) संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख शिक्षा नीति  र (ग) आम रुपमा आर्थिक बिपन्नताले गाँजेको मुलुकमा सबै क्षेत्रबाट आरक्षणको माग हुने अबस्थामा शिक्षामा राज्यको कुल लगानि कति हुने भन्ने बिषयलाई बहसको बिषय बनाईनेछ ।

उल्लेखित प्रतिवद्धता शिक्षा मन्त्रालयका लागि शिक्षा सम्वन्धि नीति तर्जुमा, योजना निर्माण तथा कार्यक्रम कार्यान्वयनको लागि मार्गचित्र हुनेछ ।

(मन्त्री पोखरेलले शुक्रबार सार्वजनिक गरेको प्रतिवद्धताको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment