Comments Add Comment

तराईका जिल्लाहरुमा विशेष सुरक्षा योजना लागू, राजमार्ग अवरुद्ध गरे बल प्रयोग

Gaur-Tanab

  • फाइल तस्वीर

९ मंसिर, काठमाडौं । सरकारले तराई मधेसमा भइरहेको आन्दोलनलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । अब राजर्मागहरुमा कुनै अवरोध गर्न नदिइने गृह मन्त्रालयले जनाएको छ ।

राजमार्गहरु सुचारु गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न नयाँ एकीकृत सुरक्षा योजना लागू गरिएको गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले अनलाइनखबरलाई बताए । उनले भने, नेपाली सेना होइन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली खटाइनेछ ।’

केन्द्रीय सुरक्षा समितिले मंगलबारबाट लागू हुने गरी विशेष सुरक्षा योजना लागू गरेको गृह मन्त्रालयले जनाएको छ । यो योजनामा आन्दोलन चर्किएको तराई मधेसको पर्सादेखि सप्तरी तथा नवलपरासीदेखि बाँकेसम्मका जिल्लारुमा लागू हुनेछ ।

सुरक्षा संवेदनशीलताका आधारमा जिल्लाहरुलाई तीन समूहमा वर्गीकरण गरिएको छ र त्यस अनुसार नै जनशक्ति परिचालन हुनेछ ।

गृह प्रवक्ता ढकालका अनुसार विशेष सुरक्षा योजना लागू भएका जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरेर सुरक्षाकर्मी परिचनलन गर्नेछ । जसमा नेपाल प्रहरी अगाडि रहनेछ भने त्यसलाई सशस्त्र प्रहरीले सहयोग गर्नेछ ।

गृह मन्त्रालयले राजमार्गहरु कुनै हालतमा अवरुद्ध हुन नदिने बताएको छ । ‘राजमार्गहरु सुचारु गर्ने र सरकारी कार्यालयहरुको सुरक्षाका लागि यो सुरक्षा योजना लागू गरिएको हो’ प्रवक्ता ढकालले भने, अब राजमार्ग अवरुद्ध गर्न पाइँदैन । गरेमा बल प्रयोग गरेर हटाउँछौं ।’

सुरक्षा योजना लागू गर्नु अघि तीन वटै सुरक्षा निकायसँग भएको छलफलमा गृहमन्त्री शक्ति बस्नेतले राजमार्ग अवरुद्ध हुन नहुने बताएका थिए ।

तराई मधेसमा आज बुधबार १०२ औं दिन आमहड्ताल जारी छ । र, सरकारसँगको वार्तामा ठोस प्रगति नभएपछि मधेसी मोर्चाले छठपछि बन्द कडा बनाएको छ । उसले सीमा नाकामा धर्ना जारी राख्दै राजमार्ग केन्द्रीत आन्दोलन चर्काएको छ ।

थारुहट थारुवान संयुक्त संघर्ष समितिले पनि राजमार्ग केन्द्रीत आन्दोलन सुरु गरेको छ । र, पछिल्लो पटक सप्तरीमा भएको झडपमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएपछि सरकारी कार्यालयहरुमा आगजनी समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment