Comments Add Comment

साफ च्याम्पियनसिप : नेपाली टोली भारत पठाउने कि नपठाउने ?

SAFF Championship 2015

७ मंसिर, काठमाडौं । भारतमा आगामी महिना हुन लागेको साफ च्याम्पयनसीपमा नेपालको सहभागितामाथि प्रश्न उठेको छ । भारतले अघोषित नाकाबन्दी लगाएर नेपाललाई दुख दिइरहेका अवस्थामा टोली पठाउनेबारे पुनर्विचार गरिने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

परिषदका सदस्यसचिव केशवराज विष्टले अनलाइनखबरसित यस विषयमा आफुले सरकारसित छलफल गर्ने बताए । उनले भने, ‘टोली नपठाएर सांकेतिक रुपमा भारतीय नाकाबन्दीको विरोध जनाउनुपर्छ भन्ने आवाज मैले पनि सुनिरहेको छु । अर्कोतर्फ खेलकुदका माध्यमबाट सम्बन्ध सुधार्न सकिन्छ कि भन्ने पनि छ, यस विषयमा सरकारबाटै निर्णय हुनुपर्छ, म आवश्यक छलफल गर्नेछु ।’

नेपाल फुटबल संघ भने अहिलेसम्म टोली पठाउने तयारीमै जुटिरहेको छ । एन्फाका कार्यकारी प्रमुख इन्द्रमान तुलाधरले आफूहरु सरकारले दिने निर्देशनको प्रतिक्षामा रहेको बताए ।

‘हामी अहिलेसम्म टोली पठाउने तयारीमा नै छौं,’ उनले भने, ‘सरकाबाट अर्को किसिमको निर्देशन आयो भने त्यसलाई स्वीकार्नेछौं ।’

नपठाउँदा के हुन्छ ?

आगामी २३ डिसेम्बरदेखि सुरु हुने साफ च्याम्पियनसीपमा नेपालले फुटबल टिम नपठाएको खण्डमा प्रतियोगीता रोकिँदैन, तर प्रतियोगीताको साख घट्ने छ । पाकिस्तानले यसअघि नै भारतमा आफ्नो टोली नपठाउने जनाइसकेको अवस्थामा प्रतियोगीतामा ६ वटा टोली बाँकी रहनेछन् ।

प्रतियोगिताको समुह ए मा नेपाल, भारत, श्रीलंका छन् भने समुह बी मा अफगानिस्तान, माल्दिभ्स, बंगलादेश र भुटान छन् । नेपालले हात झिक्यो भने फेरि नयाँ समुह विभाजन गर्नुपर्ने हुन्छ ।

Keshab-bista-final
केशवराज विष्ट

तर, नेपालका लागि महत्वपूर्ण कुरा भनेको नाकाबन्दीको सांकेतिक विरोध हो । भारतले नेपालमाथि गरिरहेको अत्याचारपूर्ण व्यवहारलाई अन्तर्राष्ट्रिय समुदायमा उजागर गर्नका लागि पनि यो एउटा अवसरका रुपमा रहेको सदस्यसचिव विष्ट बताउँछन् ।

‘सम्बन्ध बिग्रेका बेलामा एक-अर्को देशमा हुने प्रतियोगिता बहिष्कार गर्ने अन्तराष्ट्रिय अभ्यास नै हो,’ एक वरिष्ठ खेल विश्लेषक भन्छन्, ‘यतिबेला भारतमा आफ्नो टोली पठाउनु नेपालको लाचारी सावित हुनेछ ।’

ट्वीटरमा बहस

सामाजिक सञ्जाल ट्वीटरका प्रयोगकर्ताहरुले नेपालको टिम भारत नपठाउन दबावमूलक अभियान  सुरु गरेका छन् । उनीहरुले भारतीय नाकावन्दीको विरोध गर्नका लागि पनि नेपालले प्रतियोगिता बहिष्कार गर्नुपर्ने भन्दै ट्वीटरमा #NoSAFFthistime ह्यासट्याग सुरू गरेका छन् ।

‘भारतको नाकाबन्दीका कारण पेटभरि खानसमेत नपाएका खेलाडीलाई किन त्यही देशमा खेल्न पठाउने ?’ ट्वीटरमा जंगे लेख्छन् । यसैगरी शिखर घिमिरे लेख्छन्, ‘भारतीय हस्तक्षेपविरुद्ध हरेक क्षेत्रबाट प्रतिकार गर्नुपर्छ । साफ नखेल्नु पनि विरोधको रुप हो । साफ बहिष्कार गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment