Comments Add Comment

पिसाब फेर्ने ठाउँ नपाएर आपत भयो, कतार मन पर्दैनः धिरज राई

dhiraj-rai
विश्वका तीन दर्जन बढी मुलुक घुमिसकेका छन् गायक धिरज राईले । साङ्गीतिक कार्यक्रमको सिलसिलामा विभिन्न मुलुकमा पुगेका धिरजले कन्सर्टसँगै घुमफिरको रमाईलो समेत गर्ने गरेका छन् । स्वदेशमा राराताल जान बाँकी रहेको बताउने धिरजले नेपालका धेरैजसो ठाउँ घुमिसकेका छन् । उनै गायकसँग अनलाइनखबरको ‘सेलिब्रेटी र घुमफिर’ अन्तर्गत गरिएको कुराकानी:

घरवाट विदा भएर पहिलो पटक घुम्न कहिले जानु भयो ?
एसएलसी दिएपछि हामी चार जना साथी मिलेर एक हप्ताको लागि जिरी घुम्न गएका थियौं । ममीले राम्रो पढिस् भने जाँच सकिएपछि घुम्न पठाउछु भन्नु भएको थियो । जाँच सकिए लगत्तै ममीसँग पैसा मागेर साथीहरुसँग घुम्न गएको थिएँ ।

जिरी नै जानुको कारण ?
ककनी, नगरकोट, मनकामना त हामी गईसकेका थियौं । तर, जिरीको वारेमा थाह थिएन । जिरीलाई नेपालको स्विजरल्याण्ड भनेर भनिन्थ्यो । त्यसकारण पनि हामी जिरी गयौं ।

अहिलेसम्म घुमेको मध्ये सबै भन्दा मन परेको ठाउँ ?
नेपालको प्राय सबै ठाउँ राम्रो छ । विदेशको कुरा गर्दा मलाई क्यानडा निकै मन पर्छ । क्यानडाले प्रकृतिलाई निकै सम्मान गरेको छ । प्रकृतिले दिएका कुराहरु मात्रै हैन आफ्नो मौलिकतालाई पनि जोगाएका छन्, उनीहरुले । युरोपियन मुलुक पनि त्यत्तिकै राम्रो छ । युरोपमा भएका कला हेर्दा मन त्यसै आनन्दित भएर आउँछ ।

घुम्ने क्रममा दिक्क लागेको ठाउँ ?
मलाई कतार त्यती धेरै मन पर्दैन । जतातजै सुख्खा बालुवा मात्रै छ । कार्यक्रमका लागि धेरै पटक गएको छु । भर्खर भर्खर कताकती हरियो हुन थालेको छ । तर, त्यो हरियाली बनाउने काम हाम्रै नेपाली दाजुभाइहरुले गर्नु भएको छ । ठाउँ रुखो भए पनि त्यहाँ हुने दाजुभाई मायालु हुनुहुन्छ ।

सबै भन्दा धेरै खर्च ?
मेरो घुमाई प्राय कन्सर्टसँगै हुने भएकाले त्यति धेरै खर्च हुँदैन । दुई वर्ष अगाडि जापानवाट आउँदा घरको लागि केही इलेक्ट्रोनिक सामान लिएर आउँदा नेपाली ७ लाख खर्च भएको थियो ।

सबै भन्दा कम खर्च ?
हङकङमा हुने कार्यक्रममा जाँदा एक रुपैयाँ पनि खर्च हुँदैन । साथी भाई र आफन्त असाध्यै धेरै छन् । चिया खाएको पैसा पनि तिर्न पाईदैन ।

नेपालमा जानै पर्ने त्यस्तो कुनै ठाउँ देख्नु भएको छ ?
मेरो बुझाईमा सोलु, जिरी र जोमसोङ जानै पर्छ । अरु पनि त्यस्ता धेरै ठाउँ छन् । आफ्नो इच्छा अनुसार जान सकिन्छ ।

सामान्य त वर्षमा कति दिन घुम्दा राम्रो होला ?
चार महिनामा एक पटक घुम्नु शारिरिक मानसिक दुबै हिसाबले राम्रो मानिन्छ । अझ आफू जाने ठाउँको वारेमा थोरै जानकारी राखियो र स्थानिय रहन सहनमा भिज्यो भने सस्तो पनि पर्छ ।

कहिल्यै नबिर्सने घटना ?
अमेरिकाको कोलोराडोमा कार्यक्रमका लागि जाँदै थियौ । बाटैमा हिंउ पर्‍यो । २४ घण्टा हामी वाटैमा अड्कियौ । हिँउ धेरै भएपछि सबै गाडी बाटैमा रोकियो । त्यो वेलामा ट्वाइलेट जान नपाएर सार्‍है गार्‍हो भयो । किनकी त्यहाँ जहाँ पायो त्यही दिसा पिसाब गर्न नपाईने रहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment