Comments Add Comment

अझै चलाउँदैछन् १० हजारले ‘डायल अप’ इन्टरनेट

Dail-up-Internet

नविन अर्याल

७ मंसिर, काठमाडौं । यदि तपाई ब्रोडब्यान्ड प्रविधि आउनुभन्दा अगाडि इन्टरनेट चलाउनुहुन्थ्यो भने तपाइलाई याद हुनुपर्छ, मोडेमबाट किरर-किरर आवाज निकाल्दै मुस्किलले इन्टरनेट कनेक्सन भएको ।

सुन्दा आश्चर्य लाग्न सक्छ, उच्च गतिमा इन्टरनेट चलाउन मिल्ने ब्रोडब्यान्ड प्रविधि सर्वसुलभ भइसक्दा पनि १० हजार बढीले अझै डायल अप इन्टरनेट चलाउँछन् ।

सबैभन्दा पुरानो इन्टरनेट प्रविधि डायल अप सेवा लिनेहरु वर्षेनी घटेको देखिए पनि प्रयोकर्ताको संख्या अझै कम भएको छैन । नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार साउन महिनासम्म १० हजार ३ जनाले डायल अप इन्टरनेट चलाइरहेका छन् ।

अघिल्लो वर्षको साउन महिनामा डायल अप इन्टरनेट प्रयोकर्ताको संख्या १४ हजार ८ सय २१ रहेको थियो । नेपाल टेलिकम र अन्य इन्टरनेट सेवा प्रदायकहरुले डायल अप इन्टरनेट सेवा प्रदान गर्दै आएका छन् ।

इन्टरनेट सेवा प्रदायक वल्र्ड लिंकले करिव ४/५ महिना अगाडि डायल अप सेवा बन्द गरिसकेको छ । टेलिकम अझै पनि डायल अप सेवालाई निरन्तरता दिएको छ । साउन महिनासम्म डायल अप सेवाका ग्राहकहरु नेपाल टेलिकमका ४ हजार ३ सय ९४ जना र अन्य सेवा प्रदायकका ५ हजार ७ सय ९ जना रहेका छन् ।

नेपाल टेलिकमले डायल अप इन्टरनेट सेवा करिव ५०/५२ सालतिरबाट सुरु गरेको हो । ९.६ केवीपीएस गतिमा चल्ने डायल अप सेवा काठमाडौंका केही ग्राहकहरुले चलाइरहेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले  बताइन ।

डायल अप सेवा अनलिमिटेड नाइट सफिर्ङको कर बाहेक सय रुपैयाँ र चौबिसै घण्टा अनलिमिटेडको करबाहेक २ सय रुपैयाँ बुझाउनुपर्छ । ल्यान्डलाइन टेलिफोन मार्फत नम्बर डायल गरेर इन्टरनेट कनेक्सन गरी चलाइने डायल अप सेवा उच्च गतिको ब्रोडब्यान्ड प्रविधिको जमनामा निकै झन्झटिलो र सुस्त छ ।

डायल अप इन्टरनेट सेवा लिएको बेलामा फोन प्रयोग गर्न मिल्दैन । डायल अपबाट गुगल, युट्युब लगायतका गह्रौं साइटहरु चलाउन समस्या हुन्छ । भिडियो डाउलोड गर्ने कुरा त परै जाओस् । तर, पनि डायल अप सेवा लिएका पुराना ग्राहकहरुले अझै निरन्तरता दिइरहेको प्रवक्ता बैद्यको भनाई छ ।

कुनै जमानामा निकै लोकप्रिय रहेको डायल अप सेवा एडीएसएलको सुरुवातसँगै घट्दै गइरहेका हुन् । डायल अप सेवाका ग्राहकहरु धमाधम एडीएसएल सेवातिर सिफ्ट भइरहेको टेलिकम प्रवक्ता वैद्यले बताइन् ।

साउनसम्म नेपालमा एक करोड १६ लाख ८७ हजार ८ स १९ जनाको पहुँचमा इन्टरनेट सेवा पुगिसकेको छ । जसमध्ये अधिकांश ग्राहक अर्थात ९६ प्रतिशतले मोबाइलबाट इन्टरनेट चलाउने रहेका छन् ।

मोबाइलबाट इन्टरनेट चलाउनेको संख्या एक करोड ११ लाख ९० हजार ७ सय ६५ जना रहेको छ । त्यस्तै, सीडीएमए तथा इभिडियोका १ लाख ९८ हजार ६ सय ४६ जना ग्राहक रहेका छन् । एडीएसएलका १ लाख ५० हजार २ सय ३७, वाइम्याक्सका १३ हजार ५ सय ३५, केबल मोडेमका ६७ हजार २ सय ५१, वायरलेस मोडेम अप्टिकल फाइबर इथरनेटका ५३ हजार ५० जना रहेका छन् ।

नेपालमा नेपाल टेलिकम, युटिएल, एनसेल, एसटीएम टेलिकम सञ्चार, नेपाल स्याटेलाइट टेलिकम, स्मार्ट टेलिकम र अन्य सेवा प्रदायक (आइपीएस)ले इन्टरनेट सेवा उपलब्ध गराइरहेका छन् ।

इन्टरनेट चलाउने सबैभन्दा बढी ग्राहक नेपाल टेलिकमका रहेका छन् । साउनसम्म टेलिकममा इन्टरनेट चलाउने ग्राहक ६६ लाख १६ हजार ३ सय ३२ जना पुगेका छन् । टेलिकमले डायल अप, एडीएसएल, जिपिआरएस, थ्रीजी, सिडिएमए, इभिडियो र वाइम्याक्स इन्टरनेट सेवा प्रदान गरिरहेको छ ।

दोस्रो नम्बरमा रहेको छ एनसेल । मोबाइलमा इन्टरनेट मात्र उपलब्ध गराउँदै आएको एनसेलका साउनसम्म ४७ लाख ८६ हजार ४ सय ७ जना ग्राहक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment