Comments Add Comment

यसरी हुन्छ यात्रुबाहक बसमा तेल तस्करीको धन्दा !

९ मंसिर, काठमाडौं । बसको छतभरि हरियो रंगका ड्रमहरु लडाएर राखिएका छन् । बसभित्र पनि दुईतर्फका सीटका बीचमा ग्यालिन तथा ड्रमहरु छन् । यतिसम्म कि मानिस बस्ने केही सिटमा समेत ड्रम नै ड्रम राखिएका छन् ।

Petrol-Taskari

यो काँकडभिट्टा-काठमाडौं चल्ने मुनाल यातायातको ना ३ ख ३४८१ नम्बरको बसको दृश्य हो । र, भारतले अघोषित नाकाबन्दी गरेपछि मौलाएको तेलको कालोबजारीको एउटा उत्कृष्ट नमूना पनि हो यो ।

महानगरीय प्रहरी परिसर काडमाडौंले बुधबार तीनकुनेमा तेल विक्रीवितरण गरिएको अवस्थामा बससहित तीनजनालाई पक्राउ गरेको छ ।
प्रहरीले मुनाल बसबाट २१९० लिटर पेट्रोल, १४६० लिटर डिजेल र ८५५ लिटर मट्टीतेल बरामद गरेको छ ।

बसबाट तेलका साथै धनुषाका ३३ वर्षका विजय यादव, झापा काँकडभिट्टाका सवनम आचार्य र सरु तिमिल्सिनालाई पक्राउ गरेको छ । उनीहरुले काँकडभिट्टाबाट बसमा राखेर ड्रम र ग्यालिनमा इन्धन ल्याउने र पेट्रोल प्रतिलिटर ५०० र डिजेल ४०० रुपैयाँमा बेच्ने गरेको प्रहरीको भनाइ छ ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक विश्वराज पोखरेलले अनलाइनखबरसँग भने- ‘अहिले काठमाडौंमा जाम नै हुने गरी गाडी गुड्न थालेका छन् । ती गाडीहरु कसरी गुडेका रहेछन् भन्ने यसले देखाउँछ ।’ उनका अनुसार अहिले कालोबजारी गर्ने उद्देश्यले बसहरुमा इन्धन ल्याउन रोक लगाइएको छ ।

तेल ल्याउन पाइने, बेच्न नपाइने

प्रहरीले बुधबार नै तेल र ग्यासको कालोबजारीमा संलग्न १० जनालाई पक्राउ गरेको छ ।

राजधानीमा तेलको अभाव टार्न बाहिरी जिल्लाबाट घरायसी प्रयोजनका लागि भने पूर्वअनुमति लिएर प्रहरीले तेल ल्याउन दिने गरेको छ ।
तर, त्यसरी ल्याइएको तेल बिक्री गर्न नपाइने र आफैंले मात्र प्रयोग गर्नुपर्ने प्रहरीको शर्त छ ।

कालोबजारीमा संलग्न १० जना पक्राउ 

काठमाडौंका विभिन्न ठाउँबाट उनीहरुलाई कालोबजारी गरिरहेकै अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।प्रहरीले सीनामंगलबाट १ सय ३५ लिटर पेट्रोलसहित सुनसरी घर भई सिनामंगल बस्ने मुलिन मियाँ, इरसाद अन्सारी, अहमद अन्सारी र नसद अन्सारीलाई पक्राउ गरेको छ ।

त्यसैगरी धादिङबाट ३० वटा सिलिन्डर ल्याएर बिक्री गरिसकेको अवस्थामा गोरखा घर भई सीतापाइला बस्ने देवक पौडेल पनि पक्राउ परेका छन् । यस्तै महादेवस्थानबाट १ सय ५० लिटर पेट्रोलसहित प्रहरीले मोरङको पाथरी घर भएका सुमन बिकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी शंखमूलबाट प्रहरीले ८० लिटर पेट्रोलसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप राकाधुमका लोकबहादुर श्रेष्ठ, प्रेमबहादुर श्रेष्ठ, धादिङका मानवीर चौधरी र सिन्धुपाल्चोकका दीपक मगर छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment