Comments Add Comment

आन्तरिक उडान ४० प्रतिशत कटौती

TIA Domestic Airlines
८ मंसिर, काठमाडौं । नेपाल आयल निगमले प्रयाप्त इन्धन नदिँदा ४० प्रतिशत उडान कटौती गर्नुपरेको निजी वायुसेवा सञ्चालकहरुले बताएका छन् । एक हप्तादेखि ६० प्रतिशतमात्र उडान भइरहेको उनीहरुको दाबी छ ।

‘इन्धनको अभावले अहिले ६० प्रतिशतमात्र उडान भइरेको छ’ यति एयरलाइन्सका बजार प्रबन्धक भीमराज राईले भने- ‘मुख्य गन्तव्यका अतिआवश्यक उडानसमेत कटौती गरिरहनु परेको छ ।’

अहिले नेपाल वायुसेवा निगम (नेवानि)ले दैनिक दुई उडान गरेर ४४ हजार लिटर हवाई इन्धन बोक्दै आएको छ । तर, आन्तरिक उडान पूर्ण रुपमा सञ्चालन गर्न ५५ देखि ६० हजार लिटर इन्धन आवश्यकता पर्छ ।

सिमि्रक एयरलाइन्सका बजार प्रबन्धक प्रज्वल थापाले पनि ६० प्रतिशतको हाराहारीमा मात्र उडान भइरहेको जानकारी दिए । निगमले काठमाडौंमात्र नभएर भैरहवा तथा पोखराबाट समेत हवाई इन्धन उपलब्ध गराउन छाडेको उनको भनाई छ ।

‘भैरहवामा हवाई इन्धन उपलब्ध गराउन छाडेको हप्ता दिन भइसकेको छ’ थापाले भने- ‘पोखरामा पनि आजदेखि इन्धन उपलब्ध गराउन छाडेको छ ।’ काठमाडौंबाट इन्धन भरेर उडान गर्नुपर्दा करिव ४० प्रतिशत यात्रु घटाउनु परेको उनले बताए ।

निगमका हवाई इन्धन डिपो प्रमुख प्रदीप यादव भने वायुसेवा सञ्चालकको भनाई मान्न तयार छैनन । ‘हामीले सामान्य अवस्थामा उपलब्ध गराउने जति इन्धन अहिले पनि उपलब्ध गराइरहेका छौं’ उनले भने- ‘आन्तरिक उडानका लागि दैनिक ५० देखि ५५ हजार लिटर इन्धन चाहिन्छ, हामीले सोही परिमाणमा इन्धन दिइरहेका छौं ।’

बुद्ध एयरका रुपेश जोशीले अहिले ८० प्रतिशतको हाराहारीमा उडान भइरहेको जानकारी दिए । सामान्य अवस्थाको तुलनामा केही उडान घटेको बताउँदै उनले पछिल्ला दिनमा धेरै उडान कटौती गर्नु नपरेको स्पष्ट पारे ।

बन्दको बेलामा हवाई यात्रु बढेका हुँदा विमान कम्पनीले उडान थप्न खोजेपछि इन्धन प्रयाप्त हुन नसकेको निगमका यादवको भनाई छ । ‘विमान कम्पनीले उडान बढाउन खोजिरहेका छन्, हामीसँग अतिरिक्त उडान गर्नका लागि दिने इन्धन छैन’ उनले भने- ‘यही कारण विमान कम्पनीले ६० प्रतिशतमात्र उडान भइरहेको बताएका होलान ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment