Comments Add Comment

पेट्रोल पम्पमा रिमोट जोड्न भारतीय मिस्त्रीको प्रयोग गरिएकाे खुलासा

Petrol-Pump
  • पक्राउ परेका भारतीय मिस्त्रीहरुबाट बरामद सामाग्री सार्बजनिक गर्दै प्रहरी
८ मंसिर, काठमाडौं  । काठमाडाैं उपत्यकाका पेट्रोल पम्पमा रिमोटले चल्ने यन्त्र जडान गरेर उपभोक्ता ठगी गर्ने कार्यमा भारतीयहरूको संलग्नता रहेको नेपाल प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ  ।
पेट्रोल पम्पहरूमा ठगी बढेपछि प्रहरीले पक्राउ गरेका विभिन्न व्यक्तिहरूमाथि अनुसन्धान गर्दा अधिंकास यस्तो मेशिन जडान गर्ने अधिकांस भारतीय नागरिक भएको तथ्य फेला पारेको हो ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेका ५ जना मिस्त्रीमध्ये ४ जना भारतीय नागरिक छन् । प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी उनीहरूलार्इ सार्वजानिक गरेको छ । जडित यन्त्रले १०० लिटरमा २ देखि ४ लिटर कम तेल झार्ने काम गर्छ ।
Petrol-Pump-bata-baramd
पक्राउ परेका भारतीय मिस्त्रीहरुबाट बरामद रिमोट कन्ट्रोल लगायतका सामाग्रीहरु
देशका विभिन्न स्थानमा विगत २५ वर्ष देखि अवैध तवरले पेट्रोल पम्पहरुमा तेलको मात्रा/नाप कम गर्ने उपकरणहरु (रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन) जडान गर्ने भारतीय गिरोहलार्इ केही दिन अघि प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ पर्ने भारतीयमा बिहार मोतीहारीका ४४ वर्षीय नसिम सिद्दिकी  छन् । त्यसैगरी, गोरखपुरका अयोब अालम र मोतीहारीकै मिन्टू भन्ने हमिद हुसेनसमेत पक्राउ परेका छन् । त्यस्तै, बिहार मोतीहारीकै मोहम्मद अबरार पनि पक्राउ परेका छन् । भारतीयहरूको टोलीसँगै राैतहट कनकपुरका नेपाली नागरिक सेख इम्तिहाजलार्इ पनि प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूको सूचनाकै अाधारमा प्रहरीले यस्तो यन्त्र जोडेर उपभोक्ता ठग्ने १९ वटा पेट्रोलपम्पमा छापा मारेर ७ जना सञ्चालकसहित विभन्न उपकरण नियन्त्रणमा लिएको छ ।
Maha-Laxmi-Petrol-Pump
भारतबाट आएर २५ वर्ष पेट्रोल पम्पमा
तेल चोरी काण्डमा मुछिएका मीस्त्रीमध्ये केही व्यक्ति १५ वर्षदेखि काठमाडौंमा बसोबास गरेको पाइएको छ । पक्राउ परेकामध्ये मोतीहारीका ४४ वर्षीय सिद्दिकी २५ वर्षदेखि मेनुयल पम्पहरुमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।
उनी काठमाडौंको कोटेश्वर ३५ मा बसोबास गर्दै आएका थिए । प्रहरीले सिद्दिकीका साथबाट १ थान रिमोट रिसिभर, १ थान पल्सर एसेम्ली र रिमोट, १ थान पल्सर कार्ड र रिमोट रिसिभर बरामद गरेको छ ।त्यसैगरी, गोरखपुरका ३५ वर्षीय आयुव आलम १० वर्षदेखि डिजिटल पेट्रोल पम्पहरुमा काम गर्दै आएका थिए । हाल उनी बालकुमारी बस्दै आएको प्रहरीले जनाएको छ । आलमका साथबाट प्रहरीले २६ थान रिमोट रिसिभर, १७ थान सेन्सर बक्स, ७ थान सेन्सर बक्स, ४ थान डिभाइस, २ थान रिसिभर जोडिएका डिभाइस, १ थान डिस होल्डर पम्प बरामद गरेको छ ।
Petrol-Pump-bata-baramdत्यसैगरी, सोल्डिङ आइरन, २ थान बुस गियर, २ थान बुस गियर सेतो प्लास्टिकको, २ थान पल्सर कार्ड, २ थान फलामको गियर, २ थान प्लास्टिकको बबिल र १३ थान प्लास्टिकको बबिल बरामद पनि बरामद गरेको छ ।
त्यस्तै,  मोतीहारीकै २५ वषर्ीय मिन्टु भनिने हमिद हुसेन ५ वर्षदेखि मेनुअल पम्पहरुमा मिस्त्रीकोरुपमा काम गर्दै आएका थिए । बालकुमारी बस्ने हुसेनबाट प्रहरीले ४ थान फलामको बुस गियर, सेतो प्लास्टिकको बुस गियर १३ थान, फलामको बबिल गियर १९ थान, प्लास्टिकको बबिल गियर ५ थान, धातुको बबिल गियर १ थान बरामद गरेको छ । त्यसैगरी, भातुको मिडिल गियर १ थान, चिम्टी ३ थान, नकाटिएको सेतो सेतो प्लास्टिकको बुस गियर ४ थान, नकाटिएको प्लास्टिकको बलिबल ४ थान बरामद गरेको छ ।
हाल काठमाडौंको बालकुमारी बस्दै आएका मोतीहारीकै मोहम्बद अबरार २ वर्षदेखि मेनुअल पम्पहरुमा काम गर्दै आएका थिए ।
भारतीय गिरोहसँगै तेल ठगी गर्ने यन्त्र जोड्नेमा एक नेपाली पनि पक्राउ परेका छन् । रौतहटको कनकपुर गाविसका वडा नं. २ का शेख इम्तिहाज २ वर्षदेखि मेनुयल पम्पहरुका काम गर्दै आएको प्रहरीले जनाएको छ ।
पेट्रोल पम्पहरूको प्राविधक काममा भारतीय गिरोहको एकाधिकार रहँदै अाएको पनि फेला परेको एसएसपी सर्भेन्द्र खनालले जानकारी दिए । गिरोहकै माध्यमबाट अपराधमा संलग्न अन्य अन्य व्यक्तिहरू पनि फेला पर्ने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment